द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी- ३२
जेठी राजकुमारी अम्बा पीडित भइन्- न माइतीले स्वीकार गर्ने, न शाल्वले स्वीकार गर्ने, न हरण गर्ने पक्षले स्वीकार गर्ने। कता जाने ? कहाँ गएर जीवन यापन गर्ने ? अनि उनी गइन् भीष्म प्रतिज्ञ राजकुमारका गुरु परशुरामसँग अनुनय विनय गर्न र आफ्नो अधिकारको सुरक्षाका लागि। परशुरामले जब सुने कि यो अन्याय हस्तिनापुरको तर्फबाट भयो, झन त्यसमा पनि कहिल्यै विवाह नगर्ने भनेर प्रतिज्ञा गरेको ब्रह्मचर्याश्रममा बस्ने प्रण गरेको देवब्रतबाट। परशुरामको अत्यन्त अनुशासित शिष्य देवब्रत त उनले भनेको मान्ने भएकाले उनी सम्झाउन भनेर हस्तिनापुर आए र अम्बाले न्याय पाउने कुरामा वकालत गर्न थाले र भने- यो अबलामाथि अन्याय मलाई सहन भएन राजकुमार देवब्रत, यसले न्याय पाउनु पर्छ र उनको विवाहको व्यवस्था हस्तिनापुर नरेशसँग गरिनु पर्छ।
हस्तिनापुरबाट जब राजकुमारी अम्बा सौभ विमानका धनी महाराज शाल्वसमक्ष पुगिन् र उनीमात्र, उनका लागि एकमात्र पति वरण गर्न लायक वीर पुरुष हुन् भनेर आफू हस्तिनापुरबाट विदा लिएर आएकी हुँ भनिन्। भीष्मले हरण गर्दा पनि सबैभन्दा भीष्मको रथको पिछा गर्ने र वीरता देखाएर लड्ने लडाकु शाल्व नै थिए। शाल्व र भीष्मप्रतिज्ञ देवब्रतका बिचमा भएको युद्धलाई कतिपयले देवता र राक्षसहरूको युद्धसँग तुलना गरेका थिए। त्यो युद्धको कारण थियो, अम्बालाई मन पराउने र अम्बालाई त्यही स्वयंवरबाट उनको हातबाट वरमाला पहिरी रानी बनाउने गरी व्यवस्था मिलाइएको थियो। अम्बिका र अम्बालिकाका लागि भने सय्यौँ राजा, राजकुमारहरू र वीर क्षत्रियहरूमध्ये उनीहरूले छान्ने नै काशीराजका प्रिय जामाता हुने थिए। तर विधिको लेखान्त थियो, उनीहरू सामान्य राजाका रानी हुनुभन्दा भारतवर्षका चक्रवर्ती मानिएका महाराज विचित्रवीर्यका रानी हुने सौभाग्य पाएका थिए। अम्बिका र अम्बालिकाका कुनै राजा, युवराज, राजकुमार प्रेमीका रुपमा दृश्यमा थिएनन् जस्तो कि अम्बाका लागि महाराज शाल्व थिए। शाल्व अत्यन्त शूरवीर राजा थिए र उनले भयानक युद्ध गरेर भीष्मलाई समेत आच्छु आच्छु पारेका थिए तर भीष्मले शाल्वसहित लडाकु राजाहरूलाई हराएर निष्कण्टकरुपमा तीन राजकन्याहरूलाई हस्तिनापुरतर्फ लगेका थिए। हुन त अरु राजाहरू पनि लड्न तम्सिएका थिए र कतिले भीष्मको रथलाई घेर्न पनि गएका थिए तर शाल्वका लागि यो युद्ध जीवन मरण विषय बनेको थियो, त्यसको कारण थियो, उनकी प्रेमिका अम्बाले जसले त्यसै स्वयंवर मण्डपमा उनलाई वरमाला पहिर्याउने थिइन् र त्यसै दिन नै काशीराजले कन्यादान गरेर दिने तयारी थियो।
राजमाता सत्यवतीका लागि सबैभन्दा भय थियो, हस्तिनापुरका राजाको रुपमा विराजमान विचित्रवीर्य पनि महाराज चित्राङ्गद जस्तै अविवाहितमा नै कतै मृत्युको मुखमा नपरुन् र हस्तिनापुर राजाविहीन हुने अवस्था आओस्। त्यसैले हस्तिनापुरका तर्फबाट कुरुनन्दन देवब्रतलाई काशीराजका कन्याहरूको स्वयंवरमा पठाइएको थियो। सकेसम्म काशीराजलाई सम्झाएर कन्याहरू हस्तिनापुरका लागि महारानी बनाउनका लागि उपहारका रुपमा प्राप्त हुने अपेक्षा पनि थियो किनभने एक त हस्तिनापुरमा विवाह हुनु भनेको सम्मानको विषय थियो भने विवाह हुने बित्तिकै महारानी हुने अवस्था थियो कारण हो विचित्रवीर्यलाई हस्तिनापुरको राजगद्दीमा महाराजका रुपमा अभिषेक गरी सकिएको थियो।
महाराज चित्राङ्गदको हत्या भएपछि गद्दी खालि राख्नै हुँदैनथ्यो। गद्दीका बारेमा शङ्कास्पद अवस्था पनि देखाउनु हुँदैनथ्यो, नत्र चक्रवर्तित्व अन्तर्गत रहेका राजाहरूले स्वतन्त्र हुन खोज्थे र समूहगतरुपमा हस्तिनापुरमाथि आक्रमण गर्न सक्थे। तर गङ्गानन्दन कुरुशिरोमणि मानिने देवब्रतको सेनापतित्व र राज्यको अभिभावकत्वका सामु कसैले पनि हस्तिनापुरमाथि चढाइ गर्न सक्दैनथे।
यसरी हस्तिनापुरसम्म ल्याइएका राजकुमारीहरू राजमाताको जिम्मा लगाइयो र साइत हेरेर तीनओटै कन्यासँग विवाह गर्ने शुभमुहूर्त निकालिएको थियो। त्यही बेलामा राजकुमारी अम्बाले आफू शाल्वप्रति मन, वचन र कर्मले समर्पित भएकीले शाल्वको दरबारमा गएर विवाह गर्ने योजना बनाउँदै हस्तिनापुरमा विदा माग्दै थिइन् र भीष्मलाई फकाउँदै थिइन्- हे कुरुनन्दन, कुरुशिरोमणि गङ्गानन्दन, तपाईँले नजानेको धर्मनीति अरुले कसरी जानून्, कुनै राजकुमार या राजाप्रति समर्पित राजकुमारीलाई उसको सतित्वप्रति सम्मान गर्न पनि मलाई स्वतन्त्रता दिइयोस् र शाल्वका दरबारसम्म जानका लागि अनुमति सहित सुरक्षाको व्यवस्था गरियोस् र शीघ्रातिशीघ्र जाने व्यवस्था गरियोस्।
त्यसरी गएकी अम्बालाई शाल्वले स्वीकार गरेनन्। उनले भने- राजकुमारी, तिमी तीन दिदी बहिनी हाँस्दै हाँस्दै खुसीसाथ गङ्गानन्दनसँग रथमा गएका थियौ। अनि वीरवर देवब्रतले हरण गरेर लगी भाइलाई सबै कन्याहरूको विवाह गर्ने योजना मुताबिक नै भएकाले तिमीलाई म स्वीकार गर्दिन। अब तिमी आफ्नो इच्छा अनुसार जहाँ मन लाग्छ, त्यहीँ जाऊ।
कुनै पनि हालतमा काशीराजको दरबारमा पनि नजाने,हस्तिनापुर दरबारमा उनको अस्तित्व रानीको रुपमा स्वीकार गर्न नचाहने भएकाले ऋषिहरूको आश्रममा गएर सहयोगको याचन गर्न थालिन्। त्यो ऋषि आश्रममा उनका मावली हजुरबा राजर्षि होत्रवाहन पनि थिए जसले आफ्ना मित्र परशुरामले नातिनीको समस्याको समाधान गर्न सक्ने जुक्ति सिकाए। नभन्दै भगवान परशुराम राजर्षि होत्रवाहनसँग भेटघाट गर्न ऋषि आश्रममा नै आए र सबै समस्या सुने।
भगवान परशुरामले पनि गम्भीरताका साथ सोधे- राजकुमारी अम्बा, तिम्रालागि गङ्गानन्दन भीष्मप्रतिज्ञ देवब्रत र महाराज शाल्व कसले बढी धोखा दिएको जस्तो लाग्छ ? अब कोसँग बढी बदलाको भाव लिएकी छ्यौ ? र मैले कसलाई सम्झाउँ र तिम्रो भविष्यको सुरक्षा गरौँ ? परशुरामले के कुरा बुझे भने कामातुर राजकुमारीमा बदलाको भाव आइसकेको छ र निरीह अवस्थाका कारणले उनले आफूसँग सहयोग मागेकी हुन् भन्ने कुरा बुझिसकेका थिए। आफ्ना पुराना मित्र राजर्षि होत्रवाहनकी नातिनी अम्बाको सहायता गर्नु यसकारणले पनि आवश्यक थियो कि भगवान परशुरामले जसको पनि सहयोग गरेर दुःखमोचन गर्नका लागि नै अवतार भएको थियो।
