साकार हुँदै विराटनगरको नगर बस सपना

ध्रुव भट्टराई/मोरङ

विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि गृह कार्य सुरु भएको छ।जसका निम्ति निजी क्षेत्रको लगानीका लागि विराटनगर यातायात प्रालि तयार भएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीले उक्त कम्पनीलाई नगर बस सञ्चालनको अनुमति दिएको हो। नगर बस सञ्चालनका लागि एक मात्र आवेदन परेको विराटनगर यातायात प्रालिविरुद्ध कुनै उजुरी नपरेपछि कम्पनीले सञ्चालन अनुमति पाएको लगानी प्राधिकरणले जनाएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीका अनुसार, वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने प्रयोजनको लागि निजी कम्पनीहरूलाई उजुरी तथा दाबी विरोध गर्न सार्वजनिक सूचना जारी गरे पनि उजुरी तथा दाबी विरोध नपरेपछि विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो।

विराटनगर महानगरपालिका भित्र नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिले अनुमति पाएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीले वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने प्रयोजनको लागि निजी कम्पनीहरूलाई उजुरी तथा दाबी विरोध गर्न सार्वजनिक सूचना जारी गरे पनि उजुरी तथा दाबी विरोध नपरेपछि विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो।

प्रदेश लगानी प्राधिकरण कोसीमा नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिले आवश्यक परियोजना बनाई निवेदन दिएको थियो।

प्राधिकरणले विराटनगर यातायात प्रालिको निवेदन माथि उजुरी तथा दाबी विरोधका लागि गएको १० साउन २०८० मा ३० दिन भित्र अन्य निजी कम्पनीहरूलाई दाबी विरोध तथा उजुरीका लागि सार्वजनिक सूचना जारी गरेको थियो।तर सो सूचनामा कसैको दाबी ,विरोध र उजुरी नपरेपछि नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिलाई छनौट गरिएको प्रदेश लगानी प्राधिकरण कोसीका सूचना अधिकारी वासुदेव कुँवरले बताउनुभयो।

सूचना अधिकारी कुँवरले विराटनगर महानगरपालिकाले यस अघि सार्वजनिक निजी साझेदारी मोडलमा नगर बस चलाउन लगानी प्रवर्द्धन प्रदेश लगानी प्राधिकरणलाई पत्र पठाएर लगानीकर्ता खोज्न सहजीकरण गरिदिन आग्रह गरेको थियो।सोही अनुसार लगानी प्राधिकरणले लगानीकर्ता खोजी गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

महानगर भित्र नगर बस सञ्चालनका लागि निजी क्षेत्रले चासो देखाए पनि विराटनगर यातायात प्रालिको मात्र आवेदन परेको थियो।सोही अनुसार  विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि छनौट गरिएको कुवरले जानकारी दिनुभयो।

कुँवरका अनुसार विराटनगर यातायात प्रालिले ३८ करोड ९७ लाख रुपैयाँ लगानीमा बस खरिद सहित महानगर भित्र नगर बस सञ्चालनका लागि तयार भएको हो।

सार्वजनिक निजी साझेदारी मोडल अनुसार कुल लगानीको ३० प्रतिशत विराटनगर यातायात प्रालि र अन्य ७० प्रतिशत लगानी बैकको रहनेछ।

नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालि छनौट भए पनि लगानी प्राधिकरणले बनाएको मूल्याङ्कन समितिले परियोजनाको लागि अनुमति दिएपछि प्राधिकरणको बोर्डले लगानी अनुमति दिएपछि मात्र विराटनगर यातायात प्रालिले आवश्यक काम अघि बढाउन पाउनेछ।

गएको फागुन ०७७ मा प्रदेश–१ को सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा)नेपाल पूर्वाधार विकास बैङ्कबिच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही अनुसार सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन हुने ठुला परियोजनामा पूर्वाधार विकास बैङ्कले लगानी गर्नेछ।

महानगरपालिकाले रुट दिने भएपछि केही निजी कम्पनीहरूले नगर बस सञ्चालन गर्न चासो देखाएका थिए। झन्डै एक दर्जन जति कम्पनीहरूले रुटको बारेमा चासो राख्दै महानगरसँग सम्पर्क गरिरहेका थिए। तीमध्ये धेरैजसो कम्पनीहरूले आवश्यक पर्ने बस उपलब्ध गराउने भन्दै महानगरमा पुगेका भए पनि विराटनगर यातायात प्रालिबाहेक अन्य कुनै पनि लगानीकर्ता विराटनगर महानगरपालिका क्षेत्रभित्र नगर बस सञ्चालन गर्नका लागि तयार देखिएनन्।

