अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी

जितेन्द्र थापा/सुर्खेत

छोराछोरीले राम्ररी पढून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। असल, अनुशासित अनि सुसंस्कृत बनून् भन्ने चाहना पनि नहुने कुरै भएन। तर सन्तति कस्ता बन्छन् भन्नेमा उनीहरूले पाउने शिक्षाले ठूलो भूमिका खेल्दछ। त्यसो भए विद्यालय वा कलेज शिक्षा नै पर्याप्त हो त ? पक्कै होइन।

‘अभिभावकको बुझाइ नै सन्तानलाई विद्यालय पठाइदिएपछि सबै समस्या निराकरण भइहाल्छ भन्ने छ,’ बालकल्याण आधारभूत विद्यालय चिसापानीका प्रधानाध्यापक यमबहादुर बिसी भन्नुहुन्छ, ‘तर विद्यार्थीलाई असल बनाउन अभिभावक, शिक्षक र सरकार तीनै पक्षको सहकार्य हुनुपर्छ।’

बिसीका अनुसार बालबालिका विद्यालयमा रहने सात­आठ घण्टा मात्र हो। बाँकी समय घरपरिवारमै बिताउँछन्। विद्यार्थीले विद्यालयमा सिक्ने­जान्ने अवसर पाउँछन्। तर त्यसलाई अभ्यास गर्ने घरपरिवारमै हो। त्यसकारण शिक्षा र समाज सुधारका लागि अभिभावकमा पनि शैक्षिक रूपान्तरण आवश्यक छ।

बालबालिकाको पहिलो पाठशाला घर त्यसै भनिएको होइन। त्यसैले बोली, नैतिकता, व्यवहार, आचरण, सम्मानजस्ता कुरा अभिभावकले बाल्यावस्थामै सिकाउनुपर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउनुहुन्छ।

गृह शिक्षक कार्यक्रम लागू भएपछि व्यस्त विद्यार्थी

गुराँस गाउँपालिका ­४ चिसापानी टोलकी रजनी शाही अहिले ४ कक्षामा अध्यनरत हुनुहुन्छ। पहिले बर्खे बिदा उहाँको ध्यान पढ्न लेख्नमा भन्दा पनि खेल्न र साथीसँग रमाइलो गर्नमै बित्थ्यो। तर, पछिल्लो समय उहाँमा परिवर्तन आएको छ। उहाँको दैनिकी फेरिएको छ। बर्खा बिदा भएपछि कापी–कलमलगायतका शैक्षिक सामग्री खोज्नुपर्ने अवस्था हुन्थ्यो। कहाँ हराउँथे, हराउँथे पत्तै हुन्थेन। घरमा पढाउने सिकाउने पनि कोही हुँदैनथे। तर, पछिल्लो समय त्यो अवस्था परिर्वतन भएको छ। अहिले बर्खे बिदा भएदेखि उहाँ पढ्न थाल्नुभएको छ। जसले गर्दा शैक्षिक सुधारमा टेवा पुगेको छ।

त्यस्तै गुराँस गाउँपालिका ­४ चिसापानीकै अशोक शाहीको पनि पढ्नमा रुचि जाँदैनथ्यो। अहिले उहाँको बानी पनि परिर्वतन भएको छ। सोसेकले सञ्चालन गरेको कार्यक्रमले पढाइमा ध्यान जान थालेको छ। रजनी र अशोकजस्तै यहाँका अन्य विद्यार्थीको पनि दैनिकीमा परिवर्तन आएको छ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजनाअन्तर्गत गृह शिक्षक अवधारण लागू भएपछि विद्यार्थीमा सकारात्मक परिर्वतन आएको छ। पहिलेभन्दा अहिले धेरै परिर्वतन आएको र विद्यार्थीले बिदाको सदुपयोग गर्दा अध्यन क्षमतासमेत बढेको सहयात्रा दोस्रो परियोजनाका शिक्षा अधिकृत प्रेम बिष्टले बताउनुभयो। उहाँका अनुसार पहिले बर्खा बिदामा विद्यार्थीको पढाइमा ध्यान जाँदैनथ्यो भने पुनः विद्यालय सञ्चालन हुँदासम्म शैक्षिक सामग्री खोज्नुपर्ने अवस्था हुन्थ्यो। अहिले त्यो समस्या हटेको छ।

गृह शिक्षक अवधारणा आएदेखि बालबालिकाहरू र अभिभावकसँगै बसेर दैनिक कार्यतालिकाअनुसार बिदाको समयमा पनि आचारसंहिता निर्माण गर्ने, कथा, कविता लेख्ने र चित्र कोर्ने गरेको अधिकृत बिष्टले बताउनुभयो। उहाँका अनुसार अहिले गुराँस गाउँपालिकाभित्रका प्रत्येक वडाको प्रत्येक टोलटोलमा यो कार्यक्रम लागू भएको छ।

टोलका लागि बालकल्याण आधारभूत विद्यालय चिसापानीका प्रधानाध्यापक प्रेम बिसी र सम्पर्क शिक्षक लक्ष्मण शाहीले सहजीकरण गर्नुभएको छ। प्रत्येक घरमा गृह शिक्षकले पढाइका बारेमा दैनिक २÷३ घण्टा बालबालिकालाई सहजीकरण गरेको अभिभावक गृह शिक्षक दीपकबहादुर शाहीले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link