फ्रान्समा प्रदर्शनकारीद्वारा प्रहरीमाथि पेट्रोल बम प्रहार: अनुसन्धान सुरु

फ्रान्सको राजधानी पेरिसमा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीमाथि पेट्रोल बम (मोलोटोभ ककटेल) प्रहार भएपछि फ्रान्सेली अभियोजकहरूले ‘ज्यान मार्ने ‘ कसुरमा अनुसन्धान अघि बढाएका छन्।

पेरिसमा शनिबार आयोजित प्रदर्शनका क्रममा दङ्गा नियन्त्रण प्रहरी (जेन्डरमरी) माथि घातक प्रहार भएको थियो। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको दृश्यमा पेट्रोल बम विस्फोट भएपछि एक प्रहरी अधिकारीको खुट्टा र पोसाकमा आगो लागेको देखिन्छ। उक्त दृश्य सार्वजनिक भएसँगै फ्रान्सभर चौतर्फी आक्रोश र आक्रोश व्यक्त गरिएको छ।

घटनामा घाइते भएका प्रहरी अधिकारीको गोलीगाँठो र हातमा पोलेको छ। फ्रेन्च पत्रिका ली फिगारो सँग कुराकानी गर्दै ती घाइते अधिकारीले आफूहरूमाथि प्रहार गरिएको ज्वलनशील पदार्थ साधारण मोलोटोभ ककटेलभन्दा धेरै घातक र ‘अत्यन्त अत्याधुनिक’ किसिमको रहेको बताएका छन्। उनले भने, “हामीले अनपेक्षित रूपमा अत्याधुनिक हातहतियार र प्रविधिसहित आएका सयौँ हिंस्रक विरोधीहरूको सामना गर्नुपर्‍यो। ती व्यक्तिहरू सर्वसाधारण प्रदर्शनकारी होइनन्, राज्यका प्रतिनिधिहरूलाई क्षति पुर्‍याउने नियतले नै आएका थिए।”

फ्रान्सका गृहमन्त्री लरेन्ट न्युनेजले सुरक्षाकर्मीको लाइनलाई लक्षित गरी मोलोटोभ ककटेल प्रहार गर्नु भनेको ‘सिधा ज्यान मार्ने प्रयास’ भएको टिप्पणी गरेका छन्। दोषीहरूलाई कानुनको दायरामा ल्याउन प्रहरी टोली परिचालन गरिएको र गहन खोजतलास भइरहेको उनले जानकारी दिएका छन्।

फ्रान्समा सेप्टेम्बरको अन्त्यदेखि उच्च महँगी, शिक्षा लगायतका कमजोर सार्वजनिक सेवा र जीवनयापनको बढ्दो लागतलाई लिएर युवाहरूको नेतृत्वमा निरन्तर विरोध प्रदर्शन भइरहेका छन्। शनिबार भएका प्रदर्शनहरू अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि केही सहरहरूमा झडप र तोडफोड भएको थियो।

हिंसात्मक गतिविधि नियन्त्रण गर्न देशभर हजारौँको सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो। फ्रान्सेली गृह मन्त्रालयका अनुसार शनिबार देशभरबाट ७७० भन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको छ। यद्यपि, प्रहरी अधिकारीमाथि आगो लगाउने सो विशिष्ट घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।

उक्त झडपमा सोही युनिटका अन्य १४ जना प्रहरी अधिकारीहरूसमेत ढुङ्गा मुढा र विभिन्न प्रहारबाट घाइते भएका छन्। बिदामा बस्नुपर्ने प्रहरी टोलीलाई प्रदर्शन नियन्त्रणका लागि आपत्कालीन रूपमा ड्युटीमा बोलाइएको थियो।

अर्कातर्फ, प्रदर्शन आयोजक समूह (यलो भेस्ट/जिलेट जाउनेस) ले प्रहरीले प्रयोग गरेको ‘स्टक ग्रिनेड’ र अश्रुग्याँसका कारण दर्जनौँ प्रदर्शनकारीहरू गम्भीर घाइते भएको दाबी गरेका छन्। अक्टोबरको सुरुमा विद्यार्थी प्रदर्शनका क्रममा १५ वर्षीय एक किशोरको हात गुमेपछि फ्रान्सले एक प्रकारको स्टन ग्रेनेड प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर, प्रहरीले अझै पनि अन्य वैकल्पिक ग्रिनेडहरू प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link