आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो

रामविकास चौधरी/रूपन्देही

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ स्थित मुसहर बस्ती कठहवामा पहिलो पटक पक्की सडक निर्माण हुँदै छ। सडकको निर्माण कार्यबाट विपन्न बस्तीका बासिन्दा खुसी त छन्, तर सो कार्यमा मुख्य सेवाग्राही रहेको ४० घरपरिवार मुसहरहरूको सहभागिता छैन ।

“पहिला आलिजस्तो हिलाम्मे बाटो घर पुग्नु पर्दथ्यो, अब त्यो पीडा हटेकोमा खुसी छ”, गाउँमै पहिलो एसइई परीक्षा दिएका उमेश मुसहरले भने, “तर सडक निर्माणबारे आफूहरूलाई केही पनि थाहा नभएको बताए ।  सधैँभरि मिहिनेत मजदुरी गरी गुजारा चलाउने हामीले काम नपाउँदा दुखित पनि छौँ ।”

स्थानीयले सो सडक निर्माणको कार्य आफैँले गर्न चाहन्थे । उनीहरूको तर्क छ, “यसले रोजगारीको अवसर दिन्थ्यो र आर्थिक सहयोग पुराउँथ्यो । गुड्डु मुसहर (५५) ले भने, “हामी मजदुर हौ, कडा परिश्रम गर्छौँ । यो काम हामी आफैँमा गर्न सक्ने क्षमता छ, तर बाहिरबाट कामदार ल्याएर हामीबाट रोजगार खोसिएको छ । “सधैँभरि काम खोज्दै हिँड्ने हामी मजदुरहरू आफ्नै गाउँमा निर्माण कार्यको रमिते मात्र देखिएका छौ“ स्थानीय बन्हु मुसहर (४५)ले भनिन्, “पक्की सडकमा हिँड्न पाउँदा हामी खुसी छौ, हिलोमा हिँड्ने हाम्रो बाध्यता हटेको छ, सरकारको योगदान सराहनीय छ, तर निर्माण कार्यमा योगदान हुन नसक्दा हाम्रो असन्तुष्टि छ ।

सङ्घीय सरकारमा ५ पटक मन्त्री भइसकेका हृदेश त्रिपाठीको आलिसान महलबाट एक सय मिटर नजिकै कठहवाको त्यो विपन्न बस्तीमा विकास छैन । लुम्बिनी प्रदेश सरकार खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले पुँजीगत निर्माण खर्चबाट छुट्टाएको रकमबाट त्यहाँ पहिलो पटक सार्वजनिक सडकको पिसिसि ढलान हुँदैछ ।

सहरी विकास तथा भवन कार्यालय रुपन्देहीका इन्जिनियर अरविन्द मण्डलले कुनै पनि निर्माण कार्यमा स्थानीयको सहभागिता अर्थपूर्ण र महत्त्वपूर्ण रहने गरेको बताए । उनले भने, “यसबारे सोधखोज गरी ठेकेदार कम्पनीले सहकार्य गरेर काम गर्दा उपयुक्त हुनेछ, जो स्थानीयको अधिकार र ठेकेदार कम्पनीको कर्तव्य पनि हो ।”

सहरी विकास तथा भवन कार्यालय रुपन्देहीबाट एक सय ३३ मिटर सडक निर्माण कार्यको ठेक्का पाएको पैयु कन्सट्रक्शन एण्ड सप्लायर्स प्रालीका सञ्चालक खेमानन्द न्यौपानेले भने, “स्थानीय नपाएर बाध्यता बस बाहिरबाट कामदार ल्याउनु परेको हो ।“ त्यहाँ काम गरिरहेकाहरू कम्पनीका नियमित कामदार मात्र भएको उनले बताए । न्यौपानेका अनुसार- “स्थानीयकै सहभागितामा हामीले सो निर्माण योजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न चाहन्छौँ । “विपन्न बस्तीमा विकासको किरण ल्याउने निर्माण कार्यले स्थानीयलाई रोजगारी दिने कुरामा ध्यान दिनुपर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।

उनले भने, “प्रदेश सरकारले उसको कुनै पनि योजनामा हामीसँग समन्वय गर्दैन । तर पनि संवादमार्फत सबैको हित हुने गरी निर्माण कार्य सम्पन्न गर्न हामी सहयोगरत छौ ।” गाउँपालिका अध्यक्ष यादवले स्थानीय मजदुर र श्रोत साधनको अधिकतम प्रयोग गर्न सरोकारवालालाई सुझाए । उनले भने, “हुन त पालिकाको बजेट होइन । प्रदेश सरकारको योजना हो । जब कि प्रदेश सरकारले हामीलाई र हामीले प्रदेश सरकार लाई चिने, देखेका छैनौ तर पनि राम्रो कामको समर्थन गर्दै, स्थानीयलाई तत्काल काम दिन अनुरोध छ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link