रुसले युक्रेनका पुलमा १०९ पटक हमला गरेकाले क्रिमिया पुलमा प्रहार गर्‍यौँ: राष्ट्रपति जेलेन्स्क

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र कब्जा गरिएको क्रिमिया प्रायद्वीपलाई जोड्ने रणनीतिक महत्त्वको ‘क्रिमिया पुल’ मा युक्रेनले गरेको शृङ्खलाबद्ध आक्रमणको बचाउ गरेका छन्। रुसले युक्रेनका पुलहरूमा १०९ पटक छुट्टाछुट्टै आक्रमण गरेकाले क्रिमिया पुलमाथिको प्रहार ‘उचित जवाफ’ भएको उनले स्पष्ट पारेका छन्।

राजधानी किभमा बिबिसीसँग कुराकानी गर्दै राष्ट्रपति जेलेन्स्कीले क्रिमिया पुलमाथिको आक्रमणपछि रुसले युक्रेनमाथि बढाएको तीव्र हमलाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध रोक्न नचाहेको सङ्केत गर्ने बताए। “पुटिन युद्ध रोक्न चाहँदैनन्, बरु तनाव बढाउने बहाना खोजिरहेका छन्,” जेलेन्स्कीले भने।

यसअघि रुसी राष्ट्रपति पुटिनले सन् २०१४ मा युक्रेनबाट गैर कानुनी रूपमा गाभिएको क्रिमिया जोड्ने उक्त पुल ‘केवल नागरिक प्रयोजनका लागि मात्र’ प्रयोग भइरहेको दाबी गरेका थिए। तर, जेलेन्स्कीले पुटिनको उक्त दाबीलाई अस्वीकार गर्दै रुसले उक्त पुलमार्फत क्रिमियामा ट्याङ्क तथा अन्य सैन्य सामग्री ओसारपसार गरिरहेको प्रमाण अनलाइन तस्बिरहरूमा स्पष्ट देख्न सकिने बताए। उनले व्यङ्ग्य गर्दै भने, “यहाँ पुटिनका शब्द मात्र होइन, तथ्यहरू छन्। यदि पुटिनले इन्टरनेट चलाउँथे भने उनले ती सबै दृश्य देख्न सक्थे।”

यसै साता युक्रेनी फौजले गरेको क्षेप्यास्त्र र ड्रोनको संयुक्त आक्रमणबाट क्रिमिया पुलको मध्य भागको सडक खण्ड पूर्ण रूपमा ध्वस्त भएको छ। आक्रमणका कारण पुलको एक मुख्य आर्च (चाप) र सडकको हिस्सा समुद्रमा खसेपछि सवारी आवागमन पूर्णतः अवरुद्ध भएको छ।

रुसी आक्रमणमा बालक र स्वास्थ्यकर्मीको मृत्यु

क्रिमिया पुलमाथिको आक्रमणको प्रतिशोधमा रुसले शुक्रबार साँझ र रातभर युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेको छ। मध्य निप्रोपेट्रोभस्क क्षेत्रस्थित राष्ट्रपति जेलेन्स्कीको गृह नगर क्रिभी रिहमा भएको रुसी आक्रमणमा खेलमैदानमा खेलिरहेका एक सात वर्षीय बालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। सोही आक्रमणमा २० वर्षीय महिला स्वास्थ्यकर्मीको समेत ज्यान गएको छ। उद्धारकर्मीहरू घटनास्थलमा पुगे लगत्तै रुसले सोही स्थानलाई लक्षित गरी जेट–पावर्ड ड्रोनबाट पुनः दोस्रो आक्रमण गर्दा अन्य ५८ जना घाइते भएका छन्। युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस) का अनुसार उत्तर–पूर्वी खार्किभ क्षेत्रमा ११ जना र उत्तर–पश्चिमी रिभ्नेमा एक जना घाइते भएका छन्।

बेलायती रक्षामन्त्री किभमा, युरोपेली एकताको सन्देश

किभ भ्रमणमा रहेका बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङसँगको भेटवार्ताअघि जेलेन्स्कीले उक्त अभिव्यक्ति दिएका हुन्। भेटमा रक्षामन्त्री स्ट्रिटिङले युक्रेनको समर्थनमा युरोप एकताबद्ध रहेको सन्देश दिँदै भने, “पुटिनले जति हामीलाई विभाजित गर्ने प्रयास गर्छन्, हामी त्यति नै दृढ बन्दै जानेछौँ।” शुक्रबार ‘कोअलिसन अफ द विलिङ’ को सैन्य अभ्यासका क्रममा पोल्यान्डमा रुसी क्षेप्यास्त्र खस्नुलाई उनले ‘अत्यन्तै उत्तेजक कार्य’ को संज्ञा दिए।

नेटोको सम्भावित प्रतिक्रियाबारे सोधिएको प्रश्नमा स्ट्रिटिङले ‘निर्मम हत्यारा’ पुटिनविरुद्ध आत्मरक्षा गर्न युक्रेनलाई थप सहयोग गर्नु नै उत्तम उपाय हुने बताए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई आफ्नो ‘मित्र’ भनेको सन्दर्भमा जेलेन्स्कीले पनि पुटिनलाई ‘हत्यारा’ भनेका थिए। स्ट्रिटिङले पुटिनलाई ‘पीडित बन्ने नाटक नगर्न’ चेतावनी दिँदै विश्वले उनलाई शब्दबाट नभई कर्मबाट मूल्याङ्कन गर्नुपर्ने बताए।

यता, बिहीबार जर्मनीको बर्लिनमा अमेरिकी दूतहरूसहित बसेको युरोपेली नेताहरूको बैठकले युद्ध अन्त्यका लागि मस्कोसँग वार्ता गर्न तयार रहेको बताएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युरोपको वार्ता अडान स्पष्ट र एकताबद्ध रहेको बताए भने जर्मन चान्सलर फ्रेडरिक मर्जले रुसका ‘अधिकतमवादी मागहरू अव्यवहारिक’ रहेको टिप्पणी गरे। चीनको सेन्जेनमा पुटिन, ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको ऐतिहासिक त्रिपक्षीय वार्ताको केही घण्टापछि बर्लिनमा उक्त बैठक बसेको थियो।

यसैबिच, शनिबार फिनल्यान्डको रक्षा मन्त्रालयले पूर्वी फिनल्यान्ड खाडीको अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा एक रुसी व्यापारिक पानीजहाजमा ड्रोन आक्रमण भएको पत्ता लागेको जनाएको छ। आक्रमणबाट जहाजमा क्षति पुगेपछि सुरक्षाका कारण उक्त क्षेत्रको हवाई तथा सामुद्रिक आवागमनमा पुनः अस्थायी प्रतिबन्ध लगाइएको फिनल्यान्डले जनाएको छ। यस विषयमा रुसले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link