लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर

रामविकास चौधरी/रूपन्देही

लुम्बिनी विकास कोषको पडरिया गाउँ स्थित प्रवेशद्वार भित्र सर्वसाधारणका लागि रोक लगाइएका कारण मायादेवी सुत्केरी पथ हुँदै मायादेवी मन्दिरसम्म जान चाहने यात्रुको लागि बाटो बन्द भएको छ । यो रोकका कारण धार्मिक आस्थाका यात्रुमा समेत निराशा उत्पन्न भएको छ ।

मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवाहुदै तिलौराकोट दरबारसम्मको करिब ३६ कि.मी.बाटोलाई मायादेवी सुत्केरी पथ भनिन्छ । लुम्बिनी क्षेत्र विकास कोषले सो पथ लुम्बिनी गुरुयोजना विपरीत रहेको भन्दै आवतजावतमा रोक लगाएको हो । बुद्ध बचनको प्रचार–प्रसार संसारभरि भइरहँदा उहाँको जन्मसँग सम्बद्ध मायादेवी सुत्केरी (लुम्बिनी–तिलौराकोट) मार्गको प्रचार–प्रसार, संरक्षण र प्रवर्धनमा सरोकारवालाको ध्यान नपुगेको लुम्बिनी सांस्कृतिक नगरपालिका –६, पर्सा चोक बस्ने ६४ वर्षीय अभियानकर्ता मेघनाथ आचार्यको गुनासो छ ।

२०७७ साल मङ्सिर महिनामा मायादेवी सुत्केरी मार्ग पछ्याउँदै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले साइकल यात्रा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीबाट गोरेटो, ग्राभेल र कालोपत्रे सडक हुँदै ४ घण्टामा शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका थिए । उक्त मार्गलाई पर्यटन प्रोडक्ट बनाउने अवधारणा लुम्बिनी विकास कोषका तत्कालीन सद्भावना राजदूत तथा पर्यटनविद् विक्रम पाँडेकाजीले ल्याएका थिए । तर मायादेवी सुत्केरी भएपछि शिशु सहित तिलौराकोट दरबार फर्किएको बाटोको अवस्था विकासका बाबजुद अहिलेसम्म ओझेलमा छ ।

“बुद्ध गर्भावस्था रहँदा र उनको जन्मपछि शिशु सहित महारानी मायादेवी यही बाटो हुँदै तिलौराकोटको यात्रा गरेकोले धार्मिक इतिहाससँग यो पथको गहिरो सम्बन्ध छ”, मायादेवी मन्दिरका निवर्तमान पुजारी पण्डित योगेन्द्रनाथ पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार- “यो पथले मायादेवीको सुत्केरी यात्राको सम्झना दिलाउँछ । लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकानन्दका अनुसार: “मौर्य सम्राट् अशोकले आफ्नो आध्यात्मिक गुरु उपगप्तको मार्ग दर्शनमा इ.पू. २४९ंमा, उहाँपछि चिनिया यात्रीहरू त्सेग साई (चौथो शताब्दी), फहियान (पाचौँ शताब्दी), र ह्वेन सांग (सातौ शताब्दी) यही सुत्केरी पथबाट लुम्बिनी प्रवेश गरेका थिए ।”

“सन् १३१२मा कर्णाली क्षेत्रका राजा रिपु मल्ल पनि यही पथ हुँदै मायादेवी मन्दिर क्षेत्र प्रवेश गरेका थिए”, उनले भने, “अङ्ग्रेज भारतका पुरातात्त्विक सर्भेवर एलोइस फुहरर(सन् १८९६), पि.सी. मुखर्जी(सन् १८९९) र भारतीय पुरातत्त्व विद् श्रीमती देवला मित्राले सन् १९६२मा लुम्बिनीको अन्वेषण गर्दा खुनगाइ र पडरिया गाउँ हुँदै यसै पथबाट बुद्ध जन्मस्थल पुगेका थिए ।”

