दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग 

बजारमा बिक्री वितरण गरिने दूधको गुणस्तर सुधारको लागि डेरी व्यवसायीहरूले ल्याब स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग जोडिएको दूध शुद्ध, स्वच्छ, स्वास्थ्यकर र उपभोग मापदण्ड समेत अवलम्बन गर्नुपर्ने भएकाले ल्याब परीक्षण गरेर मात्रै बजारमा लैजाने वातावरण बनाउन उनीहरूले स्थानीय सरकारसँग आग्रह गरेका हुन् ।

उनीहरूले विशेष गरेर नगरभित्र आउने र बिक्री वितरण हुने दूधको पालिकामा सूचीकरण गर्ने र ल्याब परीक्षण गरेमा मात्रै बिक्री वितरणको प्रबन्ध मिलाउने हो भने त्यसले शुद्ध र स्वच्छ तथा मापदण्ड अनुसारको दूध मात्रै बजारमा जाने भएकाले सबै उपभोक्ताले गुणस्तर दूध उपभोग गर्न पाउने उनीहरूको भनाई छ ।

२४ औँ विश्व दुग्ध दिवस तथा १४ औँ राष्ट्रिय दुग्ध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको संयुक्त आयोजनामा शनिवार बुटवलमा गरिएको दूधको महत्त्व, वर्तमान अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा दुग्ध व्यवसायीहरूले ल्याब परीक्षणको व्यवस्था मिलाउन सकियो भने दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुधार हुने भनाई राखेका थिए ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुराएको योगदानलाई आत्मसात् गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखमा विश्व दूध दिवस मनाउन सुरु गरेको थियो । त्यस्तै नेपालले पनि सन् २०११ देखि जुन १ मै यो दिवस मनाउन थालेको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले जनस्वास्थ्यसँग जोडिएको दुग्ध व्यवसाय गर्दा मापदण्डको पालना गरेर व्यवसाय गर्न आग्रह गर्नुभयो । उहाँले दर्ता नभई सञ्चालन भएका दुग्ध व्यवसायलाई दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्दै अनुगमनका क्रममा दर्ता नभई सञ्चालन गरेको भेटिएमा कानुनी कारबाही गरिने पनि चेतावनी दिनुभयो ।

उहाँले नगरपालिकाले कास्टिक सोडालाई निरुत्साहित गरेका कारण विगतको तुलनामा बुटवल उपमहानगरपालिका भित्र दूधको गुणस्तरमा सुधार आएको पनि दाबी गर्नुभयो । दूधको गुणस्तर सुधारका लागि नगरपालिकाले गर्नुपर्ने कुरा गर्नको लागि तयार रहेको बताउँदै व्यवसायीलाई पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले पशु पालक किसानलाई संरक्षण गर्न सकिएन भने दूध तथा दुग्धजन्य पदार्थको व्यवसाय पनि नरहने बताउँदै किसानमैत्री हुनको लागि डेरी उद्योगीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले रुपन्देहीमा दूधको विविधीकरण तथा दुग्ध व्यवसाय विकासमा सङ्घको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले उत्पादक र उपभोक्ता बिचको फराकिलो मूल्य अन्तरले यसको व्यावसायिक विकास र उपभोगमा समेत प्रभाव पारेको भनाई राख्नुभयो ।

त्यस्तै बेलाबेलामा दुग्ध उत्पादक र उद्योगी बिच हुने किचलो र बजारमा आउने दूधको गुणस्तरमा समेत प्रश्न उठ्नु राम्रो नभएको बताउँदै उत्पादक, उद्योगी र व्यवसायी समेत त्यसमा गम्भीर बन्न आग्रह गर्नुभयो । उहाँले दूधमा आत्मनिर्भर भई निर्यातका लागि समेत उच्च सम्भावना रहेकाले दूधलाई विशिष्टीकरण गर्न सम्बन्धित उद्योगीलाई आग्रह गर्दै त्यसमा सङ्घको तर्फबाट सहयोग रहने भनाई राख्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले रुपन्देहीमा यदाकदा बाहेक समग्र रूपमा दूधको गुणस्तर सन्तोषजनक रहेको जानकारी गराउनु भयो । दूधको गुणस्तर कायम गर्न दुहुनो गाई भैँसीको स्वास्थ्य तथा दूधको सम्पर्कमा रहने सबै कुराको सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष नारायण न्यौपानेले व्यवसायीहरू एकले अर्कालाई औला देखाउने भन्दा पनि दूधको गुणस्तर सुधार कसरी गर्न सकिन्छ, त्यसतर्फ चिन्तन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाह, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक लोकराज भुसाल, बुटवल उद्योग वाणिज्य सङ्घ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्याय लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग 
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link