एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा

चन्द्रकान्त खनाल/रूपन्देही

रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ। बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौँतारिनुपर्ने र कतिको रक्ताभावकधा कारण ज्यानैसमेत जाने अवस्था छ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ। रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ। रोटरी क्लब अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स नेपाल रेडक्रस सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ।  एम्बुलेन्स खरीदमा लागि रेडक्रसले पनि साझेदारी गरेको छ।

रोटरी क्लब अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाख रुपैयाँमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले बताउनुभयो। उहाँका अनुसार एम्बुलेन्समा बसेर एकपटकमा पाँच जनाले रक्तदान गर्न सक्छन्। ‘अब यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ। क्लबले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जानेछ,’ उहाँको भनाइ छ।

अध्यक्ष पियाले क्लबले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताउनुभयो।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताउनुभयो। यसको सञ्चालन गर्न कार्यविधी निर्माण गरिने र सोहीअनुसार कार्यान्वयमा लगिने जानकारी दिनुभयो।

क्लबले तीन वर्षअघिदेखि एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो। तर कोरोना महामारीका कारण परियोजना पछाडि धकेलियो। क्लबका पूर्वअध्यक्ष डिल्लीनारायण श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मूर्त रूप लिएको हो।

रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ।

रक्त एम्बुलेन्समा रक्तदान गर्नेबाहेक रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्थासमेत छ। रगत अभाव भएका बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ। रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ।

रक्त संकलन एमबुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै प्रशंसा गर्नुभयोे। उहाँले बुटवलवासीका लागि निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको पनि बताउनुभयो।

रोटरी डिस्ट्रिक इन्टरनेसनल ३२९२ का वर्ष २०२३–२४ का डिस्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोबाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा विभिन्न रोटरीयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनका लागि जोड दिन आग्रह गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link