आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो

प्रतिमा सिलवाल

केही वैयक्तिक कुराहरू लेख्न बस्दा म सँधै अलमलमा पर्छु। के भन्ने ? कति भन्ने कि भन्दै नभन्ने ? साँच्चिकै लेख्न उपयुक्त विषय हो यो ? लेख्न बस्दा पटक पटक आफैसँग हजार प्रश्नको सामना गरिसकेँ। तर समाजको रूग्ण उपर उठेका प्रश्नको जवाफ आफैंभित्र खोज्दा हुने वेदना विस्फोटले आत्मदहन भएजस्तो लाग्छ।

ती दिनहरू सम्झिँदा आज मन व्यथित हुन्छ। चिडचिडाहट हुन्छ। रगत उम्लिएर आउँछ। घटना लेखिहालौँ लाग्छ। एक मनले भन्छ– नलेख। सधैँजसो आधाउधी पुर्‍याएपछि रोकिन्छु म।

कयौँ पटक लेख्ने र नलेख्ने दोधारबाट निस्केर आज मेरो मन दरिलो भएको छ। आमाका अकथित वेदनाहरूको स्मरणले यस क्षण मलाई सशक्त बनाएको छ। यो मेरै आमाले भागेको कहानी हो। मेरै समाजले उहाँलाई दिएको कहर हो।

अब पनि मैले यो कथा नलेखे मेरी आमालाई ‘आफ्ना’ ले नै दिएका दर्दनाक पीडाको कतै अभिलेख रहँदैन। हुन त अभिलेखको प्रयोजन समाजले बनाएको फोस्रा मानकहरूमा मात्र सीमित हुन्छ। त्यसले हृदयभित्रको वेदनाको बाढी साम्य पार्ने होइन।

६ सन्तानकी मेरी आमाले लोग्नेको मृत्युपछि एक विधवाले पाइला पाइलामा पाएको सामाजिक प्रहार तपाईँ र तपाईँका आमाले भोग्नु नपरेको होस्। यहाँ मेरी आमाको मनोबल र समाजको क्रूरता अभिलेख गर्नु छ मलाई।

आज समाजमा ससम्मान रमाइरहेका मेरा काका, दाइहरूले यो कहानी पढेर आफ्नो अनुहार ऐनामा हेरुन्। आफू मरिसकेपछि बरखीमा रहेकी काकी, भाउजूहरू अनि छोराछोरीहरूलाई मेरी आमा र हामी ६ छोराछोरीको ठाउँमा राखून्। अनि जाँचुन् आफूलाई, त्यतिबेला ठीक बेठीक के गरेँ !

कहानी लेखौँ र नलेखौँ दोधारमा रहँदा सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रम ‘छोरी’ मनोज गजुरेलले दिएको प्रस्तुति हेर्न पुगेँ। यो हेर्दाहेर्दै म अनवरत  रोएँ।गजुरेलले आफ्नै आमालाई प्रस्तुत गरिरहँदा म भने मेरी आमालाई सम्झेर भक्कानिएँ। आमा ! तपाईँ र म बाँचेको समाज महिलाका लागि आज पनि असहिष्णु छ, शब्दमा भन्न नसके पनि तपाईँमा त्यसको दर्द अनुभूतिको आँधी चलिरहेको म अनुभूत गर्न सक्छु।

०००

त्यो दिन २०५२ को मध्यजाडो हुनुपर्छ। स्कुलबाट भर्खर घर फर्केकी थिएँ। हामी बुबाको बरखी थियौँ। बुबा बित्नुभएको २/३ महिना भएको थियो सायद। दाइ सेतो कपडामा बेरिएको मेरो अबोधपनाले अनौठो ठानिरहेको थियो। अहिले आएर लाग्छ, अबोधपना पीडाबाट बाहिर रहने एउटा सुनौलो मानसिक अवस्था रहेछ।

