झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो

ध्रुव भट्टराई/मोरङ

पछिल्लो समय तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा हात्तीको आतङ्क बढेको छ। हात्तीको हुलले गत साउन देखि झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले १० वर्ष यताकै सबै भन्दा बढी हात्तीको बिजाइँ यी तीन जिल्लामा बढेको देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार– ‘साउन यता सबै भन्दा बढी  झापामा ५४, मोरङमा १६ र सुनसरीमा तीन गरेर ७३ वटा घरमा क्षति पुर्‍याएको छ । उनका अनुसार मोरङमा ८१ र झापामा दुई वटा गोठमा क्षति गरेको छ ।’ त्यसै गरी कृषकले सात बिघा १५ धुर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट गरिसकेको प्रहरी उपरीक्षक कँडेलको भनाइ छ ।

प्रहरीका अनुसार भारतबाट हुल बाँधेर झापा हुँदै पूर्वी नेपाल प्रवेश गरेका हात्ती पूर्वी मोरङ र झापाका जङ्गललाई वासस्थान बनाएर बसिरहेका छन् । डेढ महिनादेखि सुनसरी र मोरङमा बसिरहेका हात्तीको बथान साँझ परेपछि गाउँ छिर्ने गरेकाले थप क्षति बढ्न सक्ने छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार– सुनसरी, मोरङका विभिन्न स्थानमा १० देखि १८ वटा हात्तीका समूह छन् । मङ्सिर महिनादेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् । मङ्सिर यता मात्र हात्तीको आक्रमणबाट झापामा तीन जना, सुनसरी र मोरङमा एक एक जना गरी ५ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

भारत हुँदै झापाको बाहुन डाँगीबाट प्रवेश गरेका हात्तीको समूह अहिले झापाको हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी र पथरी क्षेत्रका जङ्गलमा एक महिना यतादेखि बस्दै आएका छन् । साँझ परेपछि चरणका लागि ती हात्तीको समूह गाउँ पस्ने गरेका छन् । जसका कारण स्थानीय आतङ्कित हुँदै आएका छन् ।

प्रहरी उपरीक्षक कँडेलले स्थानीय जङ्गलमा बसेका हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार– ‘हात्तीका कारण सर्वसाधारण त्रसित मात्रै भएका छैनन्, ज्यान पनि गुमाइरहेका छन्, बस्तीनजिक छिरेर आतङ्क मच्चाइरहेको छ । बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ।’ नियमितजस्तै देखा पर्ने जङ्गली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेको जानकारी कँडेलले बताउनुभयो ।

साँझ परेसँगै स्थानीय जङ्गलबाट गाउँ पसेका हात्तीको समूहले स्थानीयको घर बालीमा क्षति पुर्‍याउँदै आएका छन् । जसका कारण डिभिजन वन कार्यालय झापाले हात्तीले पुर्‍याएको क्षतिको आधारमा ५८ लाख २८ हजार ९४० रुपैयाँ राहत र क्षतिपुर्ती बापतको रकम वितरणको तयारी गरेको छ । डिभिजन वन कार्यालय झापाले साउनदेखि असोजसम्म पहिलो चरणका राहतका लागि सो रकम उपलब्ध गराउन कोशी प्रदेशको वन मन्त्रालयमा रकम माग गरेर पठाएको छ ।

कार्यालयका सहायक पाँचौँ रुद्र सापकोटाले चालु आवको साउनदेखि असोज सम्म मात्र पहिलो चरणका राहतका लागि ५८ लाख २८ हजार ९४० रुपैयाँ राहत र क्षतिपूर्तिको रकम उपलब्ध गराउन मन्त्रालयमा रकम माग गरिएको जानकारी दिनुभयो ।

उहाँले यो तीन महिनाको अवधिमा क्षतिपूर्तिको लागि तीन सय २१ जनाको निवेदन परेको बताउनुभयो । हात्तीले घर गोठ  भत्काएर क्षति पुर्‍याएको राहतका लागि १४ लाख ८२ हजार ५००, घरमा रहेको अन्नबाली खाएर नष्ट गरेको राहत स्वरूपको ६ लाख ३९ हजार ६००, घर बाहिर खेती नष्ट गरेको २१ लाख १५ हजार ९००, एउटा चौपाया मारेको १० हजार, हात्तीको आक्रमणबाट तीन जना घाइते बनाएको ५ लाख ८० हजार ४० रुपैयाँ र एक जनाको मृत्यु भएकाले १० लाख क्षतिपूर्ति माग गरिएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा हात्तीका कारण जनधनमा भएको क्षति स्वरूप एक करोड १० लाख राहत वितरण गरिएको थियो। त्यसै गरी आर्थिक वर्ष ०७९/०८० मा एक करोड ८ लाख रुपैयाँ राहत वितरण गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

२०६२ सालदेखि हालसम्म हात्तीपीडित तीन हजार १९५ जनालाई विभिन्न शीर्षकमा रु ६ करोड ४७ लाख १४ हजार ४४० राहत वितरण गरिएको तथ्याङ्क छ । मोरङ जिल्लामा पनि हात्तीले पुर्‍याएको क्षतिको सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका– २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ। सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च बापत रु २० हजारसम्म दिने कानुनी व्यवस्था छ ।

घर गोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्य बालीमा क्षति पुर्‍याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ। सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरे पनि अधिकांश पीडितले समयमै राहत रकम पाउन भने सकेका छैनन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link