रुपन्देहीको मर्चवारीदेवी मन्दिर निर्माणकार्य सम्पन्न नहुँदै विवादित बनेको छ । ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माणकार्य रोकिएको छ । निर्माण कम्पनीले ‘शक्तिपीठ’ लाई बेवास्ता गर्दै निर्माणकार्य अघि बढाएपछि विवाद सिर्जना भएको भन्दै मन्दिर व्यवथापन समितिका सचिव चन्द्रिका यादवले त्रुटि सच्याएपछि मात्र निर्माणकार्य अघि बढाउन सकिने बताउनुभयो ।
ऐतिहासिक मर्चवारीदेवी मन्दिर रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र कोटहीमाई गाउँपालिका वडा नं. ६ र मर्चवारी गाउँपालिका वडा नं. ५को सिमानामा स्थित छ । यिनै देवीको नामबाट मर्चवार क्षेत्रको नामाकरण भएको स्थानीयको जनविश्वास छ ।
पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीद्वारा दुई करोड ५६ लाख ८८ हजार आठ सय १९ रुपैयाँको लागतमा अहिले उक्त मन्दिर निर्माणाधीन छ । आगामी वर्षको असार १६ गते निर्माणकार्य सम्पन्न गर्ने गरी २०७९ मंसिर ६ मा ब्रेभ कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको हो ।
ठेक्का सम्झौतालगत्तै पुस १ देखि निर्माणकार्य सुरु भएको उक्त मन्दिरको संचरना बिग्रिसकेको देखिएपछि निर्माणकार्य वैशाखदेखि बन्द भएको मन्दिरका महन्त (पुजारी) शम्भुशरण दासले बताउनुभयो । शास्त्रअनुसार गजुरको केन्द्र र शक्तिपीठ सिधाइ हुनुपर्नेमा अन्यथा हुन गएको उहाँको भनाइ छ । ‘मन्दिरको जग ढलान हुँदादेखि नै गजुरको बीचमा मर्चवारी माईको शक्तिपीठ नपर्ने देखिएको ठेकेदार समेतलाई बताए पनि कसैले वास्ता नगर्दा बिग्रिएको हो,’ पुजारी शम्भुशरणले भन्नुभयो, ‘यो शास्त्रोक्त कुरा हो, यसमा सम्झौता हुँदैन ।’
मर्चवारीदेवी मन्दिरको भौतिक संरचना निर्माणका क्रममा त्रुटि भए पनि सँगै निर्माण भइरहेको रामजानकी मन्दिरको भने डिपीआरमै त्रुटि देखिएको उहाँको भनाइ छ । ‘साबिकको रामजानकी मन्दिरभित्र श्रद्धालुका लागि परिक्रमा गर्ने ठाउँ थियो, जुन आवश्यक पनि छ । तर निर्माणाधीन मन्दिरमा त्यस्तो छैन,’ उहाँले भन्नुभयो, ‘एउटा रुख जोगाउन मन्दिरको संरचना नै बिगारियो । मन्दिरको अगाडि उत्तर–पूर्व कुनामा रहेको आँपको रुख स्थानीय केही व्यक्तिले हटाउन नदिएपछि ठेकेदार कम्पनीले मन्दिरको संरचना करिब डेढ फिट पश्चिम सारेर निर्माण थालेपछि माथिको गजुर र शक्तिपीठको सिधाइ फरक परेको हो ।’
‘पूर्वस्थापित प्राचीन शक्तिपीठ, निर्माणाधीन मन्दिरमाथि राखिने गजुरको ठीक तल हुनुपर्ने हो । अन्यथा मन्दिर र शक्तिपीठको कुनै मेल रहँदैन,’ पुजारी शम्भुशरणले भन्नुभयो, ‘निर्माण कम्पनी, मन्दिर व्यवस्थापन समिति, प्राविधिक र धार्मिक अध्येतालगायतका सरोकारवालाले विचार–विमर्श गरी सच्याएर मात्र अघि बढ्नुपर्छ ।’
‘भत्काइएको पुरानो मन्दिरअगाडिको आँपको रुख जोगाउन संरचना डेढ फिट पश्चिम सारेका थियौं,’ ठेकेदार कम्पनी ब्रेभ कन्स्ट्रक्सनका सञ्चालक अमित श्रीवास्तवले भन्नुभयो, ‘निर्माणाधीन भवनको सिंगो संरचना त सारियो तर शक्तिपीठ भने उही ठाउँमा रहने भएकोले गजुरको बीचमा नअटाएर ढोका छेवैमा हुँदा भद्दा देखिएको छ ।’
प्राप्त सुझावअनुसार गल्ती सच्याउन विशेषज्ञसँग परामर्श गरिरहेको र व्यवस्थापन समितिसँग छलफल गरी निर्माणकार्य अगाडि बढाउने उहाँको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू