भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’

कस्तो हुन्छ होला जब आफ्ना प्यारा दाइभाउजू र भतिजाभतिजी घरमूनि पुरिएका छन् र गूहारगूहार भन्दै चिच्याइरहेका छन्, हातले खोस्रिदाखोस्रिदै उनीहरूको आवाज मुधुरो हुन्छ र अन्त्यमा लाश मात्र भेटिन्छ। त्यही भोग्नुभएका नलगाड चिउरीका भद्रबहादुर विश्वकर्माको आँखा अझै ओभाएका छैनन्।   

जितेन्द्र थापा/सुर्खेत

“मध्यरातमा भूकम्पले घर भत्कायो। घरसँगै आफन्तको वियोगले मुटु चिरा चर्कियो। दाइभाउजू रहेनन् छोरा रहेनन् यो कस्तो विपत्ति आइलाग्यो”, चिरा परेको घरलाई हेर्दै टोलाउँदै बरबराउनु हुन्छ, भद्रबहादुर।

जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका भद्रबहादुर विकलाई ठुलो विपत्ति आइलाग्यो। कार्तिक १७ गते गएको भूकम्पमा परेर दाइभाउजू र छोरा गुमाए। भूकम्पमा परेका दाइभाउजूले बचाउ बचाउ भनेको आवाज भद्रबहादुरका मानसपटलमा अहिले पनि ताजै बनेर गुन्जिरहन्छ। भूकम्पमा परेर छापिएका दाइभाउजूलाई उद्धारको प्रयास गर्दा गर्दै बचाउन सक्नुभएन। यो सम्झेर भद्रबहादुर भक्कानिँदै डाको छोडेर रुनुहुन्छ।

भूकम्पले गर्दा भारतको हिमाचल प्रदेशका विभिन्न गल्लीहरूमा वर्षौँसम्म ज्याला मजदुरी गरेर बनाएको घर भूकम्पले चिरा चिरा भएर ढलेपछि अब कसरी बाच्ने भन्ने पिरमा छन्। “भूकम्पले मर्नेहरू त मरिहाले हामी बाँचेकाहरूको जिउँदै मरु भएको छ” भद्रबहादुरले भन्नुभयो । देशमा रोजगारी छैन उत्पादनको आश छैन,” भद्रबहादुरले भन्नुभयो, “खुल्ला आकाशमुनि बास भएको छ वर्षौँसम्म भारतमा हात नङ्ग्रा खियाएर बनाएको घर पनि रहेन अब कसो गरी बाच्ने ?”

नेपालमा रोजगारी छैन। देश दिनहुँ दिन गरिब बन्दै छ,” भद्रबहादुरले भन्नुभयो, “नेपालमा कुनै कुराको आशा गर्नु भनेको आकाशको फल आँखा तरी मर भन्नुजस्तै हो। यस्तो विपद्को समयमा त यहाँ राहत पाउन सकिएको छैन अरू के कुराको आस गर्नु ?”

भारतको हिमाचल प्रदेशका विभिन्न गल्लीहरूमा वर्षौँसम्म ज्याला मजदुरी गरेर बनाएको घर भूकम्पले चिरा चिरा भएर ढलेपछि ५५ वर्षीय हिरे विक र उहाँको परिवारको ज्यान गयो। 

भारतमै दुःख सुख गरेर परिवार पालनपोषणका लागि भद्रबहादुरका दाइ ५५ वर्षीय हिरे विक भारतको हिमाचलबाट दसैँ मनाउन घर फर्किएको केही दिन मात्र भएको थियो। वर्षौँ देखि हिमाचलमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो। दुई वर्षअघि मात्र मजदुरीको पैसाले गाउँमै दुई तलाको घर ठड्याउनु भएको हो। तर वर्षौँ देखि आफूले दुःख गरी बनाएको त्यही घरमा पुरिएर हिरेसहित परिवारका चार जनाको ज्यान गुम्यो।

कात्तिक १७ गते गएको भूकम्पमा हिरेले ज्याला मजदुरी गरेर बनाएको घर भत्कियो। त्यसैमा परेर हिरेसहित वर्ष ३९ श्रीमती चन्द्रकली विक, वर्ष १४ को माइलो छोरा विमल र वर्ष १२ को कान्छा छोरा सुनिलले ज्यान गुमाए। ९ वर्षीय छोरी प्रेमकलीलाई भने काका भद्रबहादुरले भग्नावशेष ठाउँबाट उधिनेर बचाउन सफल भए।

जब गाउँमा कोलाहल मच्चियो……..

राति भूकम्प गएको बेला हिरेका भाइ भद्रबहादुर तरकारीमा पानी लगाउन बारीतिर गएका थिए। अचानक जमिन हल्लिन थालेपछि उहाँ अक्क न बक्क हुनुभयो। एक छिनमा छरछिमेकको कोलाहल सुन्नुभयो । “गाउँमा कोलाहल रुवाबासी चल्यो। परिवार चिच्याउन थाले। घर हेर्दाहेर्दै ढल्यो। पछि बच्चा बच्चीले ठूला बुवाहरू पुरिए भनेपछि हतार हतार दाइभाउजू सुतेको घरमा गयौँ,” भद्रबहादुरले भन्नुभयो।

भद्रबहादुरको पनि घर भत्किएको छ। त्यहाँ कोही पुरिएको थिएन। छोरी रूपा भने दाइ हिरेको घरमा सुतेकी थिइन।  भद्रबहादुरको घरदेखि हिरेको घर करिब ५० मिटरको दूरीमा छ।

“दाइभाउजूले आधा–एक घण्टासम्म ‘बचाउ बचाउ’ भनिरहेका थिए,” उहाँले भन्नुभयो, “माथिल्लो तलामा छोरीका खुट्टा देखिए। दुवै छोरीलाई बचाउन सफल भयौँ। दाइभाउजू भुईँ तलमा सुतेका रहेछन्, बचाउन सकिएन।”

उहाँले भन्नुभयो, “उद्धार गर्ने सामाग्री भएको भए दाइभाउजू र दुई छोरालाई पनि उद्धार गर्न सकिन्थ्यो। दाइले चाँडो निकाल मलाई जुवाले च्यापेको छ चाँडो तान भन्दै भन्दै आत्तिनुभएको थियो। हातले नै माटो उधिनेर फाल्दा फल्दै दाइको श्वास रोकियो । लास निकाल्दा निकाल्दै बिहानको ५ बजिसकेको थियो।”

घर ढलिहालेपछि उद्धारको लागि सरसामान पुरियो जसले गर्दा उद्धार गर्न निकै असहज भएको थियो,”उहाँले भन्नुभयो, “उद्धार गर्ने सामाग्री भएको भए दाइभाउजू र दुई छोरालाई पनि उद्धार गर्न सकिन्थ्यो। दाइले चाँडो निकाल मलाई जुवाले च्यापेको छ चाँडो तान भन्दै भन्दै आत्तिनुभएको थियो। हातले नै माटो उधिनेर फाल्दा फल्दै दाइको श्वास रोकियो । लास निकाल्दा निकाल्दै बिहानको ५ बजिसकेको थियो।”

आमा, बुवा र दाइले “बचाउ” भन्नुभएको थियो: प्रेमकला

रूपा र प्रेमकलाको उद्धार गर्न आधा घण्टा लागेको थियो। तर तल्लो तलासम्म माटो पन्छाउन पाँच घण्टा लाग्यो। एक घण्टासम्म पनि ‘माटो पन्छाऊ, मलाई निकाल’ भन्ने दाइ हिरेको आवाज सुनिरहेको भद्रबहादुर बताउनुहुन्छ । त्यसपछि भने आवाज सुनिन बन्द भयो। “नानीहरू माथिल्लो तलामा रहेछन्, छिट्टै भेटिए। दाइहरू तल सुतेका रहेछन्। एक घण्टासम्म बोलिरहेका थिए, पछि श्वास गइसकेछ।”

