कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि

खेलकर्मी भन्छन्, सरकारको नजरमा खेलकुद प्राथमिकतामा परेन’

ध्रुव भट्टराई/मोरङ

कोसी प्रदेश सरकारले बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरेपछि खेलकर्मीहरू निराश देखिएका छन् । खेलकर्मीका अनुसार प्रदेश सरकारले विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा खेल क्षेत्रमा न्यून बजेट विनियोजन गरेका बताएका छन् ।

उनीहरूले केही दिन अघि मात्र प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटले खेलकुदलाई पूर्ण रूपमा उपेक्षा र अन्याय गरेको बताएका हुन् ।

‘सरकारले खेललाई बुझ्न सकेन’, कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेले भने, ‘खेलकुदका लागि कोसी प्रदेशको भर्खरै पारित भएको बजेटमा खेलकुदको क्षेत्रमा ५ करोड ६१ लाख बजेट छुटाइएको छ । अघिल्लो आर्थिक वर्षमा खेल क्षेत्रमा ९ करोडभन्दा बढी बजेट थियो । यो पनि कटौती गर्ने काम भएको छ ।’

वाग्लेका अनुसार – ‘ प्रदेश स्तरको कबड्डी प्रतियोगिताका गर्न १० लाख रुपैयाँ छुट्टाएको छ । खेलकुद बोर्डलाई अहिले नै प्रदेशस्तरीय प्रतियोगिता गर्नुपर्ने छ । कबड्डीमा मात्रै ६ करोडभन्दा माथि खर्च हुने वाग्लेको अनुमान छ । अर्को वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । त्यसमा ९ करोड भन्दा बढी खर्च हुन्छ । त्यसको तयारीका लागि अहिलेदेखि नै खेलाडी उत्पादनमा लाग्नुपर्ने देखिन्छ । जसका लागि प्रशिक्षकहरू नियुक्ति गर्नुपर्ने अवस्था छ । तर बजेट छैन ।

‘प्रदेश खेलकुद ऐन २०७६’ अनुसार २०७८ असोज २४ गते प्रदेश खेलकुद बोर्ड गठन भए पनि बोर्डको प्रदेश कार्यालयमा कर्मचारीको अभाव रहेको उनले बताए ।

बोर्डको सदस्य सचिवमा २०७८ चैत २२ गते वाग्ले नियुक्त भएका थिए । वाग्लेका अनुसार १५ सदस्यीय बोर्डमा १३ जना मात्रै सदस्य रहेको छन् । बोर्ड गठन भएको यतिका समयसम्म प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी नहुँदा प्रशासनिक कार्य सञ्चालनमा समेत समस्या हुँदै आएको छ ।

‘प्रदेश खेलकुद विकास बोर्डमा अहिलेसम्म १ जना पनि दरबन्दीको कर्मचारी छैन । त्यहाँ सामाजिक विकास मन्त्रालयबाट एक जना अधिकृत कामकाज गर्नका लागि भनेर पठाइएको छ । लेखापाल पनि चेकमा साइन गर्न कहिले काहीँ आउनु हुन्छ । ज्यालादारीको रूपमा कम्प्युटर अपरेटर, सवारी चालक र कार्यालय सहयोगी राखिएको छ,’वाग्ले भन्छन्, ‘जिल्ला खेलकुद विकास समितिमा पनि १३ जनाको दरले समिति छ । राखेपका कर्मचारीहरू कहाँ हुनुहुन्छ हामीलाई थाहा छैन । ७६ जना कर्मचारी प्रदेशमा छन् । तर, प्रदेश खेलकुद बोर्ड उहाँहरूलाई नियन्त्रण गर्न सक्दैन । खेल क्षेत्रका कर्मचारी प्रदेशमा समायोजन हुनै सकेनन्।’

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वमानार्थ वरिष्ठ उपाध्यक्ष तथा खेलकुद क्षेत्रका अगुवा सन्तोष बानियाँले प्रदेशमा खेलकुदलाई निरन्तर सञ्चालन गर्न मास्टर प्लान नै नबनेको बताउँछन् ।

‘पदाधिकारीहरिलाई काम गर्न निकै अप्ठ्यारो छ । राजनीतिले कहिले के हो भन्ने अवस्था छ,’उनले भने,‘गुरुयोजना नभएको कारण परिणाम आएन । सरकार र राजनीतिज्ञले खेल क्षेत्रलाई बुझ्न नसक्दा सिङ्गो खेलकुद क्षेत्र त्यसको मारमा परेको छ ।’  उनले प्रदेश सरकार खेलकुदमैत्री बन्न नसकेको गुनासो पनि गरे ।

‘अरू प्रदेशमा खेलकुद प्राथमिकतामा परेको छ । कोसी प्रदेशले भने उपेक्षा गर्‍यो’, बानियाँले भने,‘विकास भनेको भौतिक निर्माण, सडक, मात्रै भन्ने बुझाइ रहेछ।’

प्रदेश खेलकुद बोर्ड कोशिका अनुसार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश भित्रका खेलकुद गतिविधि सञ्चालन तथा खेलाडी सम्मानका लागि २० वटा शीर्षकमा ५ लाख देखि १ करोड ४० लाख रुपैयाँ गरी कुल ५ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चालु आवको लागि २० शीर्षकमा विनियोजन गरेको बजेट मध्ये प्रदेश खेलकुद विकास बोर्ड तथा १४ जिल्ला खेलकुद समिति सञ्चालन एव व्यवस्थापन  अनुदान शीर्षकमा १० लाख सोही शीर्षकमा पुनः १ करोड ४० लाख, अन्तर प्रदेश तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा सहभागिता शीर्षक २० लाख, राष्ट्रपति रिनिङ शिल्ड प्रतियोगिता, जिल्ला तथा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता शीर्षकमा  ६० लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीलाई सम्मान तथा प्रोत्साहन शीर्षक ५ लाख, मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता पुरुष तथा महिला शीर्षकमा ४० लाख लगायत रहेका छन् । त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयमार्फत केही जिल्लामा खेल मैदान निर्माण, स्तर उन्नति गर्ने शीर्षकमा ६ लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेको हो ।

कोसी प्रदेशको भर्खरै पारित भएको बजेटमा खेलकुदको क्षेत्रमा ५ करोड ६१ लाख बजेट छुटाइएको छ । ०७९/८० आर्थिक वर्षमा खेल क्षेत्रमा ९ करोड भन्दा बढी बजेट थियो ।

प्रदेश सरकारले ०७८/७९ मा युवा खेलकुद तथा श्रम तथा रोजगार क्षेत्रको विकासका लागि १६ करोड रकम विनियोजन गरेको थियो । सो वर्ष टङ्क आङबुहाङ आर्थिक मामिला मन्त्री थिए ।

०७७/७८ को बजेटमा खेलकुद पूर्वाधार विकास र विस्तारका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । सोही समयमा विराटनगरस्थित सहिद मैदानमा फ्लडलाइट्स जडान कार्य सम्पन्न गर्ने प्रदेश सरकारले जनाएको थियो ।

त्यस बेला इन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री थिए । त्यसैगरी, आङ्बो आर्थिक मामिला मन्त्री भएको ०७६/७७ मा खेलकुदलाई ४७ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो वर्ष सहिद मैदानमा फ्ल्डलाइट्स जडानका लागि ५ करोड रुपैयाँ व्यवस्था गरिएको थियो। त्यसैगरी, ०७५/७६ को बजेटमा खेलकुद क्षेत्रलाई ४३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link