मायादेवी मन्दिरको बन्द अवस्थामा रहेको पूर्वीद्वार ।

“लु.साँ.नपा.– ३ पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई बन्द गरि लुम्बिनी विकास कोषले संरक्षणमा समेत ध्यान नदिँदा मायादेवी सुत्केरी पथ विस्मृतिको गर्तमा जाने खतरा छ”, बौद्ध भिक्षु विवेकानन्दले भने, “यो पथ भौतिक संरचना मात्र नभई धार्मिक तथा ऐतिहासिक धरोहर पनि हो, त्यसैले यसलाई प्रभावकारी व्यवस्थापनका साथ पुनः सञ्चालन गरिनु पर्छ ।”

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले धार्मिक आस्थाको सुत्केरी मार्गलाई बुद्ध जन्मस्थल लुम्बिनीमै बन्देज लगाएर धर्म, संस्कृति र इतिहासमाथि प्रहार भइरहेको बताए । उनले भने, “लुम्बिनी विकास कोषले मायादेवी सुत्केरी पथको पडरिया गाउँ स्थित प्राचीन प्रवेशद्वारलाई सर्वसाधारण लगायत धार्मिक यात्रु समेतका लागि खोलिनुपर्छ ।”

“सुत्केरी पथको संरक्षण–प्रवर्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने महाअभियानको माग छ”, संयोजक खाँले भने, “स्थानीय सितको सहकार्य बिना कुनै कार्यक्रम सफल हुन सक्दैन तसर्थ, उनको प्रत्यक्ष सहभागितामा आधारित योजना बनाउनुपर्ने आवश्यकता छ ।”

“बुद्ध जन्मस्थल लुम्बिनीको गौरवलाई ध्यानमा राख्दै, सरोकारवालासँगको सहकार्यमा यो पथको संरक्षण–प्रवर्द्धन हुनुपर्दछ”, लुम्बिनी बौद्ध विश्व विद्यालयका सहायक प्राध्यापक गुप्ताले भने, “धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन विभिन्न पर्यटकीय सुविधाका साथ यसको व्यवस्थापन हुनुपर्छ, जसले स्थानीयको अर्थतन्त्रलाई टेवा पुर्‍याउन सक्छ ।”

ऐतिहासिक दस्ताबेज र प्रमाणित तथ्यहरूको आधारमा मायादेवी सुत्केरी मार्गको बारेमा थप अनुसन्धान गर्नुपर्नेमा गुप्ताले जोड दिए । उनले भने, “सुत्केरी पथले लुम्बिनीको महत्वलाई अझ ओजिलो बनाउँछ । यसले इतिहासको मात्रको संरक्षण नभई विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई मायादेवी सुत्केरी मार्गको महत्वबारे जानकारी गराउन मद्दत मिल्नेछ ।”

तथागत (महामानव बुद्ध)ले गृह त्याग गर्दा यही सुत्केरी मार्ग भएर पवित्र अनोमाघाट (अहिलेको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अजमाघाट)बाट दानवनदी पार गर्दै मावली नगर देवदह र मधगको राजगीर नगरहुदै बोधगयासम्म पुग्नुभएको गुप्ताको दाबी छ । त्यस कारणले पनि पवित्र सुत्केरी मार्गको संरक्षण–प्रवर्धन गर्नुपर्ने उनको भनाइ छ ।

यस सम्बन्धमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, “हामीले लुम्बिनी विकास कोष क्षेत्र स्थित मायादेवी सुत्केरी पथलाई व्यवस्थापन गर्न विभिन्न कदमहरू उठाएका छौँ । यो पथ ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले यसको व्यवस्थापनमा विशेष ध्यान दिँदै सुत्केरी मार्गलाई संरक्षित राख्ने प्रयासमा हामी छौँ ।”

“लुम्बिनी विकास कोष क्षेत्रको पडरियादेखि मायादेवी मन्दिरसम्मको सुत्केरी मार्ग खण्डलाई व्यवस्थित गर्न स्थानीय सितको सहकार्यमा चाँडै नै एउटा खाका कोर्न गइरहेका छौ । जसका लागि केही बजेट पनि प्रस्ताव गरेका छौ”, सदस्य सचिव शाक्यले भने, “आकर्षक शैलीमा यो पथलाई नवनिर्माण गर्ने, चारैतिर हरियाली बढाउने, नियमित सरसफाइ गर्ने, पर्यटकलाई यसको महत्त्व बुझाउने र जानकारीमूलक बोर्डहरू राख्ने जस्ता कार्य कोषले चाँडै गर्न गइरहेको छ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link