लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना 

पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन सकिदैन जनचेतना फैलाउन जरुरी : स्वास्थ्य मन्त्री खनाल

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देही लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ख्याउटेपना भएका बालबालिका पाइएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार देशमा सबैभन्दा बढी ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो ।

नेशनल डेमोग्राफि एन्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको छ।

प्रदेशका विभिन्न निकाय, सङ्घीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताइए पनि यसमा सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो ।

लुम्बिनीमा सबैभन्दा धेरै १६ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाइ वृद्धिमा समेत लिने गरिन्छ । स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख कौशल भण्डारीका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ प्रतिशत, कर्णालीमा ४ प्रतिशत, गण्डकीमा ४ प्रतिशत, बागमतीमा ५ प्रतिशत, मधेस प्रदेशमा १० प्रतिशत र कोसीमा ४ प्रतिशत रहेकोमा लुम्बिनीमा १६ प्रतिशत रहेका बताउनुभयो।

जुन तथ्यांकले प्रदेश सरकारलाई समेत गिज्याएको भन्दै आलोचना समेत भएको छ । मधेस प्रदेशपछि लुम्बिनी प्रदेश भन्दा ६ प्रतिशतले कम छ । दिगो विकास लक्ष्यका अनुसार नेपाल सरकारले कुल बालबालिका मध्ये ४ प्रतिशतमा ख्याउटेपनालाई रोक्ने लक्ष्य लिएको थियो ।जसमा नेपालमै ४ प्रतिशत थप अर्थात् ८ प्रतिशत देखिएको हो भने लुम्बिनी प्रदेशमा त कुल ख्याउटेपनाको १६ प्रतिशत देखिएको हो ।

एनडीएचएस सर्भेअनुसार सन् २०२२ मा ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूको कुपोषणको अवस्थालाई १५ मा रोक्ने भनिएको थियो । तर यसमा थप ५ भई २५ पुगेको छ । यस्तै ख्याउटेपनालाई ४ प्रतिशतमा रोक्ने भनेकोमा ८ प्रतिशत र भने कम तौल को अवस्थालाई १० मा रोक्ने लक्ष्य रहेकोमा अहिले १९ प्रतिशत पाइएको छ । बालबालिकामा रहेको पुड्कोपनामा लुम्बिनी चौथो नम्बरमा रहेको छ ।

कर्णालीमा ३६ प्रतिशत, मेधमा २९ र सुदूरपश्चिममा २८ प्रतिशत रहेकोमा लुम्बिनीमा भने २५ प्रतिशत रहेको छ । कम तौल भएका बालबालिकाहरूमा पनि लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएकोमा त्यसपछिको लुम्बिनीमा २५ प्रतिशत बालबालिकामा कम तौल पाइएको हो ।

फोकल पर्सन भण्डारीका अनुसार स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले प्रदेशका दुई वटा जिल्ला रुकुम पूर्व र कपिलवस्तु जिल्लामा पोषणको अवस्थाको विषयमा विशेष सर्वेक्षण समेत गरेको थियो । जसअनुसार कुपोषणबाट ग्रसित बालबालिका कपिलवस्तुमा पुड्को पना ४६.१ प्रतिशत बालबालिका, ख्याउटेपना १०.३ प्रतिशत र कम तौल भएको ३६.२ प्रतिशत रहेको छ।

प्रदेशका बालबालिकामा रक्त अल्पताको अवस्था पनि गम्भीर पाइएको छ । जसमा ४९ प्रतिशत बालबालिका रक्त अल्पताको सिकार भएका छन्। देशभरमा सबैभन्दा बढी मधेसमा ५१ प्रतिशत बालबालिका यसको सिकार भएका छन्। मधेस भन्दा जम्मा २ प्रतिशत मात्रै कम लुम्बिनी प्रदेशमा देखिएको हो ।

बालबालिका सँगै १० देखि १९ वर्षका किशोर किशोरीहरूमा गरिएको स्वास्थ्य तथा पोषणको अवस्थामा प्रदेशमा रक्त अल्पता ३९ प्रतिशत, कम तौल २५ प्रतिशत र किशोरीहरूमा अधिक तौल मोटोपना ५३ प्रतिशत भेटिएको हो ।

५ वर्ष मुनिका बालबालिकामा ख्याउटेपन, पुड्कोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौती रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद कुमार गिरीले बताउनुभयो। बालबालिका, किशोरी र प्रजनन उमेरका महिलाहरूमा रक्त अल्पता अधिक रहेको पाइएको जानकारी दिँदै स्तनपान संरक्षण, संवर्धन र प्रवर्द्धनमा कमी हुँदै गएको गिरीले बताउनुभयो ।

उहाँले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु, किशोरी आइरन फोलिक एसिड कार्यक्रम, विद्यालयमा जुकाको औषधी वितरण पनि कम हुँदा समस्या आएको बताउनुभयो । यो विषयमा प्रदेशको मन्त्रालयबाट विभिन्न तहमा काम भइरहेको जानकारी दिँदै दिगो विकास लक्ष्यलाई प्रदेशले सहजतापूर्वक लिएर पुरा गर्ने अठोटका साथ लागिपरेको समेत निर्देशक गिरीको भनाई छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागी स्थानीय सरकारसँग मिलेर काम गर्नु पर्ने बताउनुभयो । स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले स्थानीय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न मन्त्री खनालले आग्रह गर्नुभयो।

पोषणको अवस्थाको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गर्दे बाल स्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन नसकिने र सचेतना फैलाएर गाउँघरमै पाइने पौष्टिक तत्त्वहरू उपभोग गर्ने वातावरण तयार गर्न सचेतना फैलाउनु स्वास्थ्य मन्त्रालय मातहतका निकायलाई मन्त्री खनालले निर्देशन समेत दिइएको बताउनुभयो।
 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link