हिरेकी छोरी प्रेमकला चिउरीकै नेरा प्राविमा कक्षा ३ मा पढ्नुहुन्छ। प्रेमकला घाइते हुनुभयो। माटोमा पुरिएपछि पनि आफ्नो बुवा, दाइ र आमाले “बचाउ, बचाउ” भनेको  सुनिरहेको  प्रेमकला बताउनुहुन्छ, “अङ्कलले दिदी र मलाई निकाल्नुभयो। पछि केही थाहा पाएनौँ। पहिला त आमा, बुवा र दाइले ‘बचाउ’ भन्नुभएको थियो।”

पुरिएकाहरूको तत्कालै उद्धार गर्न भद्रबहादुर र उहाँका छोरा अभिलालसँग कुनै औजार थिएन। हातैले भग्नावशेष कोट्याएर प्रेमकला र रूपालाई बचाएको अभिलाल विक बताउनहुन्छ ।  उहाँ भन्नुहुन्छ, “पहिला रूपाको खुट्टा देखियो। उनलाई निकाल्न आधा घण्टा लाग्यो।”

पुरिएकाहरूको तत्कालै उद्धार गर्न भद्रबहादुर र उहाँका छोरा अभिलालसँग कुनै औजार थिएन। हातैले भग्नावशेष कोट्याएर प्रेमकला र रूपालाई बचाएको अभिलाल विक बताउनहुन्छ ।  उहाँ भन्नुहुन्छ, “पहिला रूपाको खुट्टा देखियो। उनलाई निकाल्न आधा घण्टा लाग्यो। ठूलो बुवा (हिरे) ‘जुवाले च्यापेको छ,तान’ भन्दै हुनुहुन्थ्यो। प्रेमकलाको केही देखिएको थिएन। पछि दुई फिटसम्म माटो तानेपछि मात्रै उनी भेटिइन्। नाक मुख सबैमा माटो थियो। माटो निकालेपछि श्वास आयो।”

चिउरी गाउँमा मात्र भूकम्पबाट १३ जनाले ज्यान गुमाएका छन्। सामान्य घाइतेको विवरण सङ्कलन गरिएको छैन। वडा कार्यालयका अनुसार १५ जना गम्भीर घाइते छन्। यो गाउँका मात्र ५६ घर ध्वस्त भएका छन्। बाँकी घर पनि बस्न नमिल्ने अवस्थामा छन्।

चिउरीका स्थानीयले भर्खरै मात्र अन्नबाली भित्र्याएका थिए। अन्न सबै पुरिएको स्थानीय तिलक विक बताउनुहुन्छ । अहिले जाडोको समयमा सबैजना गहुँ बारीमा पराल ओछ्याएर खुला आकाशमुनि रात बिताइरहेका छन्। उनीहरूको पुकार छ, ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’ चिउरी गाउँमा मात्र तिलकजस्तै १६८ परिवार खुला आकाशमुनि छन्।

नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर वडामा बजेट नभएको कारण पीडितको व्यवस्थापन गर्न कठिन भएको बताउनुहुन्छ ।  अहिलेसम्म नलगाड–१ को चिउरीमा १३ जना, पालीमा ७ र कल्पतमा पाँच गरेर २५ जनाले ज्यान गुमाएका छन्। यो वडाका सबै गाउँमा गरेर ७०० घर छन्। तीमध्ये अधिकांश क्षतिग्रस्त भएको महर बताउनुहुन्छ ।

चिउरी गाउँमा मृत्यु भएका १३ जनाको आइतबार भेरी नदीमा एकै पटक अन्त्येष्टि गरिएको थियो। वडाध्यक्ष महरका अनुसार शव व्यवस्थापन र उद्धारमा दुई दिन बितिसकेको छ। त्यसमा समय लागेको कारण घर भत्किएकालाई बास व्यवस्थापन गर्न नपाएको उहाँको भनाइ छ।

आवरण तस्बिरः भद्रबहादुर विश्वकर्मा

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link