कुनै समय थियो, राउटे समुदायलाई सरसफाइको ‘स’ समेत थाहा थिएन । जंगलको बास जंगलमै फिरन्ते जीवन बिताउने उनीहरू सरसफाइमा चासो राख्दैनथे । जंगलमा भाँडाकुँडा बनाएर यो समुदाय गाउँमा अन्नसँग साट्न पुग्थ्यो । गाउँमा पुग्दा राउटेलाई सरसफाइ नगरेको देखेपछि घरगाउँमा छोराछोरीले नुहाएनन् र फोहोरी देखिएपछि तिनका अभिभावकले उनीहरूलाई ‘राउटे’ भनेरसमेत गिज्याउँथे । त्यसपछि उनीहरू सधैँ सफा हुन्थे ।
पहिले सरसफाइमा ध्यान नदिने त्यही राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै गएको छ । आफ्नो बस्तीवरिपरि दिसा–पिसाब गरी फोहोर गर्ने राउटे समुदायमा पछिलो समय परिवर्तन आएको राउटे बस्तीमा जोडी शिक्षकका रूपमा कार्यरत लालबहादुर खत्री बताउनुहुन्छ । ‘पहिले ननुहाउने, सरसफाइमा ध्यान नदिने, बस्तीवरिपरि दिसा–पिसाब गर्थे,’ उहाँले भन्नुभयो, ‘तर पछिल्लो समय त्यो बानीमा सुधार हुँदै आएको छ ।’
खत्रीका अनुसार पहिलेभन्दा राउटेहरूले बस्तीवरिपरि साफसफाइ गरी चिटिक्क बनाउनुहुन्छ । भाँडाकुँडा सफा गर्र्नेदेखि नुहाउनेसम्मका काम गर्नुहुन्छ । सोसेक नेपाललले बस्तीमै अहिले जोडी शिक्षक र अहेब–अनमीसमेतको व्यवस्था गरिदिएको छ । जसले गर्दा राउटे बालबालिकाले अक्षर पढ्न सक्ने र सरसफाइ गर्नुपर्छ भन्ने शिक्षा सिक्नुभएको छ ।
पछिल्लो समय राउटेको आनीबानीमा सकारात्मक परिर्वतन आउनुमा सोसेक नेपालको भूमिका रहेको जोडी शिक्षक खत्री बताउनुहुन्छ ।
पहिले औषधोपचार नगर्ने राउटे अहिले राजी
जस्तोसुकै बिरामी पर्दा पनि राउटे समुदाय जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । हरेक राउटे महिला जीवन जोखिममा राखेर बच्चा जन्माउनुहुन्थ्यो । परिआयो भने जीवन नै गुमाउनुहुन्थ्यो, त्यो पनि जंगलमै । वनजंगलमा जीवनयापन गर्दै आएको यो समुदाय स्वास्थ्य चौकी, अस्पताल गएर उपचार गर्न जान डराउँथ्यो । सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाहरूलाई भत्ताको व्यवस्था गरे पनि राउटे समुदायका महिलाहरू अझै पनि स्वास्थ्य संस्था जान चाहनुहुन्न ।
नेपालको सम्पदा मानिने दक्षिण एसियाको एक मात्र भ्रमणशील जाति राउटे समुदाय पछिल्लो समय संकटमा छ । पहिले–पहिले चोटपटक लागे र बिरामी भए स्वास्थ्य संस्था नसम्झेर जडिबुटी र झारफुककै भर पर्ने यो समुदाय हिजोआज औषधि उपचारमा विश्वास गर्न थालेको छ । सानो चोटपटक लाग्नेबित्तिकै स्वास्थ्यकर्मी खोज्ने गरेको सोसेक नेपालद्वारा राउटे समुदायमा सञ्चालित राउटे परियोजनामा कार्यरत अहेब विनोदकुमार बिसी बताउनुहुन्छ ।
प्रसूति गराउन स्वास्थ्य संस्थामा नगए पनि हिजोआज यो समुदाय औषधिको विश्वास गर्न थालेको छ ।
केही समयअघि राउटे समुदायका युवा गोविन्दबहादुर शाही र खगेन्द्र शाही जंगलमा काठ काट्दै गर्दा घाइते हुनुभयो । त्यसपछि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या देखाउँदै स्वास्थ्यकर्मीबाट उपचार लिनुभयो । यस्तै केही वर्षअघि महिनबहादुर शाहीकी पत्नी दुनी शाहीको खुट्टामा क्यान्सर भएको भयो । काठमाडौं गएर खुट्टाको अप्रेसन गरेपछि हिजोआज ठमठम हिँड्दै गाउँ डुल्ने गरेको महामुखिया शाही बताउनुहुन्छ ।
‘मेरो बुढीको उपचार काठमाडौँका गुप्तबहादुर श्रेष्ठ डाक्टर सापले गर्नुभएको हो, पैसा लिनु भएन, निशुल्क उपचार गरिदिनुभयो । आजभोलि सन्चो छ, हिँड्डुल गर्न सक्छ,’ शाहीले भन्नुभयो, ‘बस्तीमा यसको महत्व बुझेकाले औषधि गर्छन् । कोहीले घाउ दुख्ने डरले औषधि उपचार गर्न मान्दैनन् ।’
उपचार गर्न स्वास्थ्य संस्था नगए पनि बस्तीमा उपचार गर्न आउँदा भने सजिलै स्वीकार गर्ने गरेको खत्रीको अनुभव छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी