महात्मा गान्धीको सान्निध्य पाउने र भौतिक रुपमा उपस्थित भएर गान्धीको आश्रममा दीक्षा पाउने थोरै सौभाग्यशाली नेपालीमध्ये एकका गोपालदास बादे श्रेष्ठको ९७ वर्षको उमेरमा बुधबार निधन भएको छ।
गोपालदास बादे श्रेष्ठ, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक धरोहर, २००७ सालको राणाविरोधी क्रान्तिका योद्धा एवम् नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका संस्थापक सदस्य हुनुहुन्छ।
महात्मा गान्धीको आदर्श र दर्शनलाई अनुकरण गर्दै आफ्नो सम्पूर्ण जीवन परोपकारमा समर्पण गर्नुभएका बादेको निधनसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको छ।
विक्रम सम्वत् १९८१ मा काभ्रेको बनेपामा जन्मनुभएका गोपालदास बादेले विक्रमीय १९९० को दशकमा १७–१८ वर्षको उमेरमै पहिलोपटक गान्धीजीको आश्रममा पुग्ने अवसर पाउनुभएको थियो र यो अवसर जुराइ दिनुभएको थियो गोपालदासको दाजु राजदास बादेका निकटतम् मित्र तुलसीमेहर श्रेष्ठले। तुलसी मेहरले नै बादेलाई पहिलोपटक भारतको गुजरातस्थित बर्धा आश्रममा लिएर जानुभएको थियो। महात्मा गान्धीको सामिप्यमा बादेले बर्धा आश्रममा ६ महिनाको तालिम पूरा गर्नुभएको थियो।
‘त्यहाँ कस्तो किसिमको शिक्षा वा तालिम पाउनु भयो ?’, झण्डै पाँच वर्ष अगाडि भएको एक भेटमा पङ्क्तिकारले प्रश्न गर्दा उहाँले बताउनु भएको थियो, ‘गान्धीजीको शिक्षापद्धति नै आदर्श जीवनशैली निर्माण गर्नेतर्फ उन्मुख थियो। आश्रममा गार्हस्थ्य जीवनलाई राम्रोसँग चलाउन आवश्यक पर्ने सबै विषयहरू – स्वावलम्बनका उपायहरू, सामाजिक दायित्वका विषयहरू लगायत असल मानवीय सम्बन्धको विकास कसरी गर्न सकिन्छ भन्ने जस्ता समाजोपयोगी कुराहरू सिकाइन्थ्यो। चर्खा चलाउनु र कपडा बुन्नु त अनिवार्य नै थियो त्यहाँ। ६ महिनाको कोर्स पूरा गरेको थिएँ मैले। गान्धी आश्रममा मेरो मन रमाउनुमा एउटा अर्को पनि कारण थियो, त्यो हो त्यहाँको शाकाहारी परिवेश। हाम्रो परिवार पनि पुस्तौँदेखि पूर्णत शाकाहारी रहँदै आएको छ।’
बादेले गान्धीजीको बर्धा आश्रमका साथसाथै सावरमती र अन्य आश्रमहरूमा पनि समय बिताउने मौका पाउनुभयो। गान्धीको आश्रममा दीक्षा प्राप्त गर्ने अवसर पाउनु, स्वयम् गान्धीको सामीप्य र स्नेहको जुन सौभाग्य बादेले पाउनुभयो, त्यसलाई उहाँ “दैवीकृपा” मान्नुहुन्थ्यो। ‘गान्धी आश्रममा बस्दा मैले बापुको असीम अनुराग त प्राप्त गरे नै, साथै त्यतिबेलाको हिन्दुस्थानका केही विख्यात व्यक्तित्वसँग साक्षात्कार गर्ने महान् अवसर पनि प्राप्त गरेँ। महामना मदनमोहन मालवीय, सर्वोदय– भूमिदान आन्दोलनका नेता विनोभा भावे र काका कालेलकर जस्ता दिग्गजहरूसँगको बसाउठीलाई म अहिले पनि सुखद स्मृतिका रूपमा सम्झन्छु’, ती दिनहरूका बारेमा सम्झना गर्दै वरिष्ठ लोकतन्त्रवादी नेता बादेले बताउनु भएको थियो।
