रुपन्देहीका व्यवसायीको ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ लागू गर्न सरकारलाई आग्रह

नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहलाई फार्मासिस्टको दरबन्दी सिर्जना गर्न आग्रह गरेको छ। औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसको दरबन्दी सिर्जना र कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो।

नेपाल फार्मेसी संघको सम्पन्न दोस्रो साधारणसभामा बोल्ने फर्मासिस्टहरूले जनस्वास्थ्यसँग जोडिएको औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसका लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताए। नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विषयलाई मूल मुद्दा बनाएको छ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले सुरुदेखि नै ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ को विषय उठाउँदै आए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो। औषधिको बिक्रीवितरणमा फर्मासिस्ट अनिवार्य हुनुपर्ने भन्दै स्थानीय तहलाई दरवन्दी सिर्जना गर्न र निजी संस्थाले पनि फर्मासिस्ट राखेर काम गर्न आग्रह गर्नुभयो।

सरकारी तथा निजी क्षेत्रले यो कदम लिँदा आमरूपमा पनि राम्रो सन्देश जाने र फर्मासिस्टको बेरोजगारी तथा अर्धबेरोजगारी समस्या पनि समाधान हुन सक्ने नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईंले बताउनुभयो। हरेक स्थानीय तहको औषधि वितरण कक्षमा फर्मासिस्टहरूको दरबन्दी कायम नभएको, फार्मासिस्ट बेरोजगार बस्नुपरेको, फार्मेसी काउन्सिलको लाइसेन्स दुरुपयोग, कार्यदक्षता अभिवृद्धिका लागि तालिम अभावलगायतका समस्या रहेको बताउँदै यो समस्या समाधानका लागि सरकार पनि गम्भर बन्नुपर्ने उहाँको भनाइ थियो।

‘जहाँ औषधी, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नारा सहित २०७२ सालमा नेपाल फार्मेसी संघ स्थापना भएको, २०७३ मा प्रदेश समिति र २०७८ सालमा रुपन्देही जिल्ला शाखा गठन गरिएको संघका रुपन्देही महासचिव उदय खत्रीले बताउनुभयो। यो संस्थाले स्थापनाकालदेखि नै फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूको व्यावसायिक तथा पेसागत हकहित र संरक्षणका लागि पहल र पैरवी गर्दै आएको उहाँले जानकारी गराउनुभयो।

साधारण सभामा अध्यक्ष सेढाईंले प्रस्तुत गर्नुभएको प्रतिवेदन, महासचिव उदय खत्रीले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुशिला वञ्जाडेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारितसमेत भएको छ।

त्यसै अवसरमा संघमा रिक्त सदस्य पदमा महेश पाण्डे, सुवास ज्ञवाली र गुञ्जन ढकाललाई मनोनित गरिएको छ। त्यसैगरी विभागीय संयोजकमा उद्योग फार्मासिस्ट विभागको संयोजकमा रविन भण्डारी, सामुदायिक फार्मेसी विभागको संयोजकमा गणेश भण्डारी तथा पालिका संयोजक पनि मनोनित गरिएको छ। मनोनित गरिएका कार्यसमिति सदस्य, विभागीय संयोजक तथा पालिका संयोजकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपालमा काउन्सिलमा दर्ता भएका ६ हजार फार्मासिष्ट १६ हजार सहायक फार्मासिस्ट सबै गरेर करिब २२ हजार दर्ता भएको तथ्याक छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
रुपन्देहीका व्यवसायीको ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ लागू गर्न सरकारलाई आग्रह
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link