बुटवलमा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयो।
मेलाको उद्घाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले कामका लागि बाहिर जाने प्रवृत्ति रोक्न र उद्योगी–व्यवसायीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी तारतम्य मिलाउन राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढे–लेखेका युवाहरु कामको खोजीमा बाहिरिरहेको कुरालाई मध्येनजर गरी कसरी दुवै पक्षको आवश्यकता पूर्ति गर्न सकिन्छ भनेर रोजगार मेला गरिएको बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेको बताउनुभयो। यहाँका उद्योगमा काम गर्न बाहिरबाट ल्याउनुपर्ने जनशक्ति यहीँबाट पूर्ति गर्न सकेको खण्डमा उद्योगी–व्यवसायीलाई पनि सहज हुने धारणा राख्नुभयो।
इन्टरनेसनल लेबर अर्गनाइजेसन (आईएलओ) का नेसनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारीमा प्रवर्धन गर्न मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। सीप, श्रम र रोजगारी सबैको अधिकार भएको उहाँको भनाइ छ।
यस्तै बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाका लागि विदेश जानेहरुका कारण जनशक्तिसँगै पुँजी पनि पलायन भइरहेको बताउनुभयो। यो क्रम नरोकिए नेपालको उत्पादन बन्द हुने र पूर्णरूपमा आयातमा भर पर्नुपर्ने स्थिति आउने बताउनुभयो।
उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले रोजगार मेला गरिएको हो। महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिवृद्धि परियोजनाअन्तर्गत स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फिर्ता भएका युवा एवं रोजगारदातालाई सम्पर्क गरी रोजगारी प्रवर्धन गर्ने उद्देश्यले रोजगारदातासमेतको सहभागितामा मेला सञ्चालन गरिएको संघका महासचिव विमलराज भट्टराईले बताउनुभयो।
मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी रहेका र ३ सय जनालाई रोजगारीको अवसर पनि रहेको आयोजकले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग
- पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म
- तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने
- दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
- ६ अर्ब १८ करोडको लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल बन्ने
- लुम्बिनीमा सबैभन्दा बढी मातृ मृत्युदर
- ‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट
- गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट
- धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
- लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना