हिमाल, हिमश्रृङ्खला, नदी, खोला र तालतलैया, झरना, मनोरम हरियाली भनेपछि कस्को मन नलोभिएला ? मनाङ यस्तै प्राकृतिक विविधताले भरिपूर्ण छ। प्रकृतिले भरिपूर्ण मनाङको सदरमुकाम चामे खोला र नदीको सङ्गममा र पहाडको चेपमा छ। सदरमुकाम भएर पनि चामेलाई खासै मनाङ भनिदैन। चामे पुगेपछि बल्ल मनाङ जाने भनिन्छ।
लमजुङको सरदरमुकाम बेशिसहरबाट ५६ किलोमिटर दूरीमा रहेको चामे सदरमुकाम भएको हुनाले प्रशासनिक गतिविधि हुन्छ भने चामे गाउँपालिका पनि यही रहेको छ। चामेबजारको बिचभागमा दक्षिणतर्फबाट बगेका दुईओटा घट्टेखोला मस्याङ्दी नदीमा मिसिन्छन्। घट्टेखोला र नयाँबजार घट्टेखोलामा वि.सं २०७८ साल असारमा गएको बाढीले मर्स्याङ्दी नदीले भन्दा बढी क्षति पुर्याएको थियो। बाढी दिउँसो गएको हुनाले मानवीय क्षति भएन। ती दुईओटा ठाडो खोलामा बाढीपहिरो गएको थियो। जसले जमिन र घर, कार्यालय लगायतका भौतिक संरचनामा क्षति पुर्याएको थियो। पहिरोले व्यक्तिका घर, पुल, विद्यालय र जमिनमा क्षति गरेको थियो। यसैगरी चामे लघुजलविद्युत गृहमा पानी लैजाने पाइपमा समेत क्षति पुगेको थियो। चामेबजार र वडा नम्बर ५ जोड्ने मर्स्याङ्दी नदीको पुलमा काठ अड्किदा पानीले वारीपारीको भौतिक संरचना र जमिनमा क्षति पुगेको थियो। चामे गाउँपालिकाका ९ घरमा पूर्ण क्षति र ७ घरमा आंशिकमा क्षति पुगेको थियो भने अध्यक्ष लोकन्द्र बहादुर घलेको घर समेत पूर्ण क्षति भएको थियो। यसैगरी उहाँको नासों गाउँपालिका कोत्रोस्थित ट्राउट माछाफर्म पूर्ण क्षति पुगेको थियो।
स्थानीयहरूले करिब २ हप्तासम्म दुख पाए। बाढीपहिरो आउने त्रासले स्थानीयहरू जोगिएर बसेका थिए। खानेपानीमा क्षति पुगेकाले दुषित पानी पिउनाले स्थानीयमा झाडापखाला पनि लागेको थियो। एकीकृत भएर बस्दा पिउने पानीको पनि समस्या भएको थियो। तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री बाढी प्रभावित क्षेत्रमा अनुगमनमा आउँदा ल्याएको राहतको आलोचना नै भएको थियो।
पूर्वाधार विकास कार्यालय चामेका इन्जिनियर प्रमोद लौगी चामे विपद् संकटासन्न रहेको बताउनु हुन्छ। “चामेको प्राकृतिक स्वरूप र माटोको अवस्था कमजोर किसिमको छ,” लौगी भन्नुहुन्छ, “पानी आउने बित्तिकै एकै पटक धेरै सर्रर बग्ने (मास मुभमेन्ट) खाल माटो रहेको छ। एक ठाउँमा खन्दा सर्रर माटो आउँछ।”
यस्तै चामे वरपर मर्स्याङ्दी नदीको फैलावट कम रहेको कार्यालयका अर्का इन्जिनियर सन्देश त्रिपाठी बताउनुहुन्छ। त्रिपाठीका अनुसार बाढी आउँदा नदीको आफ्नो फैलावट नै पुग्दैन जसको कारणले दाँयाबाँया भित्तामा हान्छ र बस्तीलाई मुनी तान्छ।
