रथयात्रा रौनक

ध्रुव भट्टराई/मोरङ

वि सं १९८८ सालमा खटयात्राबाट सुरु भएको राधाकृष्ण रथयात्रा बिहीबार भव्य रुपमा निकालिएको छ । रथयात्रामा सहभागी हुन यसपटक भारतसहित देशका विभिन्न पालिकाका प्रमुखहरू विराटनगर आएका छन् । २२ फिट लम्बाइ, १८ फिट चौडाइ र १८ फिट उचाइ रहेको रथको सजावट  भारतको कलकत्ताबाट कालिगढ झिकाएर गरिएको हो। रथयात्रालाई विराटनगरमा ऐतिहासिक एव धार्मिक महत्वका रुपमा हेरिने गरिन्छ ।
आफ्नै मौलिकतामा अघि बढिरहेको रथयात्रा सुरु हुनुपूर्व मन्दिर परिसरमा पूजाआजा गरिन्छ। कृष्णजन्माष्टमीको मध्यरात १२ बजे मन्दिरमा रहेको राधाकृष्णको अचल विग्रह आकृतिसँगै चल विग्रह राखेर षोडशोपचार पूजा गरिन्छ।
कृष्णको जन्मसँगै गरिने पूजापछि भोलिपल्ट बिहानबाट राधाकृष्णको अचल विग्रह नजिक राखिएको चल विग्रहलाई प्रातकालिन पूजाआजा गरिन्छ। यससँगै करिब अढाइ घण्टाको विषेश पूजापछि चल विग्रहमा भगवान जगाउने कार्य हुनेछ।
सोही चल विग्रहलाई रथयात्राका क्रममा रथमा राखिने गरिन्छ। रथयात्राको सुरुआत दिउँसो करिब ३ बजेको तयारीसँगै मन्दिरमा रहेको चल विग्रहलाई पुनः षोडशोपचार पूजा गरि रथमा राखिन्छ।
मन्दिरका गुरुले निकालेको साइत समयमा रथ निकालिन्छ। रथमा मन्दिरका मुख्य गुरु पण्डित भवानीप्रसाद निरौलाको अगुवाइमा शंखनादका लागि एकजना, स्वस्तीवाचनका लागि दुईजना र एकजना सहायक गरी पाँचजना गुरुको उपस्थिति रहन्छ।
मन्दिर परिसरबाट निकालिएको रथयात्राले नगरपरिक्रमा पुरा नहुन्जेल दुई जना गुरुले वेद वाचन गर्छन्। मध्यरात जन्मिएका कृष्णसँगै राधाको युगल जोडीलाई  दर्शनका लागि नगरपरिक्रमा हुने गरेको रथयात्रा मूल समारोह समितिले जनाएको छ।
९ किलोमिटरको रथयात्रा पछि युगल जोडीलाई पुनः मन्दिरमा पुराएर पूजाआजा र आरती सहित मन्दिरमा रहेको अचल विग्रहभन्दा फरक स्थानमा राख्ने गरिएको राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलास रेग्मीले बताए ।
विहीबार अपराह्न राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी भएर फेरि मन्दिर प्राङ्गणमा पुगेर टुंगिएको छ ।


नौ किलोमिटर दूरीमा यात्रा गराइने रथले विभिन्न ४३ स्थानमा विश्राम लिने मूल आयोजक समितिले जनाएको छ । रथ तान्न विभिन्न स्थानबाट आएका भक्तजनको विराटनगरमा घुइँचो लागेको छ ।
रथयात्रामा नेपाल र भारतका विभिन्न निम्तालु सहित पाँच लाख सर्वसाधारण सहभागी भएको आयोजकको भनाइ छ । मूल समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रामा छिमेकी मुलुक भारतका भक्तजनहरू आउने गरेको छन् ।
रथयात्रामा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link