दैलेख ठाटीकाँध गाउँपालिका वडा नं ६ का लवराज थापा सोच थियो नेपालमा भविष्य छैन। जिन्दगी बदल्न र पैसा कमाउन विदेश जानुपर्छ भन्ने उहाँको सोच थियो। त्यही सिलसिलामा काठमाडौँमा बसेर कोरिया जाने तयारी गरिरहनुभएको थियो। करिब एक वर्ष तयारी गर्नुभयो। पढाइमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परीक्षामा सोचेजस्तो नतिजा आएन।
त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो। लामो समय सम्म पनि माल्टाको भिसा आएन। विदेशको भिसा नआएपछि झनै मन आत्तिन थाल्यो। घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो। दिनरात गन्दै विदेशको भिसा नआएपछि उहाँले बाटो मोड्नुभयो। बाटो मोडेर विदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उहाँमा नयाँ सोच पलायो। नेपालमा निराशै निराशा भएका बेला पनि नेपालमा लगानी गर्ने वातावरण थिएन। त्यही पनि पहिलो पटक व्यवसायमा हात हालेका लवराजलाई व्यवसाय सम्बन्धी कुनै अनुभव थिएन। जसले गर्दा उहाँ चिन्तित हुनुहुन्थ्यो।
व्यवसाय गर्ने सोच बनाइरहँदा सिन्धुपाल्चोकका कुखुरा व्यवसायी कृष्णा खड्का सँग भेट भयो। दुई जनाले साझेदारीमा कुखुरा फर्म सञ्चालन गर्ने सहमति पश्चात् व्यवसाय सुरु गरेको लवराज थापा बताउनुहुन्छ। विदेशको सपना देखेको मैले नेपालमा सम्भावना छैन भन्ने लाग्थ्यो, उहाँले भन्नुभयो, विदेश जान पासपोर्ट र पैसा बोकेर हिकेको थिएँ विदेश जानका लागि तयार गरेको सबै पैसा कुखुरा फर्ममा लगानी गरे।
त्यतिखेर कोरोना भाइरसको ठुलो त्रास थियो। जतासुकै कोरोना फैलियो। कुखुरामा देखिएको रोगले उनीहरूको फर्म घाटामा गयो। त्यसपछि उहाँ आफ्नै गाउँ ठाटीकाँध फर्किनुभयो।
गाडी भाडा समेत अरूसँग जोहो गरेर घर फर्किएका लवराजसँग व्यवसाय गर्ने आँट थियो पैसा थिएन। केही पैसा विदेश जाने तयारीमा खर्च गर्नुभयो। केही पैसा कुखुरा व्यवसायमा खर्च भयो। केही नगरी एक छिन पनि बस्न नसक्ने लवराजलाई पैसाको अभावले गर्दा व्यवसाय सुरु गर्न आँट पुगेको थिएन।कहाँ जाऊँ के गरूँ भन्दै आत्तिएका लवराजले सहकार्य परियोजनाले युवा उद्यमीहरूलाई सहयोग गर्ने कार्यक्रमबारे सूचना पाउनुहुन्छ।
गाउँमै बसेर केही गर्न चाहने युवाहरूको लागि सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालित सहकार्य परियोजनासँग युवा उद्यमीहरूलाई सहयोग गर्ने कार्यक्रम थियो। उहाँ त्यही कार्यक्रममा छनौट हुनुभयो। संस्थाले उहाँलाई अण्डा उत्पादनका लागि २ सय चल्ला उपलब्ध गरायो। अण्डा उत्पादनका लागि ६ महिना सम्म उहाँले कडा परिश्रम गर्नुभयोे। उहाँको दैनिकी कुखुराको हेरचाहबाट सुरु हुन्थ्यो। अण्डाबाट राम्रै आम्दानी गर्न सफल भएका लवराजले बोइलर व्यवसाय र बङ्गुर पालन पनि सुरुवात गरेको बताउनुहुन्छ।
अहिले लवराजसँग ७ सय भन्दा बढी बोइलर छन्। सामान्यतया बोइलर ३ केजी सम्मका बेच्ने गरिन्छ तर पनि ८ देखि १० केजी सम्मका हुने गर्दछन्। बोइलर जति धेरै ठुलो भयो ग्राहकले त्यति रुचाउने भएको हुँदा लामो समयसम्म पाल्ने गरेको उहाँ बताउनुहुन्छ।
केही नयाँ गर्नुपर्छ भन्ने हुटहुटी भएका लवराजलाई नयाँ प्रविधिमा पनि त्यतिकै रुचि छ। परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले व्यवसाय गर्ने सोच भएको उहाँ बताउनुहुन्छ। कुखुरा फर्ममा आफैले निर्माण गरेको आधुनिक स्वचालित प्रविधि निर्माण गरेको बताउनुहुन्छ। जसरी क्रसरले बालुवा र गिट्टी एकै पटक अलग अलग गर्दछ त्यसै गरी अण्डा, पानी, दाना सबै एकै पटक अलगअलग व्यवस्थापन गर्न सजिलो हुने गरी प्रविधिको विकास गर्दै छु, उहाँले भन्नुभयो, अहिले हामीसँग प्रविधि नहुँदा श्रम बढी लाग्ने र श्रम बढी हुँदा महँगोमा उत्पादन हुने समस्या रहेको छ।
मेरा सफलता अनि असफलताका आफै कथाहरू छन्, उहाँ भन्नुहुन्छ, आफ्नै कथा अरूलाई सुनाउन पाउँदा आफैलाई खुसी लाग्दो रहेछ। मेरो जिन्दगीका सफलता अनि असफलताहरूको कसैको जिन्दगीका लागि सिकाई हुन सक्दछन्।
उमेरले २४ वर्ष पुग्नुभएको थापाको श्रीमती र एक छोरी छन्। आफूसँग केही गर्नुपर्छ भन्ने हुटहुटी थियो र त आज सफल हुँदै गइरहेको छु, उहाँ भन्नुहुन्छ, मसँग पहाडलाई अलि पर सम्म धकेल्ने साहस छ तर, सहयोग अरूको पनि चाहिन्छ।
विदेश जाने सपना बोकेका लवराजले विदेशमा बगाउने पसिना स्वदेशमै बगाउँदा स्वदेशमै मनग्य आम्दानी गर्दै आउनुभएको छ। पहिले स्वदेशमा गरे पनि केही हुँदैन भन्ने हुन्थ्यो, उहाँ भन्नुहुन्छ, पहिलो कुरा मेहनत र आफूलाई विश्वास गर्दै म सक्छु भन्ने भावनाका साथ मेहनत गरे सफलतामा पुगिने उहाँ बताउनुहुन्छ। स्वदेशमै मेहनत गर्दै परिवारसँग रमाउँदै व्यवसाय गर्दै आउनुभएको थापाले वार्षिक ७ देखि ८ लाखसम्म आम्दानी गर्दै आउनुभएको बताउनुहुन्छ। कुखुराको आधुनिक खोर र प्रविधिको प्रयोगमा संस्थाहरूले सहयोग गरेको भए गाउँमै रोजगारीको सिर्जना गर्न सकिने उहाँ बताउनुहुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
- अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी