न्याय खोज्दै अपाङ्गता भएका बालबालिकाको स्कुल

भत्काएको पर्खालको क्षतिपूर्ति र भोगाधिकारका लागि अदालत जान बाध्य भयौं : राघव दवाडी

२०७९ साल मंसिर २३ गते शुक्रबार खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा एउटा डोजर चल्यो। गोकर्णेश्वर नगरपालिकाको १८ लाख रूपैयाँको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको विद्यालयको कम्पाउन्ड बाल नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देम लामाको नेतृत्वमा आएको टोलीले भत्काइदियो। जबकि उक्त पर्खाल निर्माण गर्न नेपाल अपाङ्ग संघका लामाभन्दा अगाडिका अध्यक्ष धनजुनु श्रेष्ठ अनुमति दिनुभएको थियो।

पर्खाल निर्माणकार्यको उद्‌घाटन भने गोकर्णेश्वर नगरपालिकाको नगर उपप्रमुख सान्नानी लामा र विध्यालय क्षेत्र पर्ने गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष नवराज लामाले शिलन्यास गर्नुभएको थियो।

जग्गा भोगाधिकार गर्न पाउनुपर्छ भनेर अदालत पुग्यौं- राघवप्रसाद दवाडी, प्रधानाध्यापक

विद्यालयको नयाँ भवन बनेपछि विद्यार्थी, विद्यालय र विद्यालय भित्र भएको सम्पतिको सुरक्षाको लागि विद्यालयको पहलमा नगरपालिकाले कम्पाउन्ड घेरेर पर्खाल लगाउनका लागि १८ लाख रूपैयाँ सहयोग गरेको हो।

हुन त यस विद्यालय र त्यसको मातृ संस्था नेपाल अपाङ्ग महासंघ एउटै कम्पाउन्डभित्र रहेकाले विभिन्न समयमा समस्या आइरहेको छ। विद्यालयले सहँदै आएको थियो। तर यसपालि अलि बढी भएकाले न्यायका लागि विद्यालय परिवार काठमाडौँ जिल्ला अदालतको शरणमा पुगेको छ।

यहाँ रहेको १५ रोपनी जग्गा भोगाधिकार पाए विद्यालयले पाए धेरै सदुपयोग हुने थियो। विद्यालयले अपाङ्गता भएका बालबालिकालाई छात्रावास बनाएर उनीहरूको पढाइ बिनारोकटोक अगाडि बढाउन सहयोग गर्ने थियो। राज्यले अपाङ्ग ता भएका बालबालिकालाई मासिक ४ हजार रूपैयाँआर्थिक सहयोग गर्छ। यति खर्चले काठमाडौँ बसेर पढाइ खर्च पुग्दैन। गाउँमा पढ्न स्कुलमा अपाङ्ग मैत्री वातावरण छैन। यस विद्यालयको लक्ष्य ती बच्चा पढाउने र प्राविधिक ज्ञान दिई दक्ष बनाउने हो। उच्चमाविको दरबन्दी ल्याई उच्च शिक्षा दिने कार्यक्रम छ। जग्गाको भोगाधिकार नपाउँदा छात्रावास बनाउने आएका दातृ संस्थाको सहयोग पनि फिर्ता गएको छ। नेपालमा अझै पनि चार प्रतिशत बालबालिका विद्यालय शिक्षासँग जोडिएका छैनन्।

नेपाल अपाङ्ग संघले विद्यालयको पुरानो भवन कब्जा गरेको छ। त्यहाँ स्टोर बनाएको छ। बालबालिकाको लागि खाजा खाने क्यान्टिन त्यहाँ बनाउने विध्यालयको लक्ष्य छ। अपाङ्ग ता भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा दिन, तालिम दिन, जीविकोपार्जनको लागि सहयोग पुर्याउन स्थापना भएको यस विद्यालयमा १२० जना शारीरिक अपाङ्ग ता भएका विद्यार्थीसहित ६३० जना विद्यार्थी अध्ययनरत छन्। ईसीडी देखि कक्षा १२ सम्म यहाँ पढाइ हुन्छ। भौतिक संरचना र कक्षा कोठाको अभावका कारण कक्षा ११ र १२ को पढाइ बिहान हुन्छ। यो समावेशी विशेष विद्यालय हो।

यो विद्यालयको स्थापना २०२६ सालमा स्थापना भएको हो। विशेष शिक्षा परिषद्को सहयोगमा २०३२ सालमा ३ लाख रुपैयाँ दिएर नेपाल अपाङ्ग संघसँग साढे २८ रोपनी जग्गा किनिएको थियो। तत्कालीन नेपाल अन्धा अपाङ्ग संघले अपाङ्ग बालबालिकालाई तालिम दिने उद्देश्यले हालको गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटारमा विद्यालय स्थापना गरिएको हो।

