मानिस आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँबाट बेँसी झर्ने, बेँसीबाट बजार, सहर लाग्ने क्रम खास गरी तीन दशकयता बढोत्तरी भएको हो । गाउँबाट गाउँमै बसाइसराइ भइरहेको समयमा कमाउनेहरू, क्षमतावानहरू बजार—सहर पस्नु असामान्य होइन । सहर बजार छिर्न नचाहने र नसक्नेहरू गाउँभित्रका मानवबस्ती बाक्लिएका ठाउँमा ओर्लिएका छन् । फलस्वरुप गाउँभित्रका ट्रान्जिट बस्तीहरूको, पुर्खाकै खेतबारी भएका बेँसी भेगहरूमा घनत्व बढेको छ । व्यवस्था बद्लिए पनि, गाउँमा विकासका पूर्वाधार पुगे तापनि थातथलोबाट पलायन हुने क्रम भने रोकिएको देखिँदैन ।
विश्व नागरिकको अवधारणा विकास भएसँगै अध्ययन तथा रोजगारीको लागि बिदेसिनु नौलो मान्नु पर्दैन । बिदेसिए भन्ने जति चिन्ता र चासो चार पाँच वर्षयता देखि बोलिन थालिएको छ, अहिले त्यो भन्दा आन्तरिक बसाइसराइ चाहिँ मुख्य समस्याको रूपमा देखिन्छ । गाउँघर चाहर्दा धन्न मानिसहरू त्यहाँको स्थानीय समुदाय, समाज र संस्थाहरू चलाएरै बसिरहेका छन् भन्ने लाग्छ ।
आन्तरिक बसाइसराइको प्रभावले गर्दा जन्मथलोको विकास ओझेलमा परेको छ । ती मानिस अन्यत्र थुपरिदा बसाइसराइ गएको ठाउँ चाहिँ बाक्लिएको मात्र छैन, पूर्वाधार विकास लगायतमा पनि चलायमान बनेको छ । गाउँका हिजोका अर्थ सामाजिक गतिविधि निमिट्यान्न भएर बजार—सहरमा भने जागेको देखिन्छ । यसर्थ आन्तरिक बसाइसराइले सामाजिक संरचनामा नै बदलाव ल्याएको छ ।
मानिसले गाउँ छाडेर बजार—सहर छिर्दा दुःखले घडेरी जोड, दुःखले घर बनाऊ गर्दागर्दै एउटा पुस्ताको दुई तीन दशक स्थापित हुनको लागि नै बितेको देखिन्छ । जसको कारण ऊ न त्यहाँको सामाजिक कामहरूमा संलग्न हुन सकेको छ, न त गाउँ नै फर्किन सकेको छ । आन्तरिक र बाह्य, बसाइसराइ फेरी मानवीय विकास र प्रगतिको द्योतक पनि हो ।
हिजो गाउँको माझमा रहेका स्थानहरू अहिले अपायक बनेका छन् । हिजोको गाउँ पञ्चायत वा गाउँ विकास समितिका केन्द्रहरू अहिले अपायक बनेको देखिन्छ । खास गरी गाउँमा ४० देखि ५० को दशकमा गाउँ बस्तीको माझ परेका संस्थाहरू जस्तै विद्यालय, स्वास्थ्य चौकी लगायतहरू अहिले अपायक देखिन्छन् । समुदायमा ती संस्था मानिस बाक्लिएका ठाउँमा झार्नु न बन्द गर्नु भन्ने समस्यामा देखिन्छ ।
यस्तैको एक उदाहरण हो गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ स्थित जनज्योति आधारभूत विद्यालय । विसं २०४४ मा गाउँघरको बिच पारेर स्थापित विद्यालयमा स्थानीयको गाउँबाट बेँसी झर्ने क्रम बढेसँगै २०७५ सालसम्म आइपुग्दा यस विध्यालयमा जम्मा ४ जना विद्यार्थी रहन पुगे ।
स्थानीय समुदायले विद्यालय कसरी जिउँदो राख्ने भन्ने जुक्ति गर्दागर्दै विद्यालयलाई नै बेँसी झार्ने उपायमा पुग्यो। स्थानीयसँगै विद्यालय पनि बसाइँ सर्यो । बेँसी झारेर विद्यालय ज्युँदो राख्ने जनज्योति विरलै कोटीको उदाहरण हो । यसअघि पनि विपद्लगायतका कारणले विद्यालय स्थानान्तरण गरेका उदाहरण धेरै नै देखिन्छ ।
निजी विद्यालयमा सहरमा यसको खुब खेती खेलो चल्छ । तर विद्यार्थी कम भएपछि विद्यालय जीवन्त राख्ने जनज्योति जुक्ति भने नगण्य छ । विद्यालय व्यवस्थापन समितिले २०७४ साल चैत १४ मा २०७५ को शैक्षिक वर्षबाट सबै कक्षा बेँसी झार्ने निर्णय लियो । यस भन्दा अघि नै बाल विकास कक्षा बेँसी झारिएको थियो भने र २०७३ साल चैत १४ को बैठकले कक्षा १ र २ पनि बेँसी झारेको हो ।
यस विद्यालयको संस्थापक अध्यक्ष बाबुराम दुवाडी हिजो विद्यालय स्थापना गर्दाको सङ्घर्ष सम्झँदै भन्छन्, “हिजो पनि गाह्रो थियो, अहिले पनि उत्तिकै गाह्रो भएको छ ।” हिजो गाउँको माझ (पोखरी भन्ने स्थानमा) पारेर खुलाएको विद्यालय हुँदाहुँदै नचल्ने जस्तो देखिएर बेँसीमा झार्ने बाध्यता आइलाग्यो । साबिक मनकामना गाउँ पञ्चायत वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका बाबुराम दुवाडी लगायत स्थानीयको सक्रियतामा जनज्योतिको जग बसेको थियो । एक समय विद्यालय स्थापना गर्ने लहरका बिच जनज्योतिको जग बसेको थियो । हिजो न आज, सामाजिक संस्थाहरू जन्माउने, हुर्काउने काममा लाग्नेहरूले धेरै मेहनत गर्नुपर्दछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
भगवान खनाल का अन्य पोस्टहरु:
- प्रभावकारी बन्न नसकेको निरन्तर मूल्याङ्कन प्रणाली
- श्रीशैलमका मल्लिकार्जूनदेखि काशीका पशुपतिनाथसम्मको यात्रा
- कमजोर र अवैज्ञानिक स्कुलको कार्यसम्पादन परीक्षण साधन
- विपद् सङ्कटासन्न चामे: बाढी भत्काएका मनाङी सपनाहरू
- स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप
- के स्थानीय तहले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दैछन् ?
- दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
- सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट
- कर सङ्कलनमा किन खटिनु पर्यो जनप्रतिनिधि ?
- हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह