धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनी प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र गौमुखी प्युठान जिल्लामा रहेको छ । जुन प्युठान जिल्लाको स्वर्गद्वारी पछिको दोस्रो ठुलो तीर्थस्थल हो । यो पवित्र धार्मिक स्थल गौमुखीबाट पालिकाको नामकरण गरिएको छ । यो स्थल गौमुखी गाउँपालिकाको वडा नं. २ मा रहेको छ ।

समुद्री सतहबाट करिब एक हजार आठ सय मिटर उचाइमा रहेको गौमुखी गुफाको अधिकतम लम्बाइ ४५ फिट, चौडाइ १८ फिट र उचाइ २० फिट रहेको छ । गुफाको प्रवेशद्वार भने साँघुरो रहेको छ । गुफा भित्र रहेको गाईको मुखाकार चट्टान भित्रबाट पानीको छाँगो निस्केकोले गुफाको नाम गौमुखी रहन गएको हो । गौमुखी गुफा झिमरूक नदीको उद्गम स्थल हो । 

धार्मिक मान्यता अनुसार गौमुखीको पानीले स्नान गर्दा अज्ञात पाप पखालिने विश्वास रहेको छ । गुफाभित्र अनुपम आकृति, चट्टानको बनावट, पानीको छहरा, न्यानो पानी र वायुको महसुस गर्न सकिन्छ । गुफाको पूजा गर्ने शैली पनि पृथक् रहेको छ । गौमुखी आसपासमा रहेका प्राकृतिक सुन्दरता भू बनोट, बाइसमूलको झरना, नाङ्गी लेक, दुई बहिनी भिर, समशीतोष्ण घना जङ्गल र सुन्दर गाउँको अवलोकन गर्न गौमुखी उपयुक्त स्थान रहेको छ ।

स्थानीय सरकार, केन्द्रीय सरकार तथा पर्यटन बोर्डबाट गौमुखी पर्यटन विकास र प्रवर्द्धनमा निरन्तर सहयोग हुँदै आइरहेको छ । गौमुखीको दर्शनमा दर्शनार्थीको सङ्ख्या पनि दिनानुदिन बढ्दै गरेको छ । प्युठान जिल्लाको धार्मिक तथा पर्यटकीय तीर्थस्थलका हिसाबले स्वर्गद्वारी पछिको दोस्रो ठुलो तीर्थस्थल गौमुखी हो । 

गौमुखी गाउँपालिका– २ अर्खाको लेखमा पर्ने गौमुखीमा स्थानीय कला संस्कृतिसँग रम्न, पर्यटकीय स्थलको अवलोकन गर्न पर्यटकहरू पुग्ने गर्दछन् । विकट ठाउँमा रहेको गौमुखी पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ र यहाँबाट मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।

के पाइन्छ गौमुखीमा 

गौमुखीको विशेषता गौमुखी गुफा, प्राकृतिक सुन्दरता कलाकौशल, भेसभुसा र संस्कृति हुन् । कृषि र पशुपालन गौमुखी क्षेत्रका बासिन्दाको मुख्य पेसा हो । उत्तरी प्युठानको बागलुङसँग सीमा जोडिएको गौमुखीबाट निस्केको पानीले नुहाएपछि मागेको पुग्ने विश्वास छ । जोडा नभएकोलाई जोडा हुने, छोराछोरी नभएकोलाई छोराछोरी हुने , बिरामी भएको मान्छे त्यहाँ पुगेर दर्शन गर्‍यो भने निको हुने जनविश्वास रही आएको छ । 

यहाँ प्युठान, रोल्पा, गुल्मी बागलुङ र अर्घाखाँचीका तीर्थयात्री नुहाउनकै लागि आउने गर्छन् । मुक्तिनाथ पुगेका तीर्थयात्री गौमुखी आएर नुहाएर स्वर्गद्वारीतर्फ लाग्ने गर्छन् । गौमुखीमा गाईको दूधको धार दिइन्छ । त्यस्तै शान्ति प्राप्ति गर्नका लागि परेवा उडाउने, फलफूल चढाउने, बाटेका दाम्ला चढाउने चलन रहेको अर्खा इनामका स्थानीय दुजमान घर्तिले बताउनुभयो । यहाँ माघे सङ्क्रान्ति विशेष मेला लाग्ने गर्दछ।

