लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटिरहेको छ। आगामी आव २०८०÷८१ का लागि ल्याउन लागिएको बजेटमा चालू आर्थिक वर्षको तुलनामा २० प्रतिशतसम्म कटौती गर्ने तयारी गरेको छ।
लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो। संघीय सरकारले प्रदान गर्ने अनुदानको रकम र वित्तीय हस्तान्तरणको आकार घटेसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको हो।
आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार स्रोत अनुगमन समितिको बैठकले चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाएकाले सोहीअनुसार योजना छनोट हुने बताउनुभयो। यस्तै २० प्रतिशतभन्दा थोरै योजनाअनुसार बजेटको आकार पनि सोही आकारमा घट्ने पनि उहाँको भनाइ छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले बजेट आकार घटाएर सिलिङ पेस गर्न आग्रह गरेपछि हालका चालू योजनालाई निरन्तरता दिने, केही क्रमागत योजना जिल्लाबाट आउनेलाई समेट्ने तयारी भएको, पुल र सडकजस्ता कामलाई निरन्तरता दिन थप बजेट चाहिने बेला बजेट कम गराउँदा समस्या हुने बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले सबै मन्त्रालयहरुलाई प्रदेश योजना आयोगले पठाएको सिलिङभित्र योजना छनोट गर्न भनिएको बताउँदै केही मन्त्रालयहरुले योजना पठाएको जानकारी दिनुभयो।
बजेटबारे आर्थिक मामिला मन्त्रालयले छलफलसमेत गरेको छ। जेठ १२ गतेदेखि आह्वान भएको बजेट अधिवेशनका क्रममा संसद्मा छलफल भएको मन्त्री मास्कीको भनाइ छ। संसद्मा सांसदहरुले प्रिबजेट छलफलम उठाएका विषयलाई नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिनेसमेत बताउनुभयो।
बजेटको अन्तीम तयारी चलिरहेको समयमा प्रदेश सांसदहरूलाई भने आफ्नो क्षेत्रको विकास लागि योजना पार्नेमा चासो बढाउँदै मुख्यमन्त्री र अर्थमन्त्री भेट्न थालेका छन्। प्रदेश सांसदहरू सानादेखि ठूला योजना आआफ्नो क्षेत्रमा पार्ने गरी मुख्यमन्त्री तथा अर्थमन्त्रीकहाँ पुगेर बजेट पार्न र कार्यक्रम समावेश गर्न आग्रह गर्दै आएका छन्।
प्रदेशसभा सदस्य दिनेश पन्थीले आफ्नो क्षेत्रको भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यलाई केन्द्रित गरेर बजेट राख्नुपर्ने बताउनुभयो। उहाँले पहुँचको आधारमा नभई आवश्यकता र प्रक्रियाको आधारमा बजेट निर्माण गर्नुपर्ने माग राख्नुभयो। यस्तै, बाँकेका सांसद आदेशकुमार अग्रवालले प्रदेश सरकारले अघि सारेका खानेपानी, सडक, पुललगायतका आयोजना अझै अधूरो रहेको भन्दै पूरा गर्न आग्रह गर्नुभयो।
चालू आवमा भएन बजेट खर्च
प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट खर्चको अवस्था निराशाजनक छ। ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकामा अहिलेसम्म १८ अर्ब १ करोड ३५ लाख मात्रै खर्च भएको छ। वैशाख महिनासम्म खर्चको अवस्था ४२.२५ प्रतिशत मात्रै रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
बजेट छुट्याउने तर खर्च गर्न नसक्ने अवस्थाबाट मुक्ति पाउन आवश्यकताका योजनाहरूमात्रै तर्जुमा गर्न आग्रह गरिएको हो। पुँजीगत खर्चको पनि अवस्था दयनीय छ। २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार पुँजीगत बजेटमध्ये नौ अर्ब ७३ करोड ८९ लाख २० हजार मात्रै खर्च भएको छ। वैशाख अन्तिमसम्म पुँजीगत खर्च ३९.७९ प्रतिशत मात्रै छ।
लुम्बिनी प्रदेशमा नयाँ बजेटको विषयमा छलफल चलिरहँदा अहिले बजेट कसरी खर्च भएको छ भन्ने बारेमा पनि सांसदहरूले चासो राखेका छन्। सांसद अब्दुल रज्जाकले अहिले बजेट खर्च किन कम भएको हो, त्यसमा ध्यान दिँदै नयाँ बजेट बनाउनुपर्ने बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- रुपन्देहीका उद्योगीमाथि विद्युत् प्राधिकरणको अत्याचार, उपभोग नै नगरेको महसुल तिर्न धम्कीपूर्ण पत्र
- “अर्थतन्त्र सुधारका लागि सरकार तयार नभए उद्योगी व्यवसायी सडकमा”
- बुटवलको पशु बधशाला सञ्चालनका लागि सम्झौता, असोजभित्रै सञ्चालन हुने
- पत्याउनुहुन्छ ? १४ हजार लिटर पानीको महसुल २० रुपैयाँ मात्रै
- चीन-भारत जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर ६८ वर्षपछि सम्पन्न हुँदै
- चीन र भारतलाई जोड्ने बाह्र साले बाटोः पूरा होला त यसपालि?
- अंग्रेजलाई पराजित गरेको खुसियालीमा तानसेनमा भगवती जात्रा, यात्रुलाई भाडामा ५० प्रतिशत छुट
- लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सयले लिए लैंगिक हिंसासम्बन्धी सेवा
- अब क्षयरोगसम्बन्धी बिरामीको अवस्था र ठोस तथ्यांक उपलब्ध हुने
- लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र