बुटवल उपमहानरपालिकाद्वारा १ वर्षे उपलब्धि सार्वजनिक, के–के भए काम?

बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो। बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गर्नुभयो।

चन्द्रकान्त खनाल/रूपन्देही

उपलब्धि तथा प्रयास सार्वजनिक गर्दै नगर प्रमुख पाण्डेयले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलवासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो।
जनताले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवल विकासमा फड्को मार्ने गरी काम गर्ने बताउनुभयो। जनताको सेवकका रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै बुटवल र बुटवलवासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताउनुभयो।

‘हामी जनताका सेवक हौँ। यहीअनुरुप प्रतिबद्ध भएर समृद्ध बुटवल बनाउने अभियानको महायज्ञमा निरन्तर सेवाभावले लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा बुटवलवासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन–मस्तिष्कमा राखेर बुटवलवासी र बुटवलको हितलाई सर्वोपरि मानी आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु।’

नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उद्देश्यका साथ चरणबद्ध रूपमा बुटवलका १० हजारभन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाब संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो।

‘बुटवलका मुख्य चुनौतीका रूपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेका छौं,’ उहाँले भन्नुभयो।

कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासमा बुटवल १३ र १७ मा १५-१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने, आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाई वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताउनुभयो।

यस्तै, बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिकापथलगायतका सार्वजनिक स्थानको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको पनि जानकारी दिनुभयो।

कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बिमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो। यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पुर्याउनबाट रोक्न नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भइरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ।

यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित विद्युत्, इन्टरनेट, केवलका तारले सहरको सौन्दर्य बिगारेकाले तिनको व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, ४ प्रकारका जटिल रोग मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीलाई मासिक ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तर्गत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराइएको र ८ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिस गरिएको उपलब्धिमा समेटिएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो। उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले बुटवलले जसरी प्रभावकारी रूपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफूहरूले समय खर्चेको बताउनुभयो। उहाँले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाहरु अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधै तयार रहेको बताउनुभयो।

कार्यक्रममा राजनीतिक दल, संघसंस्था, बुटवल क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउनका लागि आपसी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
बुटवल उपमहानरपालिकाद्वारा १ वर्षे उपलब्धि सार्वजनिक, के–के भए काम?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link