लुम्बिनी आयुर्वेद चिकित्सालयः भारतबाट पनि उपचार गर्न आउँछन् बिरामी

चन्द्रकान्त खनाल/रूपन्देही

भारतको गोरखपुरका स्थायी बासिन्दा विनयकुमार यादव बुटवल देवीनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा भेटिनुभयो। उहाँ खुट्टामा सिल्का हान्ने, पोल्ने, झमझम गर्ने रोगबाट पीडित भएपछि एक सातापहिले बुटवल आउनुभएको थियो।

सरकारी चिकित्सालय बारेमा साथीले भनेको सुनेका यादव सरासर देवीनगर चौपारीनजिकै रहेको प्रदेश सरकारमातहतमा रहेको लुम्बिनी प्रदेश आयुर्वेदिक चिकित्सालयमा गएर उपचार गराउनुभयो। सात दिनको उपचारपछि निको भएर घर जाँदै गरेका यादवले भन्नुभयो, ‘धेरै खुसी लागेको छ। उपचारपछि निको भएँ।’

भारतबाट उपचारका लागि आएका यी एक प्रतिनिधि उदहारण मात्रै हुन। पछिल्लो समयमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै जाँदा उपचार गराउन आउनेहरूको संख्यासमेत बढ्दै गएको छ।

रूपन्देही ओमसतियाका त्रिलोचनप्रसाद यादव पनि अन्य अस्पतालमा प्यारालासिसको उपचार गर्दा निको नभएर आयुर्वेदिक चिकित्सालयमा आएको बताउनुभयो। यादवले आफ्नो समस्या उपचारबाट समाधान भएको बताउनुभयो।

यसैगरी बुटवल १३ माझगाउँकी हरिकला खाम्चा हड्डी खिइने रोगबाट ग्रसित हुनुहुन्थ्यो। तर आयुर्वेदिक पद्धतिको उपचारबाट निको भएको बताउनुभयो। प्रदेश सरकारले अस्पताललाई स्तरोन्नति गरेपछि यस क्षेत्रमा आयुर्वेदमा बिरामीको आकर्षण बढदै गएको स्थानीयहरुको भनाइ छ।

आयुर्वेद पद्धतिबाट उपचार ढिला भए पनि दिर्घकालीन हुने भएकाले बिरामीको आर्कषण बढेको स्थानीय राजेन्द्र घिमिरेले बताउनुभयो।

लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको पाइएको छ। पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो। प्रदेश सरकारअन्तर्गत रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ।

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा उपचार गराउने विरामीहरूको संख्या बढ्दै गएको हो। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ। आव ०७८/०७९ मा २६ हजार बिरामीले उपचार गरेका थिए। जसमा महिला १५ हजार ३३५ र १०हजार ६८४ पुरुष रहेका थिए। तर आव ०७९/८० मा कुल ४१ हजार बिरामीले उपचार गरेका छन्।

बुटवल देवीनगरमा रहेको लुम्बिनी प्रदेश आयुर्वेदिक चिकित्सालयमा ओपिडी सेवा, पञ्चकर्म सेवा विस्तार गरिएको छ भने नागरिक आरोग्य केन्द्र, जेष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटबलका पाँच ठाउँमा आरोग्य केन्द्रबाट समुदायमा गएर सेवा दिने व्यवस्थासमेत गरिएको छ। दुई दिन ओपिडी र एक दिन पञ्चकर्म सेवा दिइरहेको जनाइएको छ।

६ जना स्थायी दरबन्दी रहेको चिकित्सालय अहिले करार र स्थायी गरी १७ जना जनशक्ति व्यवस्थापन गरिएको छ। चिकित्सालयका निरीक्षक नरहरी अर्यालयका अनुसार पछिल्लो समयमा बिरामी बढनुको कारण यसै वर्षबाट १५ बेडको अस्पताल सञ्चालन हुनु र शालक्या सेवा नाककान घाटी सेवा विस्तार गरिनु रहेको छ।

बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा दरबन्दी भने अभाव छ। अस्पतालमा क्षारसूत्र सेवा दिन विषेशज्ञ चिकित्कको अभाव चिकित्सालयले भोग्दै आएको छ। यसका अलवामा विसं. २०३५ मा सिर्जना भएको दरबन्दी हालसम्म पनि थपिएको छैन। चिकित्सालयमा जीर्ण रोग, गडीया, बाध, ग्याट्रिक, ढाड कम्मर दुख्ने, छालाका रोगी, बच्चाको रुघाखोकीदेखि प्यारालाइसिस, पार्किन्सनलगायतका बिरामी बढी मात्रामा आउने गरेका छन्।

अहिले उक्त चिकित्सालयमा सरकारी नियमअनुसारको न्यून शुल्क छ भने पञ्चकर्ममा सामान्य शुल्क रहेको छ। यस्तै ओपिडीमा १० प्रतिशत छुट छ। जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्दै आएको यस चिकित्सालयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
लुम्बिनी आयुर्वेद चिकित्सालयः भारतबाट पनि उपचार गर्न आउँछन् बिरामी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link