गान्धीजीको प्रसङ्ग चल्दा नेपालको राणा विरोधी आन्दोलनमा गान्धीजीले पुर्याउनु भएको योगदानको पनि सम्झना गर्नुभएको थियो बादेले। ‘बीपी कोइरालाले गान्धीलाई भेटेर नेपालको स्वतन्त्रता आन्दोलनलाई सघाउन अनुरोध गरेपछि उनले आफ्ना निकट सहयोगी तुलसी मेहर श्रेष्ठलाई सोही उद्देश्यमा योगदान गर्नु भनी नेपाल पठाइदिएका थिए। तुलसी मेहरले राणा विरोधी आन्दोलनमा ठूलो योगदान नगरे पनि नेपालमा गान्धीवादको जग भने बसालेका थिए। उनले स्थापना गरेको चर्खा प्रचार महागुठी अहिले पनि सक्रिय नै छ जस्तो लाग्छ।’
गान्धीजीको आश्रमबाट अन्तिमपटक नेपाल फर्किएपछि भने बादे राजनीति र समाजसेवामा सक्रिय हुनुभयो। बादेका दाजु राजदास नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो। उहाँले कलकत्तामा भएको नेपाली काङ्ग्रेसको अधिवेशनमा पनि भाग लिनु भएको थियो र त्यसैबेलादेखि राजदास बादेको सो पार्टीका ठूला नेताहरूसँग सम्पर्क थियो। दाजु राजदासकै कारणले उहाँ पनि नेपाली काङ्ग्रेससँग आवद्ध हुनुभयो। बीपी कोइराला र कृष्णप्रसाद भट्टराई छद्म भेषमा सिन्धुलीको बाटो काठमाडौं आउँदा एक रात गोपालदास बादेकै घरमा बास बसेका थिए। उनीहरूलाई सुरक्षित काठमाडौंसम्म पुर्याउन बादेका दाइ राजदासले सघाउनु भएको थियो। राजदास बादेको एउटा विमान दुर्घटनामा परेर कलिलै उमेरमा निधन भएपछि प्रजातान्त्रिक आन्दोलनसँगको पारिवारिक सम्बन्धलाई अगाडि बढाउने दायित्व गोपालदासकै काँधमा आइपरेको थियो जसलाई उहाँले सफलताका साथ पूरा गर्नु भएको थियो।
राजनीतिमा सक्रिय भए पनि समाजसेवालाई उहाँ आफ्नो पहिलो रोजाइको व्यसन मान्नुहुन्थ्यो र गान्धीजीको आश्रममा पाएको दीक्षालाई यसको कारण मान्नुहुन्थ्यो। बादेको परिवारको आर्थिक पृष्ठभूमि सबल भएका कारण उहाँले धन कमाउने वा सञ्चय गरेर राख्ने कुरालाई जीवनमा कहिल्यै प्राथमिकता दिनुभएन। ‘आवश्यकता भन्दा बढी सञ्चय गर्नुहुन्न भन्ने गान्धीजीको अर्तिलाई मान्ने व्यक्ति भएकाले मैले बन्दव्यापार वा उद्योगधन्दा गरेर सम्पत्ति बढाउने तर्फ कहिल्यै पनि रुचि देखाइन्। आवश्यकता परेर सहयोगका लागि आउने जो कसैलाई पनि खाली हात नपठाउने निश्चय मनमनै गरेँ र त्यो दृढतालाई अहिलेसम्म पनि सकेसम्म पालना गर्दै आइरहेको छु’, उहाँले भन्नुभएको थियो।
गोपालदास बादेले आफ्नो सम्पूर्ण जीवन परोपकार र समाजसेवामा समर्पण गर्नुभएको थियो। आजको सम्पन्न र समृद्ध बनेपा नगरको जग बसाल्ने काम उहाँकै नेतृत्वमा अघि बढेको थियो। बनेपाको आजाद हाइस्कुल र शिक्षा सदनको स्थापना, सेभेन्थ डे एडभेन्टिस्ट चर्चद्वारा स्थापित शिर मेमोरियल अस्पतालको सञ्चालनमा उहाँको ठूलो योगदान थियो। आजाद हाइस्कुल र शिक्षा सदनको स्थापना गर्ने बेलामा त्यसलाई आवश्यक पर्ने जग्गा त बादे परिवार आफैँले किनेर दिएको थियो। तर उहाँ कहिल्यै आफूले गरेको कामको श्रेय लिन चाहनुहुन्नथ्यो। उहाँ भन्नुहुन्थ्यो ‘समाजसेवा यस्तो क्षेत्र हो जहाँ एकजनाले गरेर केही पनि हुँदैन, समाजलाई नै परिचालन नगरी केही पनि गर्न सकिँदैन। त्यसैले म यो–यो काम मैले गरेँ भनेर श्रेय लिन चाहन्न।’
पछिल्लो समय वृद्धावस्था र शारीरिक अशक्तताका कारण उहाँ राजनीतिबाट टाढा हुनुहुन्थ्यो तर परोपकार र समाजसेवाको भावनामा भने कुनै कमी आएको थिएन। तर समसामयिक राजनीतिलाई नजिकबाट नियालिरहनुभएका बादे अहिले हाम्रो समाजमा चौतर्फी देखिएको विकृति र विसंगतिलाई लिएर भने चिन्तित हुनुहुन्थ्यो। आफ्नै आस्थाको पार्टी नेपाली कांग्रेसको वर्तमान अवस्थादेखि पनि उहाँ सन्तुष्ट हुनुहुन्थ्यो। आजको नेपाली कांग्रेसलाई लिएर उहाँको विचार यस्तो थियो– ‘नेपाली काङ्ग्रेस यसका संस्थापक नेता बीपी कोइरालाले गरेको मार्ग निर्देशन र स्थापना गर्न खोजेको आदर्शबाट विमुख भइरहेको जस्तो लाग्छ मलाई अहिले। नेपाली काङ्ग्रेसको मात्रै कुरा किन, हाम्रो सम्पूर्ण समाजकै नैतिक धरातल निकै नै कमजोर भएको अवस्था छ अहिले। २०४६ सालमा पुनर्स्थापित प्रजातन्त्रको संस्थागत विकास हुनु त कता हो कता, अहिले स्थापना गर्न खोजिएको संघीय गणतन्त्रात्मक लोकतन्त्रकै भविष्य डाँवाडोल भएको देख्छु म। ६ सय १ जनाको भीडले आठ वर्ष लगाएर बनाएको नयाँ नेपालको नयाँ संविधान क्रियान्वयनमा नै नआउने जोखिम बढ्दो छ। देशको मुख्य प्रजातान्त्रिक शक्तिका रूपमा नेपाली काङ्ग्रेस प्रजातन्त्रलाई संस्थागत गर्न नसकेको दोषबाट पन्छिन मिल्दैन। काङ्ग्रेसको वर्तमान नेतृत्वले यो दुखद अवस्थालाई कसरी हेरिरहेको छ, मलाई त्यति धेरै थाहा छैन।’
गोपालदास बादेको भौतिक शरीर आज हामीमाझ उपस्थित नभए पनि उहाँका आदर्श, उहाँको जीवनदर्शन र हाम्रो समाजका लागि उहाँले पुर्याउनुभएको योगदान हामी र आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत भएर चीरकालसम्म जीवित रहिरहनेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आशुतोष अधिकारी का अन्य पोस्टहरु:
- धमाधम बनिरहेको छ विश्वकपमा स्कोर र ब्याटिङ रेकर्ड
- लो स्कोरको म्याचमा अस्ट्रेलियालाई जित्यो भारतले
- दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान
- नेदरल्याण्डस् विरुद्धको जीतमा पाकिस्तानको औसत प्रदर्शन
- विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
- आजबाट क्रिकेटको महाकुम्भ सुरु, को हुन् जितका बलिया दाबेदार?
- नेपाली क्रिकेटको एसियाड यात्रा टुंगियो
- भारतविरुद्धको नेपालको बहादुरीपूर्ण ब्याटिङ
- परम्परागत कमजोरी: ब्याटिङले फेरि डुबायो
- एउटा महान् गोलरक्षकको बिदाइ