बजेट खर्च गर्नेमा सियारी गाउँपालिका अग्रस्थानमा, मर्चवारीले सकेन

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देहीमा गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले आर्थिक वर्ष २०७९/०८० को तथ्यांक सार्वजनिक गर्दै गत आवको तुलनामा आव २०७९/०८० मा पुँजीगत खर्च बढेको जनाएको छ।

आव २०७९/०८० मा समग्रमा विनियोजित रकमको ८८ प्रतिशत रकम खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रुपन्देहीका लागि ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४ सय ५१ रुपैयाँँ विनियोजित भएको थियो।

यसमध्ये चालू र पुँजीगत गरी कुल खर्च ८८ प्रतिशत अर्थात् ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८ सय ६५ रुपैयाँँ खर्च भएको छ। चालू खर्चको हकमा जिल्लामा ३४ अर्ब ८५ करोड ३३ लाख ७० हजार ११ रुपैयाँँ खुद बजेटमध्ये ९२ प्रतिशत अर्थात् ३१ अर्ब ९३ करोड २० लाख ५८ हजार ७ सय ५२ रुपैयाँँ खर्च भएको छ।

आर्थिक वर्ष २०७९/०८० मा रुपन्देहीमा पुँजीगत खर्च ७१ प्रतिशत खर्च भएको छ। पूँजीगत तर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४ सय ४० रुपैयाँ मध्ये ५ अर्ब ८ करोड ६० लाख ९९ हजार एक सय १२ रुपैयाँँ खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पुँजीगततर्फ असार महिनामा मात्रै कुल खर्चको ३०.७७ प्रतिशत अर्थात् दुई अर्ब २० करोड ७० लाख ८० हजार ९ सय ५८ रुपैयाँँ खर्च भएको छ।

जिल्लामा पुँजीगततर्फ केही कम खर्च भएको देखिए पनि समग्रमा यो सन्तोषजनक नै मान्न सकिने कार्यालय प्रमुख ज्ञवालीको भनाइ छ। उहाँले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा पुँजीगत खर्चमा वृद्धि भएको बताउनुभयो।

‘आव २०७८/०७९ मा रुपन्देहीमा ४६ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा चालू र पुँजीगत खर्चतर्फ गरी सबैभन्दा बढी सियारी गाउँपालिकाले ८७.१५ प्रतिशत खर्च गरेको छ।’

सियारीले ७५ करोड ८८ लाख ५० हजारमध्ये ६६ करोड १३ लाख २१ हजार खर्च गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताउनुभयो। १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लामा सबैभन्दा कम खर्च मर्चवारी गाउँपालिकाले गरेको छ। मर्चवारी गाउँपालिकाको कुल बजेट ५२ करोड २७ लाख २० हजार मध्ये ३३ करोड ७६ लाख ६७ हजार रुपैयाँँ अर्थात् ६४.६० प्रतिशत मात्र खर्च भएको छ।

खर्च बढे पनि रुपन्देहीमा भने गत वर्षको तुलनामा निकै कम राजस्व असुली भएको छ। आयात–निर्यात प्रभावित हुँदा रुपन्देहीमा गत वर्षको भन्दा पनि कम आम्दानी भएको हो।

जिल्लाको सबभन्दा ठूलो आम्दानीको स्रोत भैरहवा भन्सार कार्यालयले नै लक्ष्यअनुसारको राजस्व असुल्न नसकेपछि आव ०७८/०७९ को तुलनामा आव ०७९/०८० मा २९ प्रतिशतले राजस्वमा कमी आएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव ०७८/०७९ मा रुपन्देहीमा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार दुई सय ५१ रुपैयाँँ राजस्व असुली भएको थियो।

यसको तुलनामा आव ०७९/०८० मा एक खर्ब दुई अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैयाँँ मात्र राजस्व असुली भएको प्रमुख कोष नियन्त्रका प्रमुख ज्ञवालीले बताउनुभयो। यस वर्ष गत वर्षको भन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३ सय ६१ रुपैयाँँ दुई कम राजस्व असुली भएको उहाँको भनाइ छ।

रुपन्देहीमा अहिले पनि सबभन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले नै असुल गरेको छ। भन्सारले ७६ अर्ब ८९ करोड ५ लाख ९८ हजार एक सय ८४ रुपैयाँँ असुल गरेको बताउनुभयो।

यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब २३ करोड ८० लाख ७ हजार चार सय ८४ रुपैयाँँ र आन्तरिक राजस्व कार्यालय बुटवलले १० अर्ब ३६ करोड ३३ लाख ८ हजार २१ रुपैयाँँ असुल गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link