अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति जरुरी : प्रधानमन्त्री दाहाल

अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक

चन्द्रकान्त खनाल/रूपन्देही

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । बुटबलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएपछि मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको बताउँदै भन्नुभयो, ‘रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्नेछ ।’

नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइँ पनि लम्ब्याउन सकिने प्रधानमन्त्रीको भनाइ छ । पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्रीले सुझाव दिँदै वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

‘पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिनेछ,’ प्रधानमन्त्री दाहालले थप्नुभयो, ‘मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय पनि गरिएको छ ।’

उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपयुक्त कदम चाल्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । ‘हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन,’ प्रधानमन्त्रीले भन्नुभयो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पूरा भएको र यसले पर्यटन विकासमा टेवा मिल्ने बताउनुभयो । पाल्पा र रुपन्देहीलाई जोड्ने काम केबलकारले गरेको पौडेलको भनाइ छ ।

अन्त कहीँ पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र योसँगै जोडिएका धेरै संरचना लुम्बिनी प्रदेशमा रहेको भन्दै यस्ता ऐतिहासिक तथा सामाजिक सांस्कृतिक सम्पदालाई प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको स्मरण गराउनुभयो । ‘गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–नारायणगढ सडक विस्तारजस्ता परियोजनालाई निरन्तरता दिन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘लगानी निजी क्षेत्रबाट भए पनि यसले सबैको आर्थिक सबलीकरणमा सहयोग पुग्छ ।’

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टक्टकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको बताउनुभयो । ढकालले चीन र भारतमा झन्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुवै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन गरी पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरैतिर भौँतारिनु नपर्ने बताउनुभयो।

रुपन्देही र पाल्पा जिल्ला जोड्ने पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा प्रदेश सरकार स्वागत गर्न चाहेको बताउनुभयो । यसैगरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनसँगै थप पर्यटकहरुलाई सुविधा दिने वताउनु भयो । यस्तै, भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको भन्दै लुम्बिनीसँगै नयाँ गन्तव्यले नेपाल–भारतबीच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुने उहाँको धारणा थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति जरुरी : प्रधानमन्त्री दाहाल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link