लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले रुपन्देहीको मर्चवार क्षेत्र स्थित पुरातात्त्विक सम्पदा स्थल देउरवाको निरीक्षण भ्रमण गरेका छन्।
सदस्य सचिव शाक्य सहितको लुम्बिनी विकास कोषको टोलीले पछिल्लो समयमा बुद्धको मावली ‘देवदह’ दाबी गरिएको स्थान ‘देउरवा स्तूपा’ क्षेत्रको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षणले मर्चवार क्षेत्रको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक पहिचानलाई प्रवर्द्धन गर्न थप हौसला मिलेको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरइले बताए ।
बरइले भने, ‘लुम्बिनी विकास कोषको साथ र सहयोगमा अब देउरवा स्तूपा, मर्चवारीमाइ स्थान र अन्य महत्त्वपूर्ण सम्पदा स्थलको संरक्षण र बिकास गर्न सहज हुनेमा विश्वस्त छु, निरीक्षणको उद्देश्य बुद्ध मावली दाबी गरिएको मर्चवारी–२ स्थित ‘देउरवा स्तूपा’ क्षेत्रको पहिचान र संरक्षणविहीन अवस्थामा रहेका अन्य धार्मिक तथा पुरातात्त्विक सम्पदा स्थलका लागि सुधारात्मक कदम चाल्नु हो ।’
शाक्यको निरीक्षण भ्रमणले यहाँको विकासमा सकारात्मक प्रभाव पार्नेछ, अध्यक्ष बरइले भने। ढिस्कोजस्तो देखिने स्तूपाको भाग खनेर खेतीका लागि अतिक्रमण गर्न खोज्दा त्यहाँ जमिनमुनिबाट मौरी, कालो बारुलो, बिच्छी र ठुलठुला विषधारी सर्प देखा परेको अध्यक्ष बरइले सुनाए । स्तूपाको करिबबाट सय मिटर दक्षिणतर्फ पुरिएर रहेको इनार केही वर्ष पहिला सिचाइका लागि सफाइ गर्दा प्राचीन कालमा प्रयोग गरिने माटाका भाँडा वर्तन, पानी पिउने टुइयाँ लगायतका चीज बस्तु फेला परेको उनले बताए । त्यो स्थान प्राचीन देवदह नै भएको उनको दाबी छ ।
सम्पदा स्थलको उत्खनन र पहिचानका लागि स्थानीय सरकारसँग पर्याप्त स्रोत–साधन छैन । यसको संरक्षण र विकासप्रति पुरातत्त्व विभाग, सङ्घ र प्रदेश सरकार समेतले चासो नदेखाएको अवस्थामा लुम्बिनी विकास कोषका सदस्य सचिवको ध्यानाकर्षण र निरीक्षणले यसको विकास हुनेमा विश्वास जागेको गाउँपालिका अध्यक्ष बरइले बताए । त्यहाँ माटोको ढिस्को जस्तो देखिने गोलाकार अग्लो भाग बौद्ध स्तूपा भएको बरइको दाबी छ ।
‘केही वर्ष पहिला ढिस्को खन्न गएको एक्स्काभेटर बिग्रियो । पछि स्थानीय एक व्यक्तिले त्यहाँको माटो खन्दै गर्दा मानसिक सन्तुलन गुमाए ।’ त्यसैले त्यहाँ बाँकी रहेको चैत्यजस्तो देखिने १० कट्ठा जग्गा अतिक्रमण हुन सकेन ।’ अध्यक्ष बरइले भने ।
मर्चवारीमा पर्ने सुमेरगढको देउरवा स्तूपा, सम्मरीमाइस्थित सिद्धनाथको शिद्धबाबा–सुदेसर तथा लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित अमहवा (निपनिया) र बन्जरहीलगायतका ठाउँमा रहेका संरक्षणविहीन प्राचीन संरचना, पुरातात्त्विक स्थलका रूपमा चिनिन्छन् । ती संरचना चौपायाको चरन र गोबर गोइठा बनाउने स्थल भएका छन् । मर्चवारबासीले त्यही देउरवालइ नै भगवान् बुद्धको मामाघर दाबी गर्दै छन् । सामाजिक सञ्जालदेखि त्यहाँका चौराहाहरूमा यस विषयमा दैनिक जसो बहस हुने गरेको छ ।
देवदह नगरपालिकाले खैराडाडा क्षेत्रलाई मावली देवदह मान्दै उत्खनन पनि थालेको छ । यस विषयमा सबैले अ–आफ्नो दाबी गरिरहँदा प्रमाण अभावमा अन्योल देखिन्छ । प्राचीनकाको पनपथवा इँटाबाट बनेको संरचना देउरवा ( बुद्ध मावली दाबी गरिएको देवदह)को जमिन मुनी लुकेको छ । त्यहाँ खन्दा/जोत्दा त्यसमुनि लुकेर रहेका संरचना देखिनुका साथै केही इनार र माटाका भाँडाकुँडासमेत एक–एक गर्दै हराइरहेका छन् । पुरातात्त्विक सम्पदाका अलिखित दस्ताबेज देखिने त्यो स्थलको संरक्षण गर्नु जरुरी छ ।
दक्षिण, पूर्व हुँदै बगेको हगनीनाला, दण्डपाणि ऋषिका नामले नामाङ्कित दण्डा नदीमा मिसिएर उत्तर, पूर्व र दक्षिण किनारालाई घेरेको छ । पश्चिम किनाराबाट घोघी र गैडहवानाला दण्डा नदीमागई मिसिएको छ । रायपुर गाउँतर्फबाट एक मात्र साँगुरो स्थल निकास छ । यसले प्राचीन कालमा त्यहाँ शक्तिशाली नगरको जल दुर्गाको सङ्केत गर्छ । परासीको रामग्राम र कपिलवस्तुको गोटिहवाको जस्तै देखिने ढिस्को आकारको त्यो संरचना बौद्ध स्तूपाको हुन सक्ने बौद्ध धर्मसम्बन्धी शोधकर्ता भोला गुप्ताको भनाइ छ ।
जापानको ‘फन्ड इन ट्रस्ट’को आर्थिक सहयोगमा युनेस्को, बेलायतको बुरहाम विश्वविद्यालय, जापानको टोकियो विश्वविद्यालय, लुम्बिनी विकास कोष र पुरातत्त्व विभागका पुरातत्त्वविद्हरूको संयुक्त अध्ययन टोलीले करिब ७ वर्ष पहिले त्यो क्षेत्रको बाह्य अध्ययन गरी त्यहाँ बोर्ड समेत लगाएको छ । ’बौद्ध सम्पदा स्थलहरूको संरक्षण र विकासका लागि कोषले उत्खनन, पहिचान र बृहत्तर लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने लगायतका कार्यहरू गरिरहेको छ‘ लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने ।
निरीक्षण कार्यबाट लु.बि. कोषलाई त्यहाँका धार्मिक तथा पुरातात्त्विक क्षेत्रको वर्तमान अवस्थाको वास्तविक तस्बिर प्राप्त गर्न र आगामी कार्य योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मार्गदर्शन गर्ने सदस्य सचिव शाक्यले बताए ।
सदस्य सचिव शाक्यले भने ’जसरी बुद्ध जन्मस्थलको रूपमा लुम्बिनी विश्वभर प्रसिद्ध छ, त्यसैगरि काखैमा रहेको मर्चवार क्षेत्रको धार्मिक तथा पुरातात्त्विक सम्पदाको विकास र संरक्षणमा गरिएको कुनै पनि पहलले न केवल स्थानीय समुदायलाई फाइदा पुर्याउँछ, अपितु विश्वभरका बौद्ध धर्मावलम्बी, अध्येता र पर्यटकहरूको लागि पनि महत्त्वपूर्ण छ।‘ उत्खनन र अनुसन्धान बिना कुनै पनि स्थानको सत्य–तथ्य यकिनका साथ भन्न नमिल्ने हुनाले मर्चवारी गाउँपालिकाले साझेदारी गर्न चाहेमा पहिचान कार्यका लागि लुम्बिनी विकास कोषले सक्दो सहयोग गर्न तयार रहेको उनले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू
- लुम्बिनीको मायादेवी मन्दिरमा राखियोअनधिकृत मूर्ति