चामेमा सडकलगायतका पूर्वाधारका विकास काम हुन थालेको पनि धेरै भएको छैन। सडकको ट्रयाक खोल्दा माटोमा क्षति पुगेको छ जसको कारणले पनि पहिरो गएको छ। तर सडक नै नखनिएको, मेसिन नै प्रयोग नभएको स्थानमा पनि नदी तथा खोला किनारमा पहिरो गएको पाइन्छ। दुई वर्ष अघि (०७८ सालमा) ५/७ दिन निरन्तर वर्षा हुँदा बजार बिच भागबाट बग्ने दुवै खोलामा अचानक बाढी आउँदा चामेमा क्षति पुगेको थियो। यसैगरी मर्स्याङ्दी नदीमा लगातारको वर्षा हुँदा बाढी आएको थियो, बाढीसँगै लेदो बगेर आएको र ठाउँठाउँमा रूखहरू समेत बगेर आएकोले खोच भागमा पानी थुनिने र ह्वात्त खोलिदा त्यसभाग भन्दा मुनि झनै लेदो, ढुङ्गा र रूखसहित बाढी गएको थियो।
चामेमा सडकलगायतका पूर्वाधारका विकास काम हुन थालेको पनि धेरै भएको छैन। सडकको ट्रयाक खोल्दा माटोमा क्षति पुगेको छ जसको कारणले पनि पहिरो गएको छ। तर सडक नै नखनिएको, मेसिन नै प्रयोग नभएको स्थानमा पनि नदी तथा खोला किनारमा पहिरो गएको पाइन्छ। दुई वर्ष अघि (०७८ सालमा) ५/७ दिन निरन्तर वर्षा हुँदा बजार बिच भागबाट बग्ने दुवै खोलामा अचानक बाढी आउँदा चामेमा क्षति पुगेको थियो। यसैगरी मर्स्याङ्दी नदीमा लगातारको वर्षा हुँदा बाढी आएको थियो, बाढीसँगै लेदो बगेर आएको र ठाउँठाउँमा रूखहरू समेत बगेर आएकोले खोच भागमा पानी थुनिने र ह्वात्त खोलिदा त्यसभाग भन्दा मुनि झनै लेदो, ढुङ्गा र रूखसहित बाढी गएको थियो।
चामे बजार भन्दा माथि काजिनसारा ताल लगायत अन्य सानातिना ३/४ वटा ताल देख्न सकिन्छ। चामे लगायत मनाङमा विपद् तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतना तथा तालिमको पनि अभाव छ। आपतविपद्मा कसरी जोगिने, के गर्ने भन्नेमा जनचेतना रहेको देखिन्न। दुई वर्ष अघिको बाढीले क्षति पुर्याएपनि नासोँ गाउँपालिकाको तालका स्थानीयले वस्ती स्थानान्तरण गर्ने तीनै तहको सरकारको प्रयासलाई सार्थक बनाउन मद्दत गरेनन्। पर्यटनको केन्द्रबिन्दुको रूपमा रहेको मनाङको प्रवेशद्धारको रूपमा रहेको तालका स्थानीयले पर्यटन व्यवसायबाट हुने आम्दानीको लोभमा अन्यत्र स्थानान्तरण हुन नचाहेबाट पनि प्रष्ट हुन्छ कि विपद् सम्बन्धी स्थानीय जनचेतनाको अभाव छ। तालमा मर्स्याङ्दी नदी तटबन्धनमा गर्न राज्यले गरेको लगानी त्यहाँका स्थानीयलाई पैसा नै बाँड्ने हो भने पनि एक परिवारको भागमा २ करोड रूपैयाँ भन्दा माथि हाता पर्दथ्यो। अहिले पनि ताल बजार उच्च जोखिममा छ। तीन तलासम्म बालुवाले पुर्दा पनि स्थानीयले वस्ती छोड्न मानेनन् तालमा। उता नदीमा दहत्तरबहत्तर थुप्रिएको छ। नदी किनारमा नै बस्ती छ। माथिल्लो तालमा एक दर्जन घर त दुई वर्षअघि बाढीपहिरोले पुरिदिएको थियो। उक्त स्थानमा अहिले हेर्दा के त्यहाँ पनि घरहरू थिए र ? भन्ने जस्तो लाग्छ। यस्तै असारमा नै डिभिजन वन कार्यालयले जलवायु सम्बन्धी तालिम प्रदान गरेको छ। चामेबजारको पानी शुद्ध छैन। मुल वा खोलामा नै सीधै पाइप हालिएको छ। चामेमा खानेपानीको काम गर्ने कार्यालय गोरखा बजारमा रहेको छ। भर्खरभर्खर पानीको इन्टेक बनाउने कार्य शुरू हुदै गरेको भएपनि फिल्टर, सेडीमेन्टेसन गरेको पाइदैन। असारको दोश्रोसाता चामेबजारमा फाटफुट झाडापखला देखिएको छ। चामेमा चुनेपानी छ।