हाम्रो आँगनको डिलमा पर्खाल थियो। सायद, हामी बच्चाहरू उफ्रिँदा लड्छौँ भनेर आमाले पर्खाल लगाउनुभएको थियो। म त्यही पर्खालमा बसेर तल्लो घरतिर हेर्दै थिएँ वा आमालाई कुर्दै थिएँ। दाइ लामो बाँस घिसार्दै आउनुभयो। म त्यो समय न मानिसको मृत्यु र बाँसबीचको सांस्कृतिक अर्थ बुझ्थेँ, न त्यो ‘घारो तिर्ने’ उर्दी भएको हृदयभेदी भनाभनका कटुवचनका भेउ पाउँथे।

दाइले उनीहरूको आँगनमा चार वटा लामा बाँस फेदै सहित घिसार्दै ल्याएर मिल्काइ दिनुभयो। पर्खालको छेउमा बस्नुभएकी आमा फरियाको फेरोले मुख छोपेर रुँदै हुनुहुन्थ्यो। आमा रोएको देखेर यसलाई म कुनै दुःखदायी क्षण हो भनेर अड्कल त  काट्न सक्थेँ। तर ‘घारो तिर्ने’ भनाभन भने मलाई कुनै वियोगान्त मञ्चन मात्रै हो जस्तो लाग्थ्यो। त्यसबेला ममा कुनै इख विकास भइसकेको थिएन भन्ने अहिले महसुस गर्छु।

गाउँले रमिते थिए। खासखुस बाहेक कसैले पनि हाम्रो पक्षमा मुख फोरेको सुनिनँ मैले। केही भाउजू काकीहरू मसिनो स्वरले आमालाई सान्त्वना दिन्थे। तर, उनीहरूसँग पनि बलियो गरी बोल्ने शक्ति थिएन। आखिर उनीहरू पनि समाजको पिँधमा न थिए।

बालसुलभ चञ्चलतामा थाइ कट कपाल हल्लाउँदै आकाशे सर्ट र फ्रक लगाएर स्कुलबाट उफ्रिँदै फर्केकी म यत्तिकै लाटिएको थिएँ। उन्मुक्तताका एउटा मानसिक अवस्थालाई त्यहाँको हेयपूर्ण कोलाहलले बन्दी बनाएको थियो। त्यो समय दाइले भन्नुभएको एउटा वाक्य आज पनि मेरो स्मृतिमा ताजै छ, ‘ल राख ओ मेरो बाउलाई घाट लगेको घारो।’

ठूली दिदी घरमा हुनुहुन्नथ्यो। पढ्न चितवन हुनुहुन्थ्यो सायद। २०/२२ वर्षको दाइ। हामी ४ जना ससाना भुन्टाभुन्टी। त्यसमाथि म त सबैभन्दा कान्छी। त्यतिबेला मैले घटनाको छेउटुप्पो बुझिनँ। यति अनुमान थियो, यिनीहरूले हामीलाई हेपेका छन्।

आजजस्तो समाजभित्र चल्ने वर्चस्वको लडाईँ, थिचोमिचो र हेपाहा अनुभूत गर्न सक्ने भइसकेको भए, म त्यसबेलै यी कुराहरूलाई बुझ्न सक्ने हुन्थेँ। आज भएको भए बुझ्थेँ– विधवा महिलालाई सामाजिक रुपमा कमजोर बनाउने निर्मम मनोविज्ञान त्यहाँ प्रकट भइरहेको थियो।

एउटा छिमेकी, नातामा काका मर्दा मूर्दालाई घाट लगेर फर्काएको ‘घारो’ समेत फिर्ता माग्ने कस्तो कृतघ्न थियो समाज। आज लाग्छ, सती प्रथामा महिला एकपटक मर्थी वा मारिन्थी। तर, विधवा त पटक पटक मरेर बाँच्नुपर्ने कस्तो समाजमा रहेछु म !

अझ सम्झनलायक कुरा, हामी गाउँभरमा सबै एउटै बाजेका सन्तान थियौँ। एउटा छिमेकी, नातामा काका मर्दा मूर्दालाई घाट लगेर फर्काएको ‘घारो’ समेत फिर्ता माग्ने कस्तो कृतघ्न थियो समाज। आज लाग्छ, सती प्रथामा महिला एकपटक मर्थी वा मारिन्थी। तर, विधवा त पटक पटक मरेर बाँच्नुपर्ने कस्तो समाजमा रहेछु म !

म कहिलेकाही आज पनि जीवित काका दाइहरूलाई सम्झिएर एक्लै प्रश्न गर्छु, उहाँहरूलाई कहिल्यै त्यो घटना सम्झिएर आत्मग्लानी हुँदो हो कि नाइँ ?

सायद आमा हामीलाई कमजोर बनाउन चाहनुहुन्नथ्यो। उहाँले हामीसँग यी घटनाबारे कहिल्यै छलफल गर्नुभएन। उहाँ जहिल्यै सजग हुनुभयो– आफ्नो ह्रदयको घाउले हामीलाई नचहराओस्। हामीले उहाँका दुखानुभूति गर्छौ भन्ने भयले उहाँ भित्रभित्रै चिच्याउनु हुन्थ्यो, बाहिर छोपछाप गर्नुहुन्थ्यो।

आमाको मनमा चलेको पहिरो आज बल्ल बुझ्न सक्ने भएका छौं हामी। एक दिन महाभारतको कथा टेलिभिजनमा सँगै हेर्ने मौका पाउँदा आमाले यति भनेको याद छ, ‘पाँच लोग्ने भएर पनि द्रौपदीलाई नङ्ग्याउन तयार हुने समाज हो यो, म त एक्लो आइमाई न थिएँ।’ म बोलिन। बोलूँ पनि कसरी !

आइमाईका लागि जस्तो भए पनि लोग्नेचाहिँ भइरहनु’ सिस्नोपानीको ‘छोरी’ कार्यक्रममा आफ्नै आमा बनेर गजुरेलले विधवा आमाकै शब्द बोलिरहेका थिए। हाम्रा लागि त त्यो एउटा शब्द मात्रै हो, जसले वैधव्यको कहालीलाग्दो जीवन भोगेका छन्, तिनीहरूका लागि त्यो हृदयनाद हो।

परिवारकी कान्छी छोरी मैले बुबाको बलिष्ठ रूप कहिल्यै देखिनँ। थाहा पाउने भएदेखि नै बुबालाई दमले गाँजेको पाएँ। बुबा आमाको उमेरमा १५ वर्षभन्दा बढीको फरक थियो।

त्यो बेला हाम्रो गाउँमा सडक सुविधा थिएन। डोकोमा सिट बनाएर बोकेर बेला बेला दाइ बुबालाई अस्पताल कुदाइरहनु हुन्थ्यो। बुबालाई सँधै बिरामीका रुपमा मात्रै देखेको मैले घरको काममा बुबाले सघाउन सकेको पनि कहिल्यै थाहा पाइन। सबैतिर आमाकै कुदाकुद हुन्थ्यो। ६ वटा सन्तान जन्माउनुभयो, हुर्काउनुभयो। विस्तारै दाइदिदी हुर्किए पछि आमालाई हलुको हुँदै गयो।

आफूले पढ्न नपाएको अधुरोपनाले आमालाई गाँजेको थियो। आफ्नो अधुरोपनाको पूर्णता सन्तानहरूलाई पढाएर पूरा गर्ने उहाँको धोको हामी थाहा पढाउँथ्यौं। खेतीपातीबाट २/४ पैसा जोगाएर सन्तानलाई पढाएको देखेर गाउँलेहरूमा एक प्रकारको चिढ भावना रहेको हामी महसुस हुन्थ्यो।

बुबाको घारो तिरेको हप्ता दस दिन पछिको कुरा होला। अर्का काका अगुवाइ गरेर खोरियाको घाँस खुलाउने अभियान थाल्नुभयो। त्यो अभियान अरु कसैका लागि होइन हाम्रो जमिनमा रजाइँ गर्ने दाउ मात्रै थियो।

त्यो समय हाम्रो दुई ठाउँमा बर्खा हिँउदमा पुग्नेगरि घाँस हुने नम्बरी खोरिया बारी थियो। गोठमा २/३ वटा भैँसी, बाख्रा भइरहन्थे। आमा बर्खाको लागि फारो गरेर घाँस काट्नु हुन्थ्यो। हामी आमाले सिकाएझैँ घाँस काट्थ्यौँ। घाँस खोज्न हामीलाई जङ्गल जानुपर्ने थिएन। हामी बिहान एक डोको घाँस ल्याएर पढ्न जान समेत भ्याउँथ्यौँ।

साँझपख पँधेरोबाट पानी ल्याउँदै गर्दा आमाले हाम्रो खोरियामा धमाधम घाँस काटिरहेका लोग्नेमान्छेलाई देख्नुभएछ। आफ्नो खोरियामा उनीहरूले घाँस काटेको देखेपछि आमाले ढुङ्गामुढा गरेर तितरबितर बनाउनु भयो। घर आएपछि भने आमाले त्यो घटनाबारे निर्धक्क सुनाउनुभयो। अझ चर्केर भन्नुभयो, ‘कसैले हाम्रो बारीमा घाँस काटेको देख्यौ भने ढुङ्गै ढुङ्गाले हान्नु।’

काकाको पछि लागेर अरु काकाका छोराहरू हँसिया लिएर घाँस खुलाउन हिँडेछन्। साँझपख पँधेरोबाट पानी ल्याउँदै गर्दा आमाले हाम्रो खोरियामा धमाधम घाँस काटिरहेका लोग्नेमान्छेलाई देख्नुभएछ। आफ्नो खोरियामा उनीहरूले घाँस काटेको देखेपछि आमाले ढुङ्गामुढा गरेर तितरबितर बनाउनु भयो। घर आएपछि भने आमाले त्यो घटनाबारे निर्धक्क सुनाउनुभयो। अझ चर्केर भन्नुभयो, ‘कसैले हाम्रो बारीमा घाँस काटेको देख्यौ भने ढुङ्गै ढुङ्गाले हान्नु।’

हामी आमाले भने झैँ भयौँ भएनौँ थाहा छैन। तर, खोरिया फाँड्न आउनेलाई आमाले देखाएको सहासी प्रतिवादले हाम्रो आत्मबल पक्कै बढेको थियो। त्यसपछि पनि गाउँमा अगुवा भनिनेहरूले आमालाई सधैँ हियाएर बोल्न भने छोडेनन्।

‘छोरीहरू धेरै छन्, कसरी बिहेबारी गरिदिन्छौ साँइली भाउजू!’ केही यस्ता शब्द यस्ता हुन्थे, जो आज पनि स्मृतिमा ताजै छन्। सामाजिक बनावट र परिवेशले आमा निकै कमजोर हुनुहुन्थ्यो, उहाँलाई हेप्ने हियाउने गरिन्थ्यो। तर आमा इमानदारिताले बलियो हुँदै जानुभयो। हेपाइलाई श्रम र इमान्दारिताको बलले काट्नु भएको थियो आमाले। बिस्तारै आमाको मेरुदण्ड हामी बन्यौँ। पढ्दै गयौँ। संघर्ष गर्यौँ। विस्तारै अघि बढ्न सबैजना संघर्षरत छौँ।

तर, हामी समाजको अगाडि कहिल्यै हारेनौँ। मेरी आमाको इमानदारी र आत्मबलले हामीलाई जितायो। रातो पहिरन फालिएकी, समाजबाट हेपिएकी, धेरै सन्तानलाई हुर्काउने र पढाउने बोझले थिचिएकी आमाको जीवनबाट हामीले संघर्ष सिक्यौं। आमाका हामी सन्तानहरू आज हिँडेको बाटो त्यही आत्मबलको बाटो हो, त्यही संघर्ष र इमान्दारीको बाटो हो। यस क्षण पनि मेरो मनमा एउटा संकल्प जन्मेको छ– आमा म तपाईंको बाटो पच्छ्याउने छु।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link