गौमुखीको संरक्षणमा जुट्दै स्थानीय

गौमुखी क्षेत्रको साबिकका दस वटा गाविसलाई समेटेर समुदायको प्रयासमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थालिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो । गौमुखी पुग्नको लागि फराकिला बाटो र रेलिङ निर्माण गरिएको उहाँले बताउनुभयो ।

दुर्गममा रहेको यस क्षेत्रको पर्यटन प्रवर्द्धनका  लागि सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । गौमुखीको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गत विगत देखि हाल सम्म पच्चीस लाख भन्दा बढी रुपियाँ बिनियोजन गरी काम गरेको उहाँले बताउनुभयो । ओखर कोटको रक गार्डेन, ऐतिहासिक कोट घर, झिमरुक आसपासका साना खोचबेशी, बाढिकोटको गढिकोट, पुजाँको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुषाराकोट, गुफाहरू, रजवाराको मगर संस्कृति र जातजातिको सङ्गमस्थल गौमुखीका मुख्य आकर्षण रहेको उहाँको भनाई छ ।

गौमुखी मगर समुदायहरूको बाहुल्यता बढी भएको ठाउँ हो । नागरिकको आर्थिक जीवनसँग सरोकार राख्ने गौमुखी क्षेत्रको कृषि पर्यटन ऊर्जा बन र उद्यमको विकासमा लगानी भएको छैन । योजनाबद्ध विकासको अभावमा पर्यटकीय गन्तव्य गौमुखी क्षेत्र छायामा परेको छ । आन्तरिक तथा बाह्य पर्यटनका लागि गौमुखी भौगोलिक विकटताले ओझेलमा परेको हो । गौमुखीलाई नुहाउने केन्द्रको गन्तव्य बनाउने अभियान सुरु गरिएको छ । केही वर्ष अघिदेखि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । गौमुखीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।

गौमुखी जाने पदमार्ग भौतिक संरचना बन्दै 

धार्मिक तथा पर्यटकीय तीर्थस्थल गौमुखीमा भौतिक संरचनाको निर्माण भइरहेको छ । अर्खा गाउँबाट करिब १ घण्टाको पैदल यात्रा पछि गौमुखीको पुग्ने गरिन्छ । पैदल अनि साँघुरो बाटोको जोखिमपूर्ण यात्रा गरेर गौमुखीमा पुगे पनि त्यस क्षेत्रमा बास बस्नको लागि भवन, खाना नास्ताको लागि होटेलको व्यवस्था नभएको स्थानीय उर्मिला पण्डितले बताउनुभयो । 

अर्खासम्म सडक बिस्तार भए पनि गौमुखीसम्म नै सडक विस्तार गरी सवारीसाधनमै यात्रा गर्ने वातावरण गाउँपालिकाले मिलाउनुपर्ने उहाँले बताउनुभयो । गौमुखीको संरक्षण पनि छैन । मन्दिर वरिपरि काँडेतार, सरसफाइ गरिनुपर्ने उहाँ बताउनुहुन्छ । मन्दिरमा गेटको व्यवस्था गर्न उहाँले गाउँपालिकालाई आग्रह गर्नुभएको छ । पर्यटकहरू गौमुखीको दर्शनका लागि पुग्नुहुन्छ, पण्डितले भन्नुभयो,–‘मन्दिरको पुजा गरेपछि फर्किने पर्यटकहरूलाई बस्ने खानेको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो।

