श्रीलंकाको क्यान्डीमा नेपाल प्रवर्द्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण सुरु गर्न आग्रह

चन्द्रकान्त खनाल/रूपन्देही

नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रवर्द्धन गर्न आग्रह गरेका छन्। श्रीलंकाको क्यान्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा बोल्दै उनीहरुले बुद्ध जन्मस्थलबाट टुर प्याकेज सुरु गरेर अन्य बौद्धस्थलहरु जोड्नुपर्ने बताएका छन। श्रीलंकन तथा भारतीय ट्राभल एजेन्सीले भारतको बोधगयालगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाइँ अवधि बढ्न सकेको छैन। अब टुर प्याकेज बनाउँदा नेपालको लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनुपर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ। यसले पर्यटकको बसाइँ अवधि बढ्ने अपेक्षा उनीहरुको छ।

सेल्स सिमन कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र विशेष गरेर लुम्बिनीमा श्रीलंकन पर्यटकलाई आमन्त्रण गर्न नेपाली टोली यहाँ आएको बताउनुभयो। नेपाल र श्रीलंकका पर्यटन व्यवसायीको सहकार्यले एक–अर्का देशमा पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको धारणा थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडानका लागि नेपाल वायुसेवा निगम तयारी रहेको बताउँदै श्रीलंकन एयरलाइन्सलाई समेत भैरहवा उडान गर्न र बौद्ध सर्किटको प्याकेज बनाउँदा लुम्बिनीलाई पहिलो प्राथमिकतामा राख्न श्रीलंकन व्यवसायीहरुलाई अनुरोधसमेत गर्नुभयो।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले श्रीलंकन नागरिकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिनुभयो। उहाँले बौद्धस्थलको टुर प्याकेज बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटीहवा हुँदै बोधगया, सारनाथ, कुशीनगरलाई समेट्न पनि आग्रह गर्नुभयो। ‘लुम्बिनी आउन हवाई मार्ग सहज बनेको छ, लुम्बिनीको काखैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, श्रीलंकाबाट सीधा उडान गर्नुस् र लुम्बिनीबाट बुद्धस्थल भ्रमण सुरु गर्नुस्,’ उहाँले भन्नुभयोे। अध्यक्ष श्रेष्ठले नेपाल पर्यटनका लागि महत्वपूर्णस्थल भएको जनाउँदै धार्मिक, सांस्कृतिक साथै साहसिक र मनोरंजनको पूर्ण प्याकेज नेपालले पस्कने उहाँको भनाइ छ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालका पर्यटकीय आकर्षण र विविधताबारे प्रस्तुतीकरण दिँदै विश्वकै घुम्नैपर्ने मुलुकमा नेपाल एक उत्कृष्ट गन्तव्य भएको बताउनुभयो। नेपाल र श्रीलंकाको जनस्तरमै सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र बुद्धिष्ट पर्यटकलाई जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य रहेको उल्लेख गर्नुभयोे।

यसैगरी श्रीलंकन भिक्षु धर्मराथना थेरोले श्रीलंका र नेपाललाई बुद्ध र बौद्ध पर्यटकीय गन्तव्यले जोडेको उल्लेख गर्नुभयो। बुद्ध नेपालमा जन्मनु नेपालीका लागि शौभाग्य भएको उल्लेख गर्दैे हरेक श्रीलंकनलाई जीवनमा लुम्बिनी र बौद्ध पर्यटकीय गन्तव्यमा भ्रमण गर्न आग्रह गर्नुभयोे। उहाँले श्रीलंकन नागरिकलाई आफ्नो भ्रमणको सुरुवात गर्दा लुम्बिनीबाट सुरु गर्न आग्रहसमेत गर्नुभयो।

श्रीलंकन एयरलाइन्सका प्रबन्धक उपेन्द्र राजापाक्षले आफ्ना अधिकतम नागरिकलाई नेपाल पुर्याउन श्रीलंकन एयरले सहयोग गर्ने वताउनु भयो। भविष्यमा नेपालका सबै विमानस्थलमा नियमित उडानका लागि पहल गर्ने बताउनुभयो।

सिद्धार्थ होटल संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर जोशीले नेपालमा अधिकत पर्यटकहरु पठाउन र लुम्बिनी एवं आसपासका बौद्ध गन्तव्यहरुमा घुमाउन उपस्थित श्रीलंकन पर्यटन व्यवसायीलाई आग्रह गर्नु भयोे।

श्रीलंकन नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुका साथै नेपालका पर्यटकीय स्थलको प्रवद्धर्न गर्न सरकारी अधिकारी तथा पर्यटन व्यवसायी श्रीलंका पुगेका हुन्। क्यान्डीपछि श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली टोलीले कार्यक्रम गर्दैछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
श्रीलंकाको क्यान्डीमा नेपाल प्रवर्द्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण सुरु गर्न आग्रह
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link