चामेबजारको पानी शुद्ध छैन। मुल वा खोलामा नै सीधै पाइप हालिएको छ। चामेमा खानेपानीको काम गर्ने कार्यालय गोरखा बजारमा रहेको छ। भर्खरभर्खर पानीको इन्टेक बनाउने कार्य शुरू हुदै गरेको भएपनि फिल्टर, सेडीमेन्टेसन गरेको पाइदैन। असारको दोश्रोसाता चामेबजारमा फाटफुट झाडापखला देखिएको छ।
पूर्वाधार विकास कार्यालयले जिल्लाका बाढीग्रस्त क्षेत्रका मानवीय वस्तीमा पानीले हान्ने ठाउँमा ढलान, ग्याविन वाल लगायतका पक्की खालका संरचना (रिजिड स्टक्चर) बनाउँदै आएको छ। तिल्चे, ताल, थानचोक, ध्यारूमा त्यस्ता प्रकृतिका कार्य गरिएको कार्यालयले जनाएको छ। यस्तै जिल्लाको पूर्वाधार विकासमा सडक डिभिजन कार्यालय दमौली र पोखरास्थित शहरी विकास आयोजनाले पनि काम गरिरहेका छन्।
२ वर्ष अघिको बाढीले जिल्लाका ३/४ वटा ट्रस्ट पुल, ९/१० वटा झोलुङे पुल, चामे बजारको कल्भर्ट र करिब एक दर्जन जति काठेपुल बगाएको थियो। यसैगरी जिल्ला हुलाक, नासोँ गाउँपालिकाको भवन बगाएको थियो। करिब ५ वटा लघुजलविद्युतमा क्षति पुगेको थियो।
चामेको पृष्ठभूमि
जिल्लाको सदरमुकामको रूपमा चामे वि.सं २०२६ मा स्थापित भएको हो। यसभन्दा अघि लमजुङको कुन्छा, त्यसपछि बाहुनडाँडा हुदै मनाङकै थोचेमा समेत सदरमुकाम बसेको थियो। स्थानीय बुद्धिजीवी, समाजसेवा तथा भूतपूर्व जनप्रतिनिधिहरूका अनुसार ‘चामे’ शब्द ‘चामेन’ शब्दबाट अपभ्रंश हुँदै बनेको पाइन्छ। चामेनलाई छिटोछिटो उच्चारण गर्दागर्दै चामे हुन गएको उनीहरूले बताए। मनाङ भन्दा बाहिरबाट आउने शिक्षक, कर्मचारीहरूले चामेन शब्दलाई उनीहरूको लबज अनुसार र छिटोछिटो उच्चारण गर्दा चामे हुन गएको चामे गाविसका भूतपूर्व अध्यक्ष तथा चामे जिविसका भूतपूर्व उपसभापति साङ्दो लामा बताउँछन्। लामा भाषामा ‘चा’ को अर्थ घाँस र ‘मेन’ को अर्थ औषधि हो। सबै किसिमका घाँस पाइने र पोषिलो किसिमका घाँस पाइने जनश्रुति थियो। हिउँदयाममा घोन्दुर (याक लगायतका जनवारलाई हिउँमा खुवाइने पोषिलो घाँस) खुवाउँदा याक मोटा हुने र बोसो हुने जनश्रुति थियो। यस क्षेत्रमा जडिबुटी जस्तै यार्चागुम्बा, निरमसी, सतुवा, पाँचऔंले, वनलसुन लगायत पनि पाइन्छ। पर्यटन, जडिबुटी र जलस्रोतको खानीको रूपमा रहेको चामे कृषिमा पनि अग्रणी छ। स्याउ, फापर, आलु, जौ खेती हुने गर्दछ।