यस्तै, नेपाल सरकारले २०५३ सालबाट सामुदायिक विद्यालयसरह पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षक तालिमलगायत सहयोग गर्न नेपाल सरकारले सुरु गर्यो। २०६१ सालबाट कक्षा १० सम्मको अनुमति पाएको हो। २०७२ सालको भूकम्पले विद्यालयको पुरानो भवन क्षतिग्रस्त बनायो। नेपाल सरकार र दातृ निकायले विद्यालयको भवन निर्माण गरिदिने भएपछि नेपाल अपाङ्ग संघले सुरुमा जग्गाको भोगाधिकार नदिएर असहयोग गर्यो। २०७२ सालमा नेपाल अपाङ्ग संघले १० रोपनी जग्गा विद्यालयको हो भनी तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल अपाङ्ग संघका अध्यक्ष प्रधानाध्यापक र शिक्षा कार्यालय काठमाडौको रोहबरमा विद्यालयको हो भन्ने प्रमाणित भएको थियो।

जग्गा दिने सहमति भएपछि प्लान इन्टरनेसनल नेपालको सहयोगमा सुविधासम्पन्न १० कोठे भवन निर्माण भयो । त्यसपछी नर्वेजियन दूतावासको सहयोगमा ६ कोठा भएको सुविधा भवन र जिल्ला कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा ८ कोठे भवनसहित २४ कक्षा कोठा भएको तीनवटा विद्यालय भवन बनिसकेको छ। यी भवनहरु अपाङ्ग मैत्री छन् । भवन मात्र होइन विद्यालयका कक्षाकोठा पनि अपाङ्ग मैत्री र प्रविधिमैत्री कक्षाकोठाभित्र कmबचत दयबचम मा पढाइ हुन्छ।

विज्ञान प्रयोगशाला पुस्तकालय आदि सम्पूर्ण व्यवस्था विद्यार्थीका लागि विद्यालयले गरिसकेको छ । २१ जना शिक्षकहरुको मध्ये सबैजनालाई ल्यापटपको सुविधा दिएको छ। हो यस्ता सम्पत्ति सदुपयोग सहित सुरक्षा दिन र विद्यार्थी सुरक्षाको लागि सम्मानित सर्वोच्च अदालतले पनि यस विद्यालयलाई सामुदायिक विद्यालय सरह को व्याख्या गरी जग्गालाई भोगाधिकार पाउनुपर्ने भनिसकेको छ । तर अपाङ्ग संघका अध्यक्ष नेत्रित्वमा यो पर्खाल भत्काएपछि विद्यालय स्थानीय सरकार जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय सम्म पुग्यो सरोकारवाला निकाय अभिभावकलगायत सबैले भत्काउनु निन्दनीय कार्य हो भनेका छन्।

नेपालको संविधान अनुसार पनि यस्ता विद्यालय अपाङ्ग मैत्री हुनुपर्छ। यस्ता बालबालिकाको अपाङ्ग तासँगै गरिबी पनि अर्को समस्या हो । देशभर ३ हजार ३३ विशेष विद्यार्थी छन्। ७६ हजार अपाङ्ग बालबालिका छन् । यस्ता देशैभरि छरिएर रहेका अपाङ्ग बालबालिकाको पढाउने विद्यालयलाई १५ रोपनी जग्गा भोगाधिकार पाउनुपर्छ भनेर विद्यालय परिवार जिल्ला अदालत काठमाडौँ पुगेको छ ।

खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय का प्रधानध्यापक राघव दवाडीका अनुसार विद्यालय वरपर पर्खाल लगाउने क्रममा नगरपालिका प्रमुख उपप्रमुख, वडाध्यक्षसँग सम्झैता भएर नै लगाइएको हो । सो समयमा कसैले पनि विरोध गरेनन् । सर्मथन नै गरे ।

‘नेपाल अपाङ्ग संघका तत्कालीन अध्यक्ष साम्देन लामाको नेतृत्वमा आएको टोलीले विद्यालयको कम्पाउन्ड पर्खाल भत्काइदियो,’ दवाडी भन्नुहुन्छ, ‘स्थानीय तह र विद्यालय कहीँ पनि जानकारी नगराई भत्काइदिए ।’

यसबारे प्रहरी कार्यालय र जिल्ला प्रशासनमा निवेदन दिँदा साधारण छलफल गरेर टारिदिएको दवाडीको भनाइ छ । ‘कानुनी रुपमा व्यहोर्नुपर्ने क्षतिपूर्ति र मापदण्डका कदम अगाडि नबढाएपछि अदालत जान बाध्य भएका हौँ,’ दवाडी भन्नुहुन्छ, ‘भत्काएको पर्खालको क्षतिपूर्ति र भोगाधिकार गर्न पाऊँ भनी अदालत जान बाध्य भएका हौँ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
न्याय खोज्दै अपाङ्गता भएका बालबालिकाको स्कुल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link