पत्रकार फूसँगको प्रेमका कारण विदेशमन्त्री छिन गाङलाई बनाइयो अलप

एकजना महिला पत्रकार फू जियोतियानसँगको प्रेमसम्बन्धका कारण चिनियाँ विदेशमन्त्री छिन गाङलाई सार्वजनिक जीवनबाट अलप पारेर अनुसन्धानका लागि सैन्य हिरासतमा राखिएको बताइएको छ।

कृष्ण तिमल्सिना

करिब एक महिना सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ विदेशमन्त्री छिन गाङ व्यक्तिगत अनुशासन सम्बन्धी अनुसन्धानका लागि सैन्य हिरासतमा रहेको आशंका कै बीचमा उनलाई बर्खास्त गरेर चीन सरकारले नयाँ विदेशमन्त्री तोकेको छ। गाङलाई बर्खास्त गरी पुनः वाङ यीलाई विदेशमन्त्री बनाइए पनि गाङको अवस्था बारे उठेको प्रश्न निरुपण भएको छैन। किनकी चीनको विदेशमन्त्री बनेको सात महिना यता गाङ दुई वटा सार्वजनिक कार्यक्रममा मात्र देखा परेका थिए। त्यसपछि बेपत्ता भएका उनलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने औपचारिक सूचनाबिना नै विदेशमन्त्रीबाट बर्खास्त गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।

गाङ २५ जुन यता सार्वजनिक स्थलमा देखिन छाडेपछि निरन्तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आशंका गरिरहेका थिए। त बेइजिङ उनी बिरामी परेको जवाफ दिई रहेको थियो। अड्कलबाजीहरू कै बीचमा, उनलाई बर्खास्त गरिएको समाचार सार्वजनिक भएपछि अमेरिका तथा पश्चिमा मुलुकका सञ्चारमाध्यमले उनको स्थितिबारे थप चासो र चिन्ता व्यक्त गर्न थालेका छन्। किनकि गाङ अनुभवी कूटनीतिज्ञ मानिन्छन् र उनी यसअघि अमेरिकमा राजदूत बनेर फर्किए लगत्तै चीनको विदेश मन्त्री बनेका थिए। अमेरिकामा चिनियाँ राजदूतको रूपमा काम गरेका गाङको एक कार्यक्रम प्रस्तोता महिलासँग प्रेम सम्बन्ध रहेको समाचार बाहिरिए लगत्तै उनी अफ्रिकी मुलुकको भ्रमणबाट फर्केपछि सार्वजनिक मञ्चहरूमा देखिन छाडेका थिए। गाङलाई बर्खास्त गरी पुनः वाङ यीलाई चीनको विदेशमन्त्री बनाइएको छ। चीनका विदेशमन्त्री छिन गाङ तीन हप्तायता सार्वजनिकस्थलमा देखा परेका छैनन्। उनलाई सार्वजनिकस्थलमा नदेखेपछि विभिन्न अड्कलबाजीहरू हुन थालेका छन्।

५७ वर्षे विदेशमन्त्री छिन गाङ गत जुन २५ यता अर्थात ३५ दिनदेखि बेपत्ता छन्। श्रीलंका, भियतनाम र रुसका प्रतिनिधिहरूसँग छलफल गरे लगत्तै अमेरिकी वरिष्ठ अधिकारीहरू जनेट यलन र जोन केरी चीन भ्रमणमा पुग्दा छिन गाङ एकाएक गायब भए। त्यसपछि बेइजिङले उनी कता गए भन्ने प्रश्न सामना गरिरहेको छ। उनले विदेशमन्त्रीका रुपमा २०७ दिन मात्र जिम्मेवारी सम्हाले तर ३५ दिन त उनी बेपत्ता रहे।

यसअघि जिम्मेवारी मै रहेको बेला, चिनीयाँ जासुसी बेलुनको सन्दर्भमा चीनको आलोचना हुँदा उनले अमेरिकाको कठोर रूपमा विरोध जनाएका थिए। एजेन्सीहरूका अनुसार, गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चीन भ्रमण गर्दा उनले ब्लिंकेनसँग सम्बन्ध सुधार गर्नेबारे छलफल पनि गरेका थिए।

त्यसो त, छिन गाङ मात्र एक्लो चिनियाँ अधिकारी हैनन् जो लामो समयसम्म सार्वजनिकस्थलमा देखिएका छैनन्। उनीजस्ता कयौँ वरिष्ठ चिनियाँ अधिकारीहरू यो बीचमा सार्वजनिक भएका छैनन्। उनीहरू धेरै चीन सरकारले चलाई रहेको भ्रष्टाचारविरुद्धको अभियानका कारण दोषी ठहर भएको आशंका गरिंदै आएको छ। अहिले विदेशमन्त्री छिन गाङ पनि मन्त्री बनेपछि उनको प्रेमीकाका कारण सरकारी निगरानीमा थिए। त्यही निगरानी कै समयमा उनको प्रेमीका ठानिएकी एक टेलिभिजन प्रस्तोता महिला भागेर अमेरिका पुगेको समाचार आएपछि चीन सरकारले जकार्तामा आसियान राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय वार्तामा जान विदेशमन्त्री छिन गाङ लाई रोकेको अनुमान गरिएको थियो। उनको स्थानमा पूर्वविदेशमन्त्री वाङ यी सो कार्यक्रममा सहभागी भएका थिए। जो पुनः अहिले विदेशमन्त्री बनेका छन्। त्यसअघि युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग छिन गाङले भेटवार्ता गर्ने कार्यक्रम पनि बेइजिङले अकस्मात् रद्द गरेको थियो।

छिन गाङ बेपत्ता भएपछि अधिकारकर्मीहरूले अधिनायकवादी शासन भएको मुलुकमा यस्ता समस्या निम्तनु सामान्य भएको बताएका छन्। हङकङ फ्रि प्रेसले लेखेको छ, चीनजस्ता एक दलीय शासन प्रणालीयुक्त मुलुकमा सर्वोच्च नेताले एक्लै निर्णय गर्ने हुँदा यस्ता समस्या सामान्य बन्न थालेका छन्। यो घटनाले चिनियाँ राजनीतिक प्रणालीमा पारदर्शिता नभएको पुष्टि गर्छ, हङकङ फ्रि प्रेसको आरोप छ। किनकी नौ महिना अघि पूर्व राष्ट्रपति हु जिन ताओलाई चिनियाँ राष्ट्रिय जनकंग्रेसको सम्मेलनस्थल बाटै केही सुरक्षाकर्मीले जबर्जस्ती बाहिर निकालेको दृष्य सार्वजनिक भएको थियो। उनी बाहिर निस्कन नमान्दा नमान्दै राष्ट्रपति सीको आदेशमा उनलाई हलबाट बाहिर निकालिइयो। हुँले टिपोट गरेका केही कागज पत्र सुरक्षाकर्मीले खोसे। यो दृष्यको चौतर्फी आलोचना भएपनि चीन सरकारले केही प्रष्ट जवाफ दिएन। त्यसको केही समयमै उनको निधन भएको समाचार सार्वजनिक भयो।

विदेशमन्त्री वाङलाई पदबाट बर्खास्त गरेपछि उनको ठाउँमा चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा थप विवरण केही उल्लेख नगरी, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला प्रमुख तथा पूर्व विदेशमन्त्री वाङ यी विदेश मन्त्री नियुक्त भएको आधिकारिक सूचना मात्रै राखेको छ। यसले ३५ दिनदेखि बेपत्ता विदेशमन्त्री चिनको रहस्यमयी बर्खास्तीबारे अन्तर्राष्ट्रियस्तरमै थप शंका उब्जिएको छ। उनलाई किन हटाइयो, उनको अवस्था के कस्तो रहेको छ तथा उनी कहाँ छन् भन्ने बारेमा चीनियाँ अधिकारीहरूले केही पनि खुलाउन चाहेका छैनन्। जबकी, चीन राष्ट्रपति सी चिन फिङ्को विश्वासपात्रका रुपमा काम गर्दै आएका प्रभावशाली चिनियाँ कूटनीतिज्ञ थिए। चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले चिनलाई विदेशमन्त्री पदबाट हटाइएको र संसद्ले वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्ने पक्षमा मतदान गरेको समाचार सार्वजनिक गर्दा पनि चिनको विषयमा केही उल्लेख गरेको छैन।

चिनको अनौठो प्रेम कहानी

विदेशमन्त्री बन्नु पहिले नै चिन अमेरिकामा राजदूतको रुपमा रहँदै एकजना महिला पत्रकार फू जियोतियानसँग विवाहइतर प्रेमसम्बन्ध रहेको र ती महिलाबाट एउटा सन्तानसमेत रहेको चर्चा चिनियाँ सामाजिक सञ्जाल विवोका साथै ट्विटरमा समेत सार्वजनिक भएको थियो। यही विवादको बीचमा, उनको नियुक्ति र भूमिका थप चासोको विषय बन्न पुगेको थियो। त्यसपछि सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन समितिले छिनसँग यो विषयमा प्रस्टीकरणसमेत मागेको थियो। किनकी, आसियान मुलुकका विदेशमन्त्रीहरूको बैठकमा चिन सहभागी नभएपछि चिनियाँ विदेश मन्त्रालयले उनको स्वास्थ्य ठिक नभएको जनाउ दियो तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने एकजना महिला पत्रकारसँगको उनको तस्विर सार्वजनिक गरेका थिए। तस्बिर सार्वजनिक भएपछि  विदेशमन्त्री चिन चिनियाँ सरकारको निगरानीमा परे। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भने त्यसको प्रतिवाद मात्रै गरिन्। तर ४० वर्षीया चर्चित महिला पत्रकारसँग सार्वजनिक स्थानमा देखिएका विदेशमन्त्री चिन त्यही तस्बिरका कारण कारबाहीमा परिसकेका थिए। विदेशमन्त्रीसँग नाम जोडिएकी ति महिला पत्रकार भने त्यसलगत्तै अमेरिका पुगेको बताइन्छ। चिनियाँ सरकारले सुरुमा  उनीहरु दुवैलाई नियन्त्रणमा लिएर सैन्य हिरासतमा राखेको समाचार बाहिर आएको थियो। तर अहिले ४० वर्षीया पत्रकार फू जियोतियान अहिले कहाँ छिन जानकारी छैन। समाचार अनुसार, उनी बेलायत तथा इटालीको समेत मानार्थ नागरिकता लिएकी महिला थिइन। बेलायत स्थित क्याम्ब्रिज युनिभर्सिटीले उनको कामको सम्मान गर्दै एउटा पार्कको नाम नै फू जियोतियान राखेको छ भने, इटाली सरकारले फूलाई ’अर्डर अफ द स्टार इटाली’ बाट सम्मान गरेको छ। जसले, पश्चिमा देशसँग चीनको सम्बन्धलाई उचाइमा लैजान महत्वपूर्ण योगदान गरेको ठानिन्छ। बेलायती अखबार, द टाइम्सका अनुसार टीभी प्रस्तोता फू जियोतियानले विश्वका चर्चित नेताहरूसँग महत्वपूर्ण संवाद गरेकी छन्। अमेरिका, रसियन, भारतीय तथा म्यानमारको सैनिक नेतृत्वसँग समेत उनको पेशागत सम्वन्ध राम्रो रहेको मानिन्छ। तर विदेशमन्त्री चिन, गायब भएपछि उनि समेत कतै देखिएकी छैनन्। टक विद वर्ल्ड लिडर कार्यक्रममा ६ महिनाअघि विदेशमन्त्री चिन काङको अन्तर्वार्ता लिएपछि यी दुईजना बीचको सम्बन्ध चर्चामा आएको थियो। विदेशमन्त्री छिन गायब भएयता यी पत्रकार पनि टेलिभिजन कार्यक्रममा देखिएकी छैनन्। उनी सरकारी च्यानल फिनिक्समा कार्यरत थिइन्। उनको बच्चा अमेरिका मै जन्मिएकाले उनीसँग अमेरिकी नागरिकता रहेको समेत बताइएको छ। उनले आफ्नो ट्विटरमा गत अप्रिल १२ मा पोष्ट गरेको केही तस्बिरमा, सानो बच्चा र विदेशमन्त्री चिन समेत देखिएका थिए। त्यही तस्बिर पनि उनीहरू दुबै आलोचनाको केन्द्रमा तानिएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link