दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान

चन्द्रकान्त खनाल/रूपन्देही

मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको अवसरमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पशुपन्छी सञ्जालसँग गरेको गोष्ठीमा निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुँवरले कृषि तथा पशुपालनको क्षेत्रमा यो भन्दा अझै धेरै योगदान गर्न सकिन्छ ।

उहाँका अनुसार प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही र बाँकेमा दूध र मासु दुवैको उत्पादन बढी छ । दूधको आयातले यहाँका किसानलाई केही समस्या भएको पनि उहाँले बताउनुभयो । उहाँले दूध तथा माछा मासुको उत्पादन बढाउनको लागि निर्देशनालय प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा किसान सङ्ख्याको तुलनामा प्राविधिक जनशक्ति कम रहेको बताउनुभयो । उहाँका अनुसार- ‘प्रदेशमा किसानको सङ्ख्या ५ लाख ८८ हजार ६५९ छ ।’ त्यस्तै प्रदेशमा प्राविधिक जनशक्ति १ हजार ३२ जना मात्रै छन् । यसले एक जना प्राविधिक जनशक्तिले ५७० किसानलाई हेर्नुपर्ने बाध्यता रहेको बताउँदै आवश्यकता अनुसारको जनशक्ति सिर्जना गर्न र त्यसरी सिर्जना गरिएको दरबन्दीमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भनाई राख्नुभयो । त्यति हुँदा हुँदै पनि चालु आर्थिक वर्षको ६ महिनामा किसानको घरघर पुगेर ३२ हजार पशुमा कृत्रिम गर्भाधान गराएको उहाँले जानकारी गराउनुभयो ।

प्रदेशमा दूधको उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ । साउन भदौसम्म गाई भैसीमा लम्पीस्किनको समस्याले गर्दा दूधको उत्पादन घटेको हो । तर अब लम्पीस्किनको समस्या सामान्य हुँदै गएको छ । त्यस्तै पशु चौपायामा देखिएको सबैभन्दा ठुलो समस्या खोरेत हो । त्यसको लागि पनि अब तत्कालै खोप लगाउने तयारी भएको उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै लुम्बिनीमा माछाको उत्पादन पनि राम्रो छ । नेपालमा २५२ प्रजातिका माछामध्ये लुम्बिनी प्रदेशमा अधिकांश माछा उत्पादन हुन्छ । मानिसको स्वास्थ्यको दृष्टिकोणले पनि माछा महत्त्वपूर्ण खाद्य बस्तु हो । माछाको उत्पादनसँगै त्यसको प्रशोधन र बजारीकरण पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

किसानलाई बिमाको क्षेत्रमा पनि समस्या छ । कृषिलाई प्रवर्द्धन, लगानी आकर्षण र कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्नको लागि कृषिमा बिमाको अवधारणा ल्याइएको हो । तर यसबाट किसानले लाभ भने लिन सकिरहेका छैनन् । अर्का कार्यपत्र प्रस्तोता नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्णबहादुर थापाले सरकारले दिनुपर्ने अनुदानको पैसा नदिँदा भुक्तानीमा समस्या भएको बताउनुभयो ।

कृषि बाली, जीवजन्तु र जडीबुटीमा बिमा पोलिसी जारी गरी नेपालमा ४४ अर्ब ५१ करोड ६९ लाख रुपैँया बराबरको सम्पत्तिको बिमा भएको जानकारी गराउनु भयो । जसबाट २ अर्ब १६ करोड ३७ लाख रुपैंयाको विमालेख भएको उहाँले जानकारी गराउनुभयो । कृषि प्रणाली बिग्रियो भने सबै प्रणाली बिग्रिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख परवेज आलम बताउनु हुन्छ । उहाँले पशुबाट मानिसमा सर्ने रोग बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार मानिसमा हुने सुरुवा रोग मध्ये ७५ प्रतिशत पशुबाट सर्ने गरेको छ । नयाँ नयाँ जङ्गली जनावरको संसर्गमा बस्ने, मासुको असुरक्षित प्रशोधन तथा उपभोग, जनावरको टोकाई जस्ता कारणले पशुबाट मानिसमा रोग सर्ने गर्दछ । मासु प्रोटिनको लागि राम्रो स्रोत हो । तर त्यसको असुरक्षित उपभोगले मानिसमा धेरै रोगको जोखिम बढाई रहेको छ ।

उहाँ भन्नुहुन्छ –‘रेबिज लागेपछि मानिसको मृत्यु नै हुन्छ । त्यस कारण कुकुर, बाँदर, न्याउरी मुसा, स्याल, ब्वाँसो जस्ता जनावरले टोकेपछि अनिवार्य रेबिज विरुद्धको खोप लगाउनुपर्छ ।’

त्यस्तै लामखुट्टेको टोकाइबाट डेंगु, जापनिज इन्सेफ्लाईटिस जस्ता रोग हुन सक्छ । त्यस्तै गरी कुखुराबाट वर्ड फ्लु सर्न सक्छ । बङ्गुरको शरीरमा हुने टेपवर्म राम्रोसँग नपकाई खाँदा त्यो मानिसको शरीरमा प्रवेश गर्न सक्छ । उहाँका अनुसार एचआईभि एड्स पनि पशु (चिम्पान्जी)बाट नै मानिसमा आएको हो ।

पछिल्लो समय पशुबाट मानिसमा सरेको रोगले फोक्सोमा हानेको उहाँले बताउनु भयो । वर्ड फ्लु, स्वाईन फ्लु, कोरोना यसको उदाहरण हुन् । यस कारण यी सबै कुरामा सचेत भएर मासुको प्रयोग र ती जनावरको संसर्गबाट टाढै बस्नुपर्ने उहाँले सल्लाह दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पशुपालन तथा कृषि कर्म गर्ने किसान सबै क्षेत्रबाट मारमा परेको बताउनु हुन्छ । उहाँका अनुसार किसानले गरेको उत्पादन बेचबिखनको लागि राम्रो बजार छैन, बेचबिखन गरेको बस्तुको उद्योगले भुक्तानी दिँदैन, बिमा कम्पनीले क्षेतीको दाबी भुक्तानी गर्दैन ।

यस्तो देशमा कहाँबाट कृषिको प्रवर्द्धन हुनसक्छ ? उहाँले प्रश्न गर्नुभयो । किसानलाई उत्साहित भएर काम गर्ने वातावरण नबनाउँदा सम्म कृषि क्षेत्रको विकास हुन पनि सक्दैन भने आयात अझै बढेर जानेछ । उहाँले भन्नुभयो–‘आयात प्रतिस्थापन र निर्यातको कुरा टाढा छ ।’

कृषि मेलाको अवसरमा शुक्रवार मेला स्थलमा प्राङ्गारिक खेती हालसम्मको प्रयास, उपलब्धि र अबको बाटो तथा जीवनाशक विषादी प्रयोग प्रभाव र विकल्प विषयमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गरिएको सङ्घका कार्यसमिति सदस्य तथा तालिम गोष्ठी समितिका संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । उहाँका अनुसार त्यस्तै गरी भोली कृषि बस्तुको बजारीकरणको विषयमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।

यही फागुनको १० गतेदेखि सुरु भएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला १४ गतेसम्म सञ्चालन गरिने छ । मेलामा माटो परीक्षण तथा बाली परीक्षण शिविर पनि सञ्चालन गरिएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link