तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने

चन्द्रकान्त खनाल/रूपन्देही

निजी क्षेत्रको लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको खेलमैदानमा एक्स्ट्राटेक लिजेन्ड कप हुन लागेको छ ।

तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरूप उक्त प्रतियोगिताका लागि जर्सी प्रदान गरिएको छ । टी–१० संरचनामा हुने एक दिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार वटा टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् ।

पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बिचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरू रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरू रहेका छन् ।

नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बद्री पङ्गेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन् ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ । एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले ९ महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिनु भयो । उहाँले छोटो समयमा पनि खेलकुद मैदान बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिएको बताउनुभयो ।

रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले सङ्घको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सङ्घका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्लले रुपन्देहीमा अर्को क्रिकेट खेलमैदान थपिएको भन्दै खुसी व्यक्त गर्नु भयो । लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले केही महिनामै क्रिकेट खेलमैदान तयार भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीलाई क्रिकेट हब बनाउन यो खेलमैदानले सहयोग गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालमा खेलकुदको दायरा फराकिलो छ भनेर बुझ्नुपर्ने बताउनुभयो ।

जर्सी पार्टनर निभियाका राजन महर्जनले रुपन्देहीका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा योगदान पुराएको चर्चा गर्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link