नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जङ्गलमा फिरन्ते जीवन बिताउँदै काठका कोशी मदुस बनाएर गाउँमा गएर अन्न पातसँग साटेर जीविका धान्ने राउटे समुदाय पछिल्लो समय परिवर्तन हुन् थालेका छन् ।
पहिले खेतीपाती नै गर्नुहुन्न भन्ने यो समुदाय अहिले सागपात उमार्ने, च्याउ उमार्ने लगायत कृषि क्षेत्रमा थोरै रुचि देखाउन थालेका छन् । च्याउ उत्पादन सम्बन्धी दुई दिने तालिम पाएका यो समुदायले अहिले च्याउ उत्पादनमा लागेका छन् ।
एइआईएन लक्जेम्बर्ग र डीसीय नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजीकरणमा लोपोन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । दुई दिने तालिम लिएका उनीहरूले बस्तीमा च्याउ उमारेका छन् । च्याउ यो समुदायले बढी रुचाउने गर्छन् ।
खेतीपाती, लेखपढ र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो जाति बस्तीमै च्याउ उत्पादन हुँदा खुसी पनि छन् । सोसेक नेपालमार्फत २० जना राउटे युवालाई च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि राउटेले बस्तीमै च्याउ उत्पादन गरेको राउटे युवा प्रकाश शाहीले बताउनुभयो ।
च्याउ राम्रो फल्यो, हामी आफैले खेती गरेर च्याउ फलाएका हौँ, उहाँले भन्नुभयो, ‘परालमा च्याउ फल्छ भन्ने हामीलाई विश्वास लागेको थिएन । तर, एक महिनापछि च्याउ फलेको देखेर खुसी हुँदै खाइरहेका छौँ, हामीलाई अब तरकारीको चिन्ता छैन ।’
राउटे समुदायको प्रकाश मात्र नभएर राउटे बस्तीमा च्याउ खान पाउँदा अन्य राउटे समेत खुसी भएको अर्का युवा दीपक शाहीले बताउनुभयो । ‘पहिला त पैसाले किनेर खान्थ्यौँ, अहिले आफैँले फलाएका छौँ । परालमा हुँदैन कि भन्ने लागेको थियो, परालमा पनि हुँदो रहेछ’ उहाँले भन्नुभयो ।
राउटेमा पोषणको आवश्यकता देखिएकाले उनीहरूलाई सम्झाई बुझाइ गरी च्याउ उत्पादन तालिम दिइएको सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो ।
सुरुमा त के पो गर्न लागेका हुन भन्ने देखेर दङ्ग थिए र सुरुमा मानेनन् । उहाँले भन्नुभयो, ‘परालमा च्याउ उम्रिन्छ भन्दा हाँसे पनि एक महिनापछि च्याउ उम्रिदा आजभोलि दङ्ग छन् ।’
यसरी च्याउ उमारेर खाएपछि मिठो लागेर अब असारमा अर्को खेती गर्छौ भनेका छन्, जोडी शिक्षक खत्रीले भन्नुभयो, राउटे समुदाय च्याउ र कुभिन्डो अत्यधिक रुचाउने गर्छन् ।
पहिले बस्तीमा च्याउ नहुँदा सुर्खेत, दैलेख बजार पुगेरै किनेर लिन्थे । अहिले आफ्नै बस्तीमा उत्पादन गरेर मीठो मानेर खाइरहेका छन्, अब राउटेहरू पनि तरकारीका फरक फरक स्वाद बदल्ने गरेको देखेर हामीलाई पनि राम्रो लाग्यो’ भैरवी गाउँपालिका–४ डाडीमाडीकी सरिता शाहीले बताउनुहुन्छ ।
बस्ती बसेको ठाउँमा कतै अन्न दाना उम्रिन्छ कि भनेर बसाइसराइ गर्दा आगो लगाएर जान्थे । अन्न उम्रिँदैन पनि थियो । तर, अचेल बस्तीमा च्याउ उत्पादन गर्न थालेपछि राउटे सामाजिकीकरण हुँदै गएको दैलेख आठबीस नगरपालिकाका खगेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘पहिलेको भन्दा अहिले राउटेमा धेरै परिवर्तन भएको छ, पर्वमा मात्र नुहाउने यो समुदाय आजभोलि फोहोर भएको महसुस हुने बित्तिकै नुहाउँछन्, फोहोर फाल्ने खाल्डो, अस्थायी शौचालयसमेत निर्माण गरेका छन्’ शाहीले भन्नुभयो ।
युवा र युवतीमा परिवर्तनको चाहनाले घचघच्याइरहेको छ भने बुढापाका गैर राउटेले गर्दै आएका काम तत्काल स्वीकार गर्ने पक्षमा छैनन् । बुढापाका राउटे परम्पराको निरन्तरता चाहन्छ । २०६५ सालमा पहिलो पटक राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, सरकार प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्दा मुखिया सूर्यनारायण शाहीको टोलीले स्थायी बसोबास, लेखपढ र खेतीपातीका कुरा अस्वीकार गरेको थिए ।
त्यस बेला प्रधानमन्त्रीले घर बनाइदिन्छौँ एकै ठाउँमा बस्नु प¥यो भनेको बेला राउटे मुखिया सूर्यनारायणको टिप्पणी थियो ‘हाम्रो परम्परामा त राउटे समुदायको कोही मान्छे मर्ने बित्तिकै त्यो ठाउँ छोड्नुपर्छ, तपाईँले राउटेलाई मर्न नपर्ने बनाइदिए एकै ठाउँमा बसोबास गरौँला ।’
खेती र पढाई लेखाइमा पनि यस्तै कडा अडान राखेका राउटे समुदायलाई च्याउ र मुला लगाउनेसम्म बनाउन राउटे परियोजनाका सहजकर्ताहरूको अथक प्रयासबाट सम्भव भएको हो । च्याउ खेतीले राउटे समुदायलाई खेती मै निर्भर बनाउन नसकिएला तर ससाना प्रयासहरूले उनीहरूलाई सामाजिकीकरणमा बिस्तारै उत्प्रेरित गराउन सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
- अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी