घरभन्दा केही पर जस्तापाताको खोर छ। खोर भन्नासाथ बाख्रा र अन्य जनावर राख्न बनेको भन्ने लाग्न सक्छ। तर, यो खोर कुनै जनावरलाई राख्न निर्माण गरिएको होइन। बरु यहाँ मान्छे बस्छन्। हो, यो खोरभित्र जाजरकोटको बारेकोट गाउँपालिका ४ रावतगिरी गाउँका हेमराज रावत बस्नुहुन्छ।
रावत उमेरले १८ वर्ष पुग्नुभयो। सानैबाट मानसिक रोगी भएकाले उहाँलाई खोरमा बस्नुपर्ने अवस्था आएको हो। सानैबाट मानसिक अवस्था बिग्रिएपछि छुट्टै खोर बनाएर राख्नुपरेको हेमराजका बुवा कालीबहादुर रावत बताउनुहुन्छ।
‘पहिले अवस्था राम्रै थियो,’ कालीबहादुरले भन्नुभयो, ‘पाँच वर्षको उमेरमा ज्वरो आयो। हस्पिटल लगियो। पहिले बोल्ने तीन दिनपछि नबोल्ने भयो। बिस्तारै मानसिक अवस्था बिग्रँदै गयो। अनि उसको बास खोरमा हुन थाल्यो।’
‘पाँच वर्षको उमेरसम्म ठीकै थियो। त्यसपछि एक दिन नराम्रोसँग ज्वरो आयो। नजिकैको अस्पताल लियौँ। पहिले बोल्थ्यो तीन दिन पछि नबोल्ने भयो,’ कालीबहादुरले भन्नुभयो, ‘चारपटक काठमाडौँ लग्यौं। सन्चो भएन। दिनहुँ शरिर बढ्दै गएपछि थाम्न नसक्ने अवस्था आयो। सबैलाई कुट्ने लखेट्ने गर्न थाल्यो। धेरलाई घाइते बनाएपछि अहिले खोरमा राख्न बाध्य भयौँ।’
बुवा कालीबहादुरले छोराको उपचार गर्न कुनै कसरत बाँकी राख्नुभएन। उपचारकै लागि आफूसँग भएको जायजेथा बेच्नुभयो। तर, पनि छोराको मानसिक अवस्था ठीक हुन सकेन। खर्च र समयको लगानी धेरै भएर पनि अवस्थामा सुधार नआएपछि कालीबहादुर चिन्तित हुनुहुन्छ। त्यसपछि छोरालाई घरमै थन्काउनुबाहेक अन्य उपाय देखिएन।
‘उपचारमा खर्च गर्दा गर्दा अब त आर्थिक अवस्था पनि निकै दयनीय भइसकेको छ,’ भावुक हुँदै कालीबहादुर भन्नुहुन्छ, ‘घरमा राख्दा उल्टै गाउँका अन्य मानिसलाई झम्टिने, कुट्ने, दाँतले काट्ने गर्छ। त्यही कारणले घरभन्दा केही पर छुट्टै खोर बनाएर राख्न बाध्य भयौँ।’
अहिले कालीबहादुरलाई छोरो सन्चो नभएको भन्दा बढी चिन्ता आफू घरमा नहुँदा खोरबाट बाहिर निस्केर केही घटाउने हो कि लाग्छ। उमेर बढ्दै जाँदा पीर–चिन्तासँगै डर पनि लाग्न थालेको उहाँको भनाइ छ।
अब छोराको थप उपचार गर्न र आफू पालिन कालीबहादुरको आयस्रोत छैन। भएको जायजेथा र धनपैसा उपचारमै सकिइसक्यो। यसकारण अहिले कालीबहादुर सहयोगी हातको खोजीमा हुनुहुन्छ।
‘छोराको यस्तो अवस्थाले न त रमाउन सकियो, न कमाउन दिएको छ,’ कालीबहादुर आँखाभरि आँसु बनाउँदै भन्नुहुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
- अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी
![पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?](https://ins.news/wp-content/uploads/2023/09/hemraj-rawat-jajarkot.jpg?v=1695973252)