२०७८ सालको जनगणना अनुसार चामेको घरधुरी ३८९ रहेको छ जसमा डेराभाडामा बस्नेहरू समेतलाई गणना भएको छ। यसैले चामेको वास्तविक घरधुरी सङ्ख्या उक्त तथ्याङ्क भन्दा कम रहेको छ। चामेका क्षेत्रफल १००६.७४ हेक्टर वर्ग किलोमिटर रहेको छ जसमा ३२.०४ हेक्टर जमिन खेतीयोग्य, १००।८८ हेक्टर पाँचौं तह जमिन रहेको छ। यसैगरी ५०७.५९ हेक्टर क्षेत्र जंगल, ३४६.८५ हेक्टर चरण क्षेत्र र १९.३३७ हेक्टर जमिन सरकारी जमिन रहेको छ। चामे गाउँपालिकाका तिमाङ‚थानचोक, कोतो, चामे नयाँबजार र पारी चामे गरी ५ बस्तीमा पाँच ओटा वडा कार्यालयहरू छन्। गाउँकार्यपालिकाको कार्यालय वडा नं. ४ नयाँबजारमा छ।। वि.सं. २०७८ को जनगणना अनुसार १२७६ जनसंख्या मध्ये पुरूष, ७३० (५७.२ प्रतिशत), महिला: ५४६ (४२.८ प्रतिशत ) छ । यस गाउँपालिकाको पूर्वमा नासोँ गाउँपालिका, पश्चिममा मनाङ निस्याङ गाउँपालिका, उत्तरमा नार्पाभूमि गाउँपालिका तथा दक्षिणमा कास्की जिल्लाको मादी गाउँपालिकासँग सिमाना जोडिएको छ।
भौगोलिक हिसाबले नेपालको उत्तरी हिमाली भागमा रहेको चामे गाउँपालिका तिब्बतसँगको सिमाना नजिक पर्ने भएकोले सांस्कृतिक पक्षमा तिब्बतीय प्रभाव पाउन सकिन्छ। यहाँ हिन्दु, तिब्बती बौद्ध धर्ममा आधारित संस्कार र रीतिरिवाज प्राचीनकालदेखि चलिआएको पाइन्छ। विविध सांस्कृतिक तथा प्राकृतिक सम्पदाले चामे उत्कृष्ट पर्यटकीय गन्तव्य हो। यस गाउँपालिकाको अर्थतन्त्रको प्रमुख पाटोको रूपमा कृषि, पर्यटन साथै जलविद्युतको प्रचुर सम्भावना छ। यहाँ व्यावसायिक रूपमा कृषिको प्रवद्र्धन गर्नु आवश्यक छ। उच्च भेगमा उत्पादन गरिने आलु, खाप्से, फापर, कोलो, सिस्नोका साथै स्याउ, ओखर आदिको व्यावसायिक रूपमा उत्पादनमा बृद्धि तथा स्थानीय र उन्नत जातका बाख्रा, च्याङ्ग्रा, चौरी, याकपालन गरी स्थानीय अर्थतन्त्र चलायमान गर्न सकिने सम्भावना छ। वर्षायाममा बाढीपहिरो कारण सडक अवरूद्व हुने तथा जाखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने बाध्यता छ। गाउँपालिकाले ‘समृद्धि र विकासको द्वार: पर्यटन, कृषि र जलश्रोत मुल आधार’ भन्ने नारा लिएको छ। यहाँका प्रसिद्ध स्थलहरूमा काजीनसारा ताल, चेम्या भ्युटावर, तातोपानीकुण्ड, वडा ३ (कोतो गुम्बा), ४(माडा गुम्बा) र ५ (चेमे गुम्बा) मा रहेको तीन ओटा गुम्बाहरू, चामे बेसक्याम्प आदि रहेका छन्।
यहाँका मुख्य पूर्वाधारको अवस्थामा चामे आउने मख्य सडकमार्ग रहेको छ। यसैगरी चामेका विभिन्न वस्ती तथा वडाहरू जाने सडक पनि रहेको छ। चामेमा दुईओटा ठाडो खोलामा दुईओटा कोठेपुल रहेको छ भने चामे प्रवेश गर्नुअघि पनि काठेपुलहरू रहेका छन्। साँघुरो सडक, अप्ठेरो भूगोलमा सडक पुर्याउने जटिल कार्य नेपाली सेनाले गरेको हो। अग्ला र ठूल्ठूला पत्थरहरू काटेर चामेमा बाटो पुगेको छ भने चामेभन्दा माथि मनाङनिस्याङ गाउँपालिकाको खाङसारसम्म सडक पुगेको छ। खाङसारसम्म पुग्न गाडीमा बेशिसहरदेखि ७ घण्टा समय लाग्छ भने हालको जीप भाडा तीन हजार रूपैयाँ। खाङसारदेखि तिलिचो ताल पुग्न पैदल दुई दिन लाग्छ। खाङसारसम्म पहिलो दिन बेसक्याम्प पुगेर बस्ने र भोलिपल्ट बिहानै उठेर तिलिचो तालको यात्रा गर्न सकिन्छ। चामेमा गाडी पुगेको १०/११ वर्ष भयो भने खाङसारमा ५/६ वर्ष। बेशिसहर—चामे सडकमा करिब ५० वटा जति जीप पर्यटकीय मौसममा दिनहुँ गुड्छन् भने बेमौसममा १०/१५ वटासम्म। यहाँ चल्ने आधा जीपहरू जीपका साहुजीले नै चलाउँछन्। जीप चलाउँदा चलाउँदा आधाजति जीप चालक साहु भैसकेका यस रूटमा ६ वर्षभन्दा बढी जीप चलाएका कुमार श्रेष्ठ बताउनुहुन्छ। “पहिले अर्काका गाडी चलाउनेहरू मध्ये आधा आफ्नै गाडी चलाउँछन्,” श्रेष्ठले भन्नुभयो। यो सडक नेपाली सेनाले खोलेको हो। ४/५ वर्षपछि त चामेमा माइक्रोबस समेत चल्ने सपना देख्नुभएको छ चामे गाउँपालिका अध्यक्ष घलेले। सडक स्तारोन्तति हुँदै गएपछि माइक्रोबस चल्ने सम्भावना बृद्धि हुँदै गएको छ। चामेमा चारचक्के ट्रक समेत पुगेका छन्। बाटो खन्ने मेसिन, ट्याक्टर, स्कारपियो जीप र अन्य फोरह्विलर जीप चल्छन्। मनाङमा पर्यटकहरू मनसलु हिमालको काखैकाख लार्केपास गरेर थोरङ्ला पास हुँदै मुस्ताङ जान्छन् भने कोही थोरङ्ला पास हुँदै चामे आइपुग्छन्। पुरानो पर्यटन मार्ग मासिदै गएकोले सडकैसडकै पैदलयात्रा गर्नेहरू पनि बाटो भरि भेटिन्छन् मुख्य सिजनमा।
चामेमा चामे साना लघुजलविद्युत परियोजना, स्याक्र्यू खोला लघुजलविद्युत र केन्द्रीय प्रशारणको विद्युत समेत जडान भएको छ। चामे बजारको मुख्य खानेपानीको स्रोतमा घट्टेखोला हो भने पाखो जमिनमा खानेपानीको पाइप र कतैकतै पक्की कुलोबाट सिंचाइ गरिन्छ। गाउँपालिकाले हाल बसपार्क, सिटीहल र कोल्डस्टोर समेत बनाइरहेको छ। गाउँपालिकामार्फत् फोहरको व्यवस्थापन भइरहेको छ। यहाँ ठूला उद्योग तथा कलकारखाना छैन तर एक पानी उद्योग पनि केही समय सञ्चालनमा रहेको थियो। यहाँको कोतो बजार हुदै छिमेकी नार्पाभूमि गाउँपालिका (नार र फू वस्ती) मा जान सकिन्छ। नार्पाभूमिमा हालसम्म सडक नपुगेकोले खच्चडले मानवीय जीवनमा चाहिने र विकास निर्माणमा चाहिने केही सामग्रीको समेत ढुवानी गर्दछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
भगवान खनाल का अन्य पोस्टहरु:
- …त्यसपछि जनज्योति बसाइँ सर्यो
- प्रभावकारी बन्न नसकेको निरन्तर मूल्याङ्कन प्रणाली
- श्रीशैलमका मल्लिकार्जूनदेखि काशीका पशुपतिनाथसम्मको यात्रा
- कमजोर र अवैज्ञानिक स्कुलको कार्यसम्पादन परीक्षण साधन
- स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप
- के स्थानीय तहले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दैछन् ?
- दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
- सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट
- कर सङ्कलनमा किन खटिनु पर्यो जनप्रतिनिधि ?
- हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह