हिमाली गाउँको बस्ती। भूकम्पले चिरा चिरा परेको घर। त्यही घरको आँगन नजिकैको त्रिपालमुनि छ बारेकोट गाउँपालिका–४ रावतगिरी गाउँका काली बहादुरको परिवार। झन्डै बिचमा भूकम्पले चिरा चिरा परेको घर। त्यही चिरा परेको घरछेउ र चिसो त्रिपाल भन्दा अलि पर जस्तापाताको खोर। खोर गाई बाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन। न त त्यहाँ चराचुरुङ्गी वा कुखुरा पाल्नलाई निर्माण गरिएको हो। यो खोरभित्र हुनुहुन्छ १८ वर्षीय किशोर हेमराज रावत।
रावतगिरी गाउँका कालीबहादुर रावतका जेठो छोरा हेमराज मानसिक रोगी भएका कारण भूकम्पले भत्काएको घरबाट छुट्टै टहरामा उनलाई थुनिएको हो। कालीबहादुरको परिवार वडाले दिएको त्रिपाल नै आश्रय स्थल हो भने छोरा हेमराजको जस्तापाताको घेरबारमा बनाइएको खोरमै बस्नुहुन्छ। यो खोर ६ वर्ष अघि कै हो।
‘पहिले राम्रै बोल्ने गरेको, एकदमै धेरै चञ्चले स्वभावका हेमराज ५ वर्षको उमेरमा हनहनती ज्वरो आएर लखतरान परेपछि उपचारको लागि साथी संस्थाको सहयोगमा काठमाडौँ पनि पुर्यायौँ, औषधि खुवाएपछि बोली रोकियो’ हेमराजका बुबा कालीबहादुरले भन्नुभयो।
‘मानसिक रोग पनि हो भनेर टिचिङ, वीर अस्पताल हुँदै पाटनको मानसिक अस्पतालमा समेत धायौँ। घर फर्काएपछि अस्वाभाविक तरिकाले चल्ने, मातिने, उफ्रिने, पछारिने, अरू साथीहरूलाई घोच्ने, पिट्ने गर्न थालेपछि धौधौ थाम्ने गरेका थियौँ। अहिले जवान भएपछि थाम्न झनै गाह्रो भयो’ कालीबहादुरले सुनाउनुभयो।
परिवारका अरू सदस्यसँग घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहरूलाई झम्टिने, दाउरा वा हातहतियारले हान्दिने, गाईबस्तुलाई दाँतले टोक्ने गर्न थाले पछिल्लो ६–७ वर्षदेखि छुट्टै खोर बनाएर खोरमा राखिएको हो। हेमराजको यो अवस्था देखेर गाउँपालिकाले खोर बनाइदिएको बताइएको छ।
परिवारका अरू सदस्यले थाम्न नसकेको कारण कालीबहादुरले घर छोड्न नपाएको सुनाउनुभयो। ‘दिउँसो थुन्छौँ, साँझ नजिकै ओछ्यानमा सुताएको बेला जुनेली रातमा उठेर हिँड्दै गर्ने भएको छोरोलाई रेखदेख गर्न हामी सक्दैनौँ हेमराजको बुबा नै हुनुपर्छ’ हेमराजकी आमा तुलसीले भन्नुभयो।
मानसिक रोगी छोरोको रेखदेखमा समय दिन परेको कारण बेलाबेला गाउँमै खुलेका मजदुरी गर्न वा मुगलान जान पनि पाउँदिन। छोराकै रेखदेखमै समय बितेर कमाई काज पनि गर्न पाएको छैन’ कालीबहादुरले समस्या दर्साउनुभयो। ‘पिर पहिले पनि थियो, अहिले भूकम्पले घर भत्काएपछि झनै बिजोग छ,’ उहाँले दर्द सुनाउनुभयो।
‘सक्दो जति सबै प्रयास गर्यौँ, ५ रोपनी जग्गा र सुनचाँदी समेत करिब १२ लाख खर्च भयो। बिरामी नभएको भए उमेर बढेर तन्नेरी हुँदै गर्दा परिवारको भरोसा बन्थ्यो तर मानसिक रोगी भएको कारण कुनै अप्रिय घटना गराइदेला कि भनेर बाउआमालाई चिन्ता छ’ सोसेक नेपालको पुनर्स्थापना सहयोग कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता लक्ष्मी शाहीले भन्नुभयो।
खोरमा थुनिएका हेमराज चाहिँ कालीबहादुरका जेठो सन्तान हुनुहुन्छ। कालीबहादुर (४०) र उहाँकी श्रीमती तुलसी (३९)को दोस्रो सन्तान किरणकला (११), तेस्रो सन्तान स्वस्तिका (९) र चौथो तथा सबै भन्दा सानो आयुश रावत (७) गाउँकै भगवती मावि खेतलवाला थानमा क्रमशः ४, २ र १ कक्षामा अध्ययनरत छन्।
हेमराज समेत ४ सन्तानका अभिभावक कालीबहादुर र तुलसी दम्पतीको मुख्य पेसा कृषि हो। औषधिका लागि बेचेको बाहेक अव ४ रोपनी जग्गामा हिउँ परे दुई खेती गरी मुस्किलले तीन महिना खाना पुग्छ, एउटा थारो भैँसी छ, खेती लाउन गोरु अरूको मागेर ल्याउने गरेको तुलसीले बताउनुभयो।
‘उपचार र रेखदेख गरिदिने कोही संस्था वा निकाय भए आफैँले कमाउने काममा समय दिन सक्थेँ, जेठो छोरा त यस्तै भयो। अरू छोराछोरीको शिक्षादीक्षा राम्रो गर्न सकिन्थ्यो, काहीँ कोही छन् भने मद्दत चाहियो’ कालीबहादुरले सहयोगको याचना गर्नुभएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
- अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी