विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि

स्मार्ट कृषि गाउँ- जसले फेरियो वडापोखराबासीको जीवन

जितेन्द्र थापा/सुर्खेत

एक हातमा दाँते। टाउकोमा हरियो रुमाल। अनि अर्को हातमा कैँची लिएर बारीमा तरकारी काँटछाँटमा व्यस्त हुनुहुन्छ वडापोखराकी हिरा रावत। उमेरले ३५ वर्ष पुग्नुभएकी रावत उज्यालो नहुँदै घर नजिकैको बारीमा पुग्नुहुन्छ। दैलेखको दुल्लु नगरपालिका —२ वडापोखराकी हिरा रावतको यो दैनिकी जस्तै भएको छ। उहाँको अधिकांश समय तरकारी गोडमेल गर्ने देखि सुम्सुम्याउने मै बित्छ। बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त देखिनुहुन्छ। चार वर्ष अघि आफूलाई खानका लागि अलिकति जग्गामा तरकारी खेती लगाउनुभएकी उहाँले  २०७८ सालदेखि व्यावसायिक रुपमा व्यवसायिक रूपमै तरकारी खेती थाल्नुभएको छ ।

ग्रामीण समुदायका समस्या पहिल्याउँदै दैलो दैलोमा पुग्दै पछाडि परेका समुदायका समस्या समाधानमा अग्रसर गैरसरकारी संस्था सोसेक नेपालले तरकारी उत्पादनमा कृषि सामाग्री सँगै तरकारी खेती उत्पादन गर्न सिकाएपश्चात् हिराको दैनिकी फेरिदिएको छ ।  पहिले आफूलाई मात्र खान एक छेउमा तरकारी लगाएकी हिराले अहिले तीन रोपनी जग्गामा लटरम्म तरकारी फलाउनु भएको छ। उहाँको बारीमा अहिले गोभी, भन्टा, टमाटार, खोर्सानी, प्याज, तीतेकरेला, रायो तरकारीदेखि हरेक प्रकारका बेर्ना उत्पादन गर्नुभएको छ। तरकारीमा भविष्य देख्नुभएको हिराले पुरै समय तरकारी उत्पादनमा लगाएको उहाँ बताउनुहुन्छ। पहिले परम्परागत रुपमा  तरकारी लगाउने उहाँले व्यवसायिक रुपमा तरकारी लगाउन थालेको बताउनुहुन्छ। पहिले पहिले परम्परागत रुपमा नगदेबालीसँगै तरकारी लगाउथ्यौँ राम्रै हुन्थ्यो, ’उहाँले भन्नुभयो, ‘रासायनिक मल, विषादीको प्रयोगले होला नगदे बालीमा केही उत्पादन भएजस्तो देखिएपनि तरकारीमा भने रोक कीरा लाग्ने, कुहिने सड्ने समस्या हुन्थ्यो। अहिले जलवायु उत्थानशील कृषि प्रविधिबाट व्यवसायिक तरकारी खेती गर्न थालेपछि उत्पादन र आम्दानी दुबै राम्रै भएको छ।’

पहिले आफूलाई तरकारी उत्पादनसम्बन्धी ज्ञान नभएकाले सोचेजस्तो तरकारी उत्पादन हुँदैन थियो।   तरकारी नहुँदा बजारको चाउचाउ वा सोयाबिन (न्युटेला वा तेल वा दूध निकालेपछि  बाँकी भएको भटमासको पीनाको डल्ला प्याकिङ गरेर बजारमा पाइने तरकारी ) खानुपर्ने हुन्थ्यो जो स्वास्थ्यका लागि पनि राम्रो मानिदैनन् तर, अहिले आफ्नै बारीको अर्गानिक  तरकारी खान थालेको उहाँ बताउनुहुन्छ । व्यवसायिक तरकारी खेती थालेपछि उहाँको दैनिकी फेरिएसँगै आत्मनिर्भर बन्नुभएको छ। पहिले केही खान लाउन परे पनि आफूसँग पैसा हुन्थेन श्रीमानकै भर पर्नुपर्ने अवस्था थियो, ’उहाँले भन्नुभयो, ‘अहिले व्यवसायिक तरकारी खेती थालेपछि तरकारी बेचेरै आफूसँगै परिवारका इच्छा पुरा गर्ने गरेकी छु।’ 

सोही ठाउँकै ४८ वर्षीय धर्मबहादुर थापाले पनि व्यवसायिक तरकारी खेती थालेको चार वर्ष भयो। उहाँ  भगवती वडापोखरा कृषक समुहको अध्यक्ष समेत हो। अहिले यहाँका ४२ जना कृषक यो समुहमा आवद्ध छन्। कुनै समय परम्परागत रुपमा नगदे बाली लगाउने उहाँ राम्रो उत्पादन देख्दा मख्ख पर्नुहुन्थ्यो। जतिबेला नगदे बालीको उत्पादन हुन्थ्यो। त्यसबाहेक मौसम अनुसारका अन्य बालीहरूको पनि उत्पादन राम्रै हुन्थ्यो। त्यसपछि बिस्तारै उत्पादन घटेको अनुभूति हुन थालेपछि भने उहाँ चिन्तित हुनुभयो। व्यवस्थित नभएर हो की भन्ने सोचेर विषादीको प्रयोग गर्न बढाउन थाल्नुभयो। विषादीको प्रयोगले उत्पादन बढ्नुपर्नेमा घट्दै जादा उहाँलाई चिन्ता माथि चिन्तित हुनुपर्‍यो। माटोको उर्बरा शक्ति बढाउने उपाय खोज्दै जादा अन्तः विषादीको प्रयोग छोडेर घरमै उत्पादित कम्पोस्ट मल, लगायत झोल मल १, २, ३ को प्रयोग गर्न थाल्नुभयो। माटोको उब्जाउ शक्ति बढाउने उपाय खोजेका शाहीले सोसेको साथ पाएपछि अहिले उहाँको उत्पादन पनि बढेको छ अनि स्वास्थ्य पनि स्वस्थ ।  सोसेक नेपालले जलवायु अनुकुलन कृषि प्रविधिबाट तरकारी उत्पादन गर्न गर्न सिकाएपछि पुन उत्पादन बढ्न थालेपछि आफू पहिलेजस्तै मख्ख भएको उहाँ बताउनुहुन्छ।  कुनै समय राम्रो उत्पादन हुने बारीमा दुःख गरे अनुसार उत्पादन  नहुनुको कारण विषादी पो रहेछ,’ उहाँले भन्नुभयो, ‘तरकारी बालीमा  लाग्ने रोग कीरा नियन्त्रणको लागि विषादी प्रयोगको साटो जैविक विषादीको प्रयोग विधि अपनाएको छु।’

दैलेखको दुल्लु नगरपालिका —२ वडापोखराका ४८ वर्षीय धर्मबहादुर थापा

व्यवसायिक रुपमा तरकारी खेतीमा होमिएदेखि बजारमा पाइने विषादी प्रयोग गर्न छोडे पछि भने उहाँको बारीमा तरकारी उत्पादन पनि बढेको छ। ‘पहिले तरकारीमा विषादी नहाले तरकारी नै उत्पादन हुँदैन भन्ने सोच्थे तर, विषादी नहाल्दा पनि तरकारी झन धेरै फल्ने रहेछ भन्ने कुरा अहिले बुझेको छु,’ उहाँले भन्नुभयो।

पहिले कति बेला कुन समयमा तरकारी लगाउने भन्ने राम्रोसँग ज्ञान थिएन,’ थापाले भन्नुभयो, ‘अहिले हामी समुहमा आबद्ध हुँदै जादा तरकारी गरिरहेका छौँ। सोसेक नेपालको साथ पाएपछि हाम्रो अवस्था बुझेर हामीलाई विभिन्न तालिम सँगै सीप सिकाएर आत्मनिर्भर बनाएको छ। अहिले कृषि प्राविधिक पनि हाम्रो बारीमै पुगेर सल्लाह सुझाव दिनुहुन्छ ।’

‘प्राविधिकको सुझाब अनुसार हामी अघि बढिरहेका छौँ । सोसेक नेपालले कृषकहरूलाई छानेर १२ वटा पक्की टनेल, ३५ वटा कच्ची टनेल र २५ वटा भकारो पाएका छौँ। टनेलमा तरकारी लगाउन थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको छ।’

सरकारी कर्मचारीको वेवास्ता

संस्थाका कृषि प्राविधिक भने यसरी कृषकका घर घरमै पुगेर कृषकका कृषि समस्या हेरिरहँदा भने सरकारी कृषि प्राविधिकको अनुहारसमेत  नदेखेको उहाँ बताउनुहुन्छ। नेपाल कृषि प्रधान देश भएर पनि पछि पर्नुको मुख्य कारण यही हो,’ उहाँले भन्नुभयो, ‘संस्थाका कृषि प्राविधिक हाम्रा समस्या समाधानका लागि हाम्रा घरघरमा पुग्नुहुन्छ। हामीले कर तिरेर तलब दिएर राखेका हाम्रा सेवक कुन सूर्यको घाम तापेर बस्नुभएको छ ?’

करिब ४ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको थापाले मौसम अनुसारका काउली, गोलभेँडा बन्दागोभी लगायतका तरकारी लगाउदै आउनुभएको छ। सोसेक नेपाालको साथ पाएर स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि तरकारी खेतीमा  हिरा रावत र धर्म बहादुर थापा मात्र नभएर वडापोखरा गाउँ नै होमिएको छ । दुल्लु नगरपालिका वडा नम्बर —२ ,३,४ र ९ वडाका कृषक समूह समुह मार्फत व्यवसायिक कृषि खेतीमा  होमिएको सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द माझी बताउनुहुन्छ। उहाँका अनुसार  दुल्लु नगरपालिका वडा नम्बर —२ को भगवती वडापोखरा कृषक समूह र तरिया बेमौसमी तरकारी उत्पादन समूह रहेका छन्।

त्यस्तै वडा नम्बर —३ को मुलपानि कृषक समूह वडा नम्बर —४ को भण्डारी टोल बहुउद्देश्यीय कृषक समूह र वडा नम्बर ९ को कालिका दलित कृषि तथा पशुपन्छी सहकारी समूह प्यादुरामा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन्।  दुल्लु नगरपालिका क्षेत्रका बडा पोखरा, तरिया, सुवाछडा,भण्डारी टोल,पाली,प्यादुराका किसान अहिले परम्परागत खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेती तर्फ आकर्षित भएको प्राविधिक माझीको भनाई रहेको छ। 

दुल्लु नगरपालिका क्षेत्रमा डिसिए नेपालको आर्थिक सहयोग सोसेक नेपालद्वारा सञ्चालित ग्रीन कर्णाली परियोजनाले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका कृषक आधुनिक तथा प्रविधि मैत्री व्यवसायिक कृषि तर्फ होमिएको प्राविधिक माझी बताउनुहुन्छ।

स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि यहाँका कृषकले अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन्। यहाँका कृषकहरूले रासायनिक विषादी मलको प्रायोग बनद गरेर जैविक झोल मल १, २, ३ को प्रयोगमा ल्याएको सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द माझी बताउनुहुन्छ।

आर्थिक वर्ष २०७९- ८० देखि दुल्लु नगरपालिका क्षेत्रमा लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यहाँका  एक सय २० जना कृषकहरू मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेको उहाँको भनाई छ।  जस मध्ये ४० जनाले पक्की प्लास्टिक टनेलभित्र तरकारी खेती गर्दै आईरहेका छन भने ८० जनाले कच्ची प्लास्टिक टनेलमा व्यवसायिक तरकारी खेती गरेका छन्।

स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि यहाँका कृषकहरू आत्मनिर्भर हुँदै गएका छन्। व्यवसायिक तरकारी खेती गरेर आत्मनिर्भर हुँदै गएपछि परिवार परिवार पालनपोषण देखि पढाउन लेखाउन सहज भएको कृषकहरूको भनाई रहेको छ। व्यवसायिक कृषि गरे घर खर्च चलाएर पनि समुह मार्फत कृषकहरूले बचत गर्ने गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link