जब राजकुमारीले महाराज शाल्वले स्वीकार नगरेको कारण नै कुरुकुल शिरोमणि मानिने भीष्म नै थिए, त्यसैले जसरी पनि भीष्मलाई सम्झाएर अम्बाको विवाह गर्नु नै परेको थियो। शाल्वसँग भन्दा बढी रिस देवब्रतसँग रहेकाले भगवान परशुरामसँग उनले हस्तिनापुरमा गएर आफूलाई न्याय दिलाउनका लागि अनुरोध गरिन्।
यसबारेमा एउटा सन्तोष परशुरामलाई के रह्यो भने भीष्मसँगको समस्या त चुट्की बजाउँदा नै समाधान हुने उनले सम्झेका थिए किनभने परशुरामका अत्यन्त प्रिय अनुशासित शिष्यका रुपमा शिक्षा ग्रहण गर्ने शन्तनुपुत्र देवब्रतले उनले भनेको नमान्ने कुरै थिएन।
परशुरामले राजकुमारी अम्बालाई लिएर हस्तिनापुर गए र भने- यिनको के बिजोग पारेको शन्तनुनन्दन ? तत्काल यिनको विवाह या त आफूसँग गर या भाइसँग गरी देऊ। नत्र राम्रो हुनेछैन। यसै पनि रिसाहा ऋषि, झन आफूले भनेको मान्ने शिष्यलाई आदेश दिनु त उनका लागि सामान्य कुरा थियो।
तर गुरु परशुरामको आदेशलाई शिरोपर गरी देवब्रतले भने- हे महान ऋषि, गुरुवर, परम श्रद्धेय भगवान, म हजुरको जुनसुकै आदेश पनि मान्न तयार छु, हजुरको आदेश हुन्छ भने म आफ्नो ज्यान दिन पनि तयार छु तर काशीराजकन्या राजकुमारी अम्बालाई फेरि यो दरबारमा प्रवेश दिन सक्दिन किनभने मैले यिनलाई नजानू भन्दाभन्दै महाराज शाल्वसँग मेरो प्रेम छ र उनीसँगै विवाह गर्नुपर्छ भन्दै हिँडेकी राजकन्यालाई फेरि म मेरो भाइसँग विवाह गराउन सक्दिन। परशुरामको स्वभाव अनुसार उनी रिसाए र आफ्नो शरणमा आएकी राजकन्याका पक्षमा बोल्दै भने- तिमीले हरण गरेर ल्याएकाले तिमीले नै विवाह गर या महाराज विचित्रवीर्यसँग विवाह गराऊ तर यी अन्यायमा परेकी महिलाको उद्धार तिमीले गर्नैपर्छ। यसकारणले पनि तिमीले यी राजकन्याको उद्धार गर्नुपर्छ कि तिमी हस्तिनापुरका सर्बेसर्बा हौ, तिमीले नै हरण गरेर ल्याएका हौ र तिमीले नै अहिले यी राजकन्याको उत्तरदायित्व लिनबाट पन्छँदै छौ। राजाको कर्तव्य निर्बाह गरेका तिम्रालागि, न्यायका दृष्टिले यो सरासर अन्याय हो र तिमीजस्ता मेरा असल शिष्यबाट मैले गरेको अपेक्षा के हो भने यी राजकन्याले न्याय पाउनु पर्छ र यिनको विवाह यही भारत साम्राज्यका नरेशसँगै हुनुपर्छ जसरी कि यिनका बहिनीहरूको विवाह सम्भव भएको थियो।
गुरु चेलाका बिचमा विवाद यति बढ्यो कि दुवै युद्धका लागि तयार भए। परशुरामले युद्धको ललकार गरे र परशुरामका योग्य शिष्य देवब्रतले पनि गुरुले सिकाएको युद्धकला प्रयोग गर्नुपर्ने अवस्था आउँदा चुपचाप नबस्ने भनेर युद्धका लागि तयार भए। भयानक युद्ध भयो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?