गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट

चन्द्रकान्त खनाल/रूपन्देही

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको  छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गरेर गुल्मी जिल्लामै उत्कृष्ट पालिका बनेको छ । चन्द्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले ९३.२५ प्रतिशत, मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

मदाने गाउँपालिकाले ९१.२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६.२५ प्रतिशत, इस्मा गाउँपालिकाले ८५.५ प्रतिशत र छत्रकोट गाउँपालिकाले ८२.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

स्थानीय तहहरुमा आर्थिक वर्ष २०७९/०८० मा गरेका क्रियाकलापका बारेमा मूल्याङ्कन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम मूल्याङ्कन गरिएको रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो  ।

कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी दश वटा क्षेत्रका १०० सूचकमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिई आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न आर्थिक वर्ष २०७६÷०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गरिँदै आएको छ ।

यता, रेसुङ्गा नगरपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको पनि नतिजा सार्वजनिक भएको छ । यस नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८२.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन, २०७७ बमोजिम योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखा परीक्षण, राजस्व व्यवस्थापन गरी पाँच क्षेत्रका १०० सूचकमा मूल्याङ्कन गरिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा जिल्ला समन्वय समितिबाट पृष्ठपोषण भए पश्चात् सार्वजनिक गरिने व्यवस्था रहेको छ । धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले  भन्नु भयो हामी पहिलो कार्यकाल देखी जुन स्पिडमा काम गरेका छौ त्यो अहिले मूल्याङ्कन भएको छ खुसीको कुरा हो हामी आफ्नो गतिलाई निरन्तरता दिँदै पूर्वाधारमा भन्दा स्वास्थ्य शिक्षा तथा मानवीय विकाससँग जोडिएका कुरालाई बढी प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link