विश्व खेलकुद मञ्चका लागि वर्ष २०२२ सुखद नै रह्यो भन्न सकिन्छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विगत दुई वर्षदेखि शिथिल अवस्थामा रहेको खेलकुद क्षेत्र यो वर्ष आफ्नो स्वाभाविक लय समात्न सफल भयो । सन् २०२२ मा विश्वभर विभिन्न खेलका थुप्रै महत्वपूर्ण प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भए भने खेलकुद क्षेत्रसँग जोडिएका केही महत्वपूर्ण घटनाहरूले पनि राम्रैसँग मानिसहरूको ध्यान आकर्षण ग¥यो । २०२२ को प्रमुख खेलकुद परिघटनाका रूपमा कतार विश्वकपको सफल आयोजनालाई मान्न सकिन्छ, तर वर्ष २०२२ लाई मानिसहरूले लियोनल मेसीको सफलताले शिखर चुमेको वर्षको रूपमा धेरै कालसम्म सम्झिइरहने पनि निश्चित छ । यहाँ हामी सन् २०२२ मा भएका विश्व खेल जगत्का दुई प्रमुख प्रसङ्गका बारेमा छोटो चर्चा गर्दैछौँ ।
कतारद्वारा विश्वकप फुटबलको सफल आयोजना
सन् २०१० को डिसेम्बर महिनामा फिफाले मध्यपूर्वको यो अरब राष्ट्रलाई विश्वकप फुटबल २०२२ को आयोजनाको अधिकार दिने निर्णय गरेको थियो । फिफाले यस्तो निर्णय दिएका दिनदेखि यो लगातार रूपमा विवादको विषय बन्दै आएको थियो । विश्वकप २०२२ को आयोजक बन्न कतारले अकुत धनराशी खर्च गरेर भोट किनेको प्रसङ्ग होस् वा आप्रवासी कामदारको गैरकानुनी मृत्यु र त्यहाँको मानवअधिकारको नाजुक अवस्थाको प्रसङ्ग होस्, कतार सधैँ पश्चिमा राष्ट्रहरूको निशानामा परिरह्यो । तर विश्वकप इतिहासकै सबैभन्दा विवादित विश्वकप मान्न सकिने फुटबलको यो महाकुम्भलाई कतारले इतिहासकै सफल प्रतियोगिताका रूपमा सम्पन्न गरेर विश्वलाई देखाइदिएको छ ।
साँच्चै भन्नुपर्दा, विश्वकप फुटबल प्रतियोगिता शुरू हुनुभन्दा केही महिना अघिसम्म पनि पश्चिमा राष्टहरू, विशेषगरी युरोपका प्रमुख फुटबल शक्तिराष्ट्रहरू र त्यहाँका मिडियाले कतारले विश्वकप आयोजना गर्न सक्दैन वा उसको यो अधिकार खोसिनेछ भन्ने हल्ला फिँजाइरहेका थिए । पश्चिमी मिडियाहरूले आप्रवासी कामदारहरूको मृत्युको विषय, मानवअधिकार हनन्, भ्रष्टाचार, त्यहाँको महिला अधिकारको मुद्दा वा कतारको हावापानी र मौसमलाई समेत विषय बनाएर लगातार रूपमा कतारलाई निशाना बनाइरहे ।
हुन पनि कतारलाई विश्वकप आयोजनाको अधिकार दिने फिफाको निर्णय आफैँमा एउटा आश्चर्यजनक निर्णय थियो । सन् २०१० मा यो निर्णय हुँदै गर्दा कतारले विश्वकप आयोजना गर्न सक्छ भन्ने कुराको पुष्टि गर्ने कुनै आधार थिएन । फुटबलको कुरा गर्ने हो भने कतारको अवस्था विश्व मानचित्रमा मात्र होइन एशियामा पनि खास थिएन, एकदमै सामान्य थियो । त्यसबेलासम्म पनि कतारमा फुटबल खासै लोकप्रिय थिएन, पूरा देशभर केवल एउटा मात्र अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला थियो । विश्वकप फुटबलको कुरै छाडौँ, एशियन च्याम्पियनशीपमा छनौट हुन पनि कतारले ठूलो संघर्ष गर्नुपथ्र्यो । त्यसमाथि खाडीको ५० डिग्रीको तापक्रममा कसरी विश्वकप फुटबल खेल्न सकिन्छ भन्ने प्रश्न त छँदै थियो ।
तर अनेकथरिका आरोप–प्रत्यारोप, अफवाह, हल्ला र संशयलाई चिर्दै यो खाडी मुलुकले शान्त र शालीन ढङ्गले विश्वकप २०२२ सम्पन्न गर्न सफल भएको छ । विश्वकप प्रतियोगिताको आयोजनाका लागि कतारले पैसाको खोला नै बगाएको थियो । कतारले विश्वकपको लागि आवश्यक पूर्वाधार निर्माणमा मात्र २२९ बिलियन डलर (३० खर्ब रुपैयाँ भन्दा बढी) खर्च गरेको समाचार बाहिर आएको छ तर त्यसको आधिकारिक पुष्टी हुन सकेको छैन । केही खेल पण्डितहरूले त कतारले विश्वकपका लागि ५०० बिलियन डलरसम्म खर्च गरेको दावी गरेका छन् । त्यस्तै भ्रष्टाचार र फिफाको आचारसंहिता उल्लंघनको आरोप, विश्वकपका लागि आवश्यक रंगशाला र अन्य पूर्वाधार निर्माणका क्रममा मृत्युवरण गर्न पुगेका ६५०० आप्रवासी कामदारहरूको मुद्दा अनि त्यहाँको मानवअधिकारको अवस्था लगायतका थुप्रै विवादित विषयहरूलाई एकातिर थाँती राख्दै कतारले विश्व खेलकुदको सर्वोच्च प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेरै छाडेको छ । अझ भन्नुपर्दा, हाम्रो पुस्ताका महान फुटबल खेलाडी लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनालाई विश्वकपको उपाधि सुम्पने गौरव समेत कतारले आत्मसात् गरेको छ ।
मेसीको सफलताले शिखर चुमेको वर्ष
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो १८ वर्षको खेलजीवनमा थुप्रै उपलव्धिहरू हासिल गरे । विश्वकपको उपाधिलाई छाडेर मेसीले एउटा खेलाडीका रूपमा हासिल गर्न सकिने अन्य सबै उपलव्धिहरू हात पारे । मेसीलाई इतिहासकै सर्वोत्कृष्ट फुटबल खेलाडी मान्नेहरूको यहाँ कुनै कमी छैन भने उनी फुटबलका ‘सर्वकालीन महान खेलाडी’ हुन् वा होइनन् भन्ने कुरा पनि ठूलै बहसको विषय बन्दै आएको छ । मेसीले क्लबस्तरमा वा व्यक्तिगत रूपमा जति ठूलो उपलव्धि हासिल गरे पनि उनले देशका लागि केही जित्न सकेका छैनन् भनेर उनको आलोचना गर्नेहरुको जमात पनि निकै ठूलो छ ।
दुई दशक लामो प्रतिक्षा र परिक्षालाई पार गर्दै मेसी आफ्नो देशलाई ३६ वर्षपछि विश्व विजेता बनाउन सफल भएका छन्, त्यो पनि आफ्नै अन्दाजमा । पाँचौँपटकको सहभागितामा मेसीले यो उपलव्धि हासिल गर्न सकेका हुन् ।
हुन पनि मेसीले आफ्नो डेढ दशकभन्दा लामो फुटबल करिअरमा अर्जेन्टिनाका लागि युवा विश्वकप र ओलम्पिक स्वर्ण अनि क्लब बार्सिलोनाका लागि चार युरोपियन च्याम्पियनशीपसहित जित्न सकिने सबै उपाधिहरू जिते, त्यो पनि पटक–पटक । सात पटक बलोन‘डि‘ओर र छ पटक युरोपियन गोल्डेन बुट जितेका मेसीले २०२१ अघि एक विश्वकप फाइनल र दुई कोपा अमेरिका फाइनल पनि खेले तर अर्जेन्टिनालाई उपाधि दिलाउन सकेनन् । आफ्नो राष्ट्रलाई कुनै ठूलो उपाधि दिलाउन नसकेका कारण उनको महानताका अगाडि सधैँ एउटा प्रश्नचिन्ह खडा हुन्थ्यो । जबसम्म मेसीले देशका लागि कोपा अमेरिका वा विश्वकप जस्ता ठूला उपाधि जित्न सक्दैनन्, उनी पेले र म्याराडोना जस्ता महान् खेलाडीको सूचीमा समावेश हुन सक्दैनन् भनेर भनिँदै आइएको थियो जुन सत्य पनि थियो ।
सन् २०२१ को जुलाई महिनामा लियोनल मेसीले शानदार ढङ्गले कोपा अमेरिकाको उपाधि उचाल्दैैै आफ्ना आलोचकहरूलाई केही हदसम्म शान्त पार्न सफल भए । ब्राजिलको घरेलु भूमिमा आयोजित सो प्रतियोगिताको फाइनलमा ब्राजिललाई नै १–० ले पराजित गर्दै २६ वर्षपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा मेसीले प्रतियोगिताको गोल्डेन बल र बुट दुवै आफ्नो नाम गराएका थिए । कोपा अमेरिकाको उपाधि जितेको एक वर्षपछि मेसी अर्जेन्टिनालाई अर्को अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भए । २०२२ को जुन महिनामा युरो च्याम्पियन इटालीलाई ३–० ले हराउँदै अर्जेन्टिनाले फाइनलिस्माको उपाधि जित्यो । एक वर्षको अन्तरालमा आफ्नो राष्ट्रलाई दुई उपाधि दिलाउँदै मेसीले आफूमाथि लाग्दै आएको आरोपको केही हदसम्म खण्डन गरेता पनि ‘विश्वकपको उपाधि खोई त?’ भनेर उनीमाथि औँला उठिनै रह्यो । फुटबलका ४० भन्दा बढी उपाधि जितिसक्दा पनि मेसी विश्वकपको उपाधि बिना आफूलाई अपूर्ण नै ठान्दथे ।
अन्ततः वर्ष २०२२ ले लियोनल मेसीको सफलतालाई अनुमोदन गरिदिएको छ । दुई दशक लामो प्रतिक्षा र परिक्षालाई पार गर्दै मेसी आफ्नो देशलाई ३६ वर्षपछि विश्व विजेता बनाउन सफल भएका छन्, त्यो पनि आफ्नै अन्दाजमा । पाँचौँपटकको सहभागितामा मेसीले यो उपलव्धि हासिल गर्न सकेका हुन् । उनी पहिलोपटक २००६ को विश्वकपमा सहभागी भएका थिए, त्यसपछि उनले २०१०, २०१४, २०१८ र २०२२ गरी पाँच विश्वकप खेले । २०१४ मा त अर्जेन्टिना फाइनलसम्म पुग्न सफल भएको थियो जहाँ ऊ जर्मनीसँग १–० ले पराजित हुन पुगेको थियो । सो विश्वकपमा मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते तर देशलाई उपाधि दिलाउन भने असफल रहे । तर अन्त्यमा आफ्नो राष्ट्रलाई विश्वकपको उपाधि दिलाउँदै मेसीले आफूलाई ‘सर्वकालीन महान खेलाडी’ को पंक्तिर्मा उभ्याउन सफल भएका छन् ।
मेसीका लागि यो विश्वकप विशेष रह्यो । उनले विश्वकपको उपाधिका साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जिते । विश्वकपको इतिहासमा दुई संस्करणमा गोल्डेन बल जित्ने उनी एक्ला खेलाडी हुन् । पूरा विश्वकप भरि मेसीको प्रदर्शन उत्कृष्ट रह्यो । प्रतियोगितामा खेलिएका सातमध्ये उनी ६ खेलमा गोल गर्न सफल भए भने तीन गोलका लागि असिस्ट समेत प्रदान गरे । उनी पाँच खेलमा ‘प्लेयर अफ दी म्याच’ चुनिए । उनले कुल ७ गोल गरे जसमा फाइनलमा फ्रान्सविरुद्ध गरिएको दुई गोल समावेश छ । फ्रान्सका २४ वर्षका स्ट्राइकर किलियन एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट आफ्नो नाम गराए पनि ३५ वर्षका मेसीले उनलाई कडा चुनौति दिए ।
यही प्रतियोगिताका क्रममा मेसी विश्वकपमा सबैभन्दा कम उमेरमा र बढी उमेरमा गोल र असिस्ट प्रदान गर्ने खेलाडी, अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी (१३ गोल), पाँच विश्वकपमा असिस्ट प्रदान गर्ने एकमात्र खेलाडी, विश्वकपमा आफ्नो टिन एज, ट्वान्टिज र थर्टिजमा गोल गर्ने एकमात्र खेलाडी, विश्वकपमा सबैभन्दा धेरै म्याच खेल्ने खेलाडी (२६ म्याच), विश्वकपमा सबैभन्दा बढी मिनेट खेल्ने खेलाडी (२३१४ मिनेट), दुईटा गोल्डेन बल जित्ने एकमात्र खेलाडी, विश्वकपका हरेक चरणमा गोल गर्ने एकमात्र खेलाडी, विश्वकपमा धेरैपटक ‘प्लेयर अफ दी म्याच’ चुनिने खेलाडी लगायत थुपै्र किर्तिमान आफ्नो नाउँ गराउन सफल भएका छन् ।
समग्रमा भन्नुपर्दा वर्ष २०२२लाई यो पुस्ताका महानतम् खेलाडी लियोनल मेसीको सफलताले शिखर चुमेको वर्षका रूपमा युगौँयुग सम्म मानिसहरूले सम्झना गर्नेछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आशुतोष अधिकारी का अन्य पोस्टहरु:
- धमाधम बनिरहेको छ विश्वकपमा स्कोर र ब्याटिङ रेकर्ड
- लो स्कोरको म्याचमा अस्ट्रेलियालाई जित्यो भारतले
- दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान
- नेदरल्याण्डस् विरुद्धको जीतमा पाकिस्तानको औसत प्रदर्शन
- विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
- आजबाट क्रिकेटको महाकुम्भ सुरु, को हुन् जितका बलिया दाबेदार?
- नेपाली क्रिकेटको एसियाड यात्रा टुंगियो
- भारतविरुद्धको नेपालको बहादुरीपूर्ण ब्याटिङ
- परम्परागत कमजोरी: ब्याटिङले फेरि डुबायो
- एउटा महान् गोलरक्षकको बिदाइ