‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

लुम्बिनी केबलकारमा आठ महिनामा करिब दुई लाख पर्यटकले गरे यात्रा

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देहीको बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ मात्र कायम गर्ने घोषणा गरेको हो।

केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताउनुभयो। नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उहाँले बताउनुभयो। कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दसैँ तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास रहेको सैंजूले बताउनुभयो।

केबलकारको टिकट दर एक हजार रुपैयाँ कायम गरिए पनि सञ्चालनमा आएसँगै नेपालीका लागि ७५० रुपैयाँ कायम छ।  बुटवलको गोलपार्क बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। आठ महिनामा करिब दुई लाख पर्यटक केबलकारको यात्रा गरी पाल्पाको वसन्तपुर पुगेका कम्पनीले जनाएको छ।
डेढ दशकअघि प्रक्रिया अघि बढे पनि लगानी अभाव लगायत विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन। कूल ५ अर्ब लागतको आयोजना आईएमई ग्रेपले नेतृत्व लिएपछि १४ महिनामै निर्माण सम्पन्न भएको थियो। 
कम्पनीले प्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर बापत दिँदै आएको छ।

टिकट दरमा बुटवलको वडा नम्बर ३ र तिनाउ गाउँपालिकाको वडा नम्बर ३ का बासिन्दा, अपाङ्गतासहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाइ भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी र  ७० वर्षदेखि ८० वर्ष सम्मका ज्येष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कम उचाइका बच्चा र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ।

२५ वटा गोण्डोला (यात्रु बस्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। केबलकारको टप स्टेसनमा रेस्टुरेन्ट, जिप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन्। त्यस्तै २ वर्षभित्र एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ।

करिब १ सय जनालाई रोजगारी दिएको कम्पनीले पाँचतारे होटेल सञ्चालनमा आउँदा थप ५ सय बढीलाई रोजगारी दिन सक्नेछ। आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link