नजिकका पर्यटकहरू भन्दा बाहिरी जिल्लाबाट आउने पर्यटकहरूलाई बस्ने, खाने स्थान नहुँदा समस्या भएको उहाँले बताउनुभयो । पर्यटकहरू बस्नका लागि पौवा बनाएको भएपनि बास बस्न नमिल्ने उहाँले बताउनुभयो । साथै यस क्षेत्रको छेउछाउ खोला रहेकाले पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसलाई जोगाउन तार जाली लगाउनुपर्छ । ’ प्युठानका प्रदेश सांसद निमा गिरीले गौमुखीको मौलिक अस्तित्व नमासिने गरी काम गर्नु पर्ने बताउनुभयो। त्यसलाई बजेट तथा अन्य केही पूर्वाधार निर्माण गर्नुपर्ने छ कि छैन भन्ने विषयमा अध्ययन भइरहेको र अध्ययन पछि आवश्यक बजेट विनियोजन गरेर धार्मिक तथा पर्यटन प्रवर्द्धनमा   अघि बढ्ने बताउनुभयो। गिरीले स्वर्गद्वारीको छेउ भएकोले पनि गौमुखीमा पर्यटन जान्छन् हामी स्थानीय प्रदेश मिलेर त्यो वातावरण बनाउँछौ ।

यसरी पुगिन्छ गौमुखी

महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुबाङदेखि ५८ किलोमिटर कालोपत्रे सडक पार गरेपछि व्यापारिक केन्द्र बाग्दुला पुगिन्छ । बाग्दुलादेखि करिब ४२ किलोमिटर कच्ची सड्क पार गरेपछि अर्खाको ठूलाचौर भन्ने गाउँमा पुगिन्छ । ठूलाचौर देखि करिब १ घण्टा पैदल यात्रा पार गरिसकेपछि गुल्मी र बागलुङको सिमानामा पर्ने गौमुखी पुगिन्छ ।

समुद्री सतहबाट १५ सयदेखि २५ सय मिटरसम्मको उचाइमा गौमुखी क्षेत्र अवस्थित छ । करिब डेढ सय वर्षअघि बागलुङ निसीका तगारा बुढामगरले भैँसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेको किंवदन्ती छ । त्यही गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यका आधारमा गौमुखी नामकरण गरिएको हो ।

गौमुखीमा पर्यटक बढे

गौमुखी मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । गौमुखी गाउँपालिका–२, अर्खा ठूलाचौरसम्म सडक राम्रो भएसँगै झिमरुक नदीको उद्गम स्थल गौमुखी पुग्ने पर्यटक पनि बढ्न थालेका छन् । गौमुखीमा माघे सङ्क्रान्तिको दिन नुहाउने मेला लाग्छ । माघीसँगै औँसी, पूर्णिमामा विभिन्न स्थानबाट तीर्थयात्री नुहाउन आउने गर्छन् ।  पर्यटन  लागी गाउँपालिकाले स्थानीय तह  र प्रदेशबाट काम भइरहेको अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो।

गौमुखी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले भन्नुभयो गौमुखीमा हरेक माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गर्दछ । गौमुखी माघी मेलामा सबै जना लाई चुल्हो निम्तो छ । पालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवर्द्धनको लागी काम गर्दे आएको छ । गौमुखी गुफा झिमरूक नदीको उद्गम स्थल हो ।

अर्कोतर्फ  गौमुखीको पानीले स्नान गर्दा अज्ञात पाप पखालिने धार्मिक विश्वास रहेको छ । गुफाभित्र अनुपम आकृति, चट्टानको बनावट, पानीको छहरा, न्यानो पानी र वायुको महसुस गर्न सकिने पौडेलले बताउनु भयो ।  यहाँ डाँफे, मुनालजस्ता चराचुरुङ्गी, विभिन्न रङ्गमा फुल्ने लालीगुराँसको दृश्य अवलोकन गर्न प्युठानसहित छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको पौडेलको भनाई छ । अर्कोतर्फ गुफाको पूजा गर्ने शैली पनि पृथक् रहेको छ ।

गौमुखी क्षेत्रको संरक्षण र विकासका लागि  डिपीआर तयार पारिसकेको र एकीकृत रूपमै संरक्षण र विकास गरिने नीति लिइएको साथै सो क्षेत्रको संरक्षण र विकासको लागि सबैलाई हातेमालो र सहकार्य गर्दै अघि बढ्न प्रमुख प्रशासकीय अधिकृत पौडेलले आग्रह गर्नुभयो । आन्तरिक पर्यटनमा सहभागी बनौँ गौमुखीको विकासमा सहभागी बनौँ प्रमुख पौडेलले भन्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link