महानगर कार्यालयका अनुसार नगर बस सञ्चालन गर्ने तयारीका बस चलाउने रुट पहिचान गर्ने काम पुरा भइसकेको छ। यस अघि नै महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा नगर क्षेत्रमा बस चलाउने सोच बनाएर सम्भावित रुटको अध्ययन गरेको थियो।

महानगरपालिकाले अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि चार वटा रुट पहिचान गर्ने काम सम्पन्न गरेको छ। महानगरले बुढीगंगाको गंगाचोकबाट जोगवनी सीमा क्षेत्रसम्म सञ्चालन हुने एउटा रुट तयार गरेको छ। यस्तै विराटनगर ४ इक्राहीबाट नोवेल अस्पताल–विराटनगर विमानस्थल –कञ्चनबारी –पोखरिया –तीनपैनी –कोसी अस्पताल –देवकोटा चोक –जतुवा हुँदै बुधनगरको प्रहरी चौकीसम्म जाने दोश्रो रुट तय गरेको छ। यसैगरी तेस्रोमा दक्षिण–पश्चिम विराटनगरको दशगजा क्षेत्रबाट दरैया –बखरी –पञ्चमुखी चोक –पिचरा –बसपार्क –शनिमन्दिर –जलजला मोड –कोसी अस्पताल –तीनपैनी –पुष्पलाल चोक हुँदै मिलन चोक जाने रुट तय गरेको छ।

महानगरपालिकाले चौथो रुटको रूपमा हाट खोलाबाट देवकोटा चोक–महावीर रोड –घाँस चोक –केशलिया नहर हुँदै ब्रह्मपुरासम्म नगर बस सञ्चालन गर्ने रुट तयार पारेको छ। विराटनगर महानगरपालिकाका नगर रक्षक इन्स्पेक्टर राजन पौडेल नेतृत्वको समितिले नगर बस सञ्चालन गर्न सम्भव रहेको रुटको अध्ययन गरेर महानगरलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत नगर बस सञ्चालन गर्न सहिने भन्दै लगानी बोर्डलाई सहजीकरणका लागि पत्र पठाएको थियो।

नगर बस सञ्चालन गर्दा महानगरपालिकाले लगानीकर्तालाई आवश्यक पर्ने रुट उपलब्ध गराउने, ती रुटहरूको भाडा दर निर्धारण गरिदिने र सहज सञ्चालनका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा सहयोग गरिदिनेछ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीका अनुसार नगर बसमा महानगरको लगानी साझेदारी रहनेछैन।

उहाँले सवारी सञ्चालन रुट, भाडा दर निर्धारण र सहजीकरणमा मात्र महानगरको साझेदारी हुने बताउनुभयो। २६ फागुन २०७९ मा विराटनगरमा नगर बस सञ्चालन गर्न गृहकार्य सुरु भएको थियो ।महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा सम्बद्ध कम्पनीकै गाडीमार्फत बिहीबार रुट परीक्षण गर्ने काम भएको थियो।सो समयमा कुन रुटमा, कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गर्ने काम भएको थियो।

नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले निःशुल्क आवागमन गर्न पाउने बताइएको छ । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने तयारी गरिएको छ।महानगरमा सञ्चालन हुने नगर बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ ।

सुरुवात चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको महानगर कार्यालयले जनाएको छ। निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया लागि नगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई भएको थियो। यसअघि १८ फागुन ०७९ मा उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।

पछिल्लो समय निजी क्षेत्रका केही इच्छुक कम्पनीहरूलाई महानगरपालिकाले रुट भिजिट पनि गराएको थियो। नगर रक्षक पौडेलका अनुसार रुटमा कस्तो बस चलाउन सकिन्छ र जनघनत्वको अवस्था के छ भन्ने अध्ययन गर्न काम यसअघि नै  भएको थियो। सो क्रममा चार वटामध्ये राजमार्गमा ४५ सिट क्षमताको बस र भित्री रुटमा ४२ सिट क्षमताको बस चलाएर परीक्षण गरिएको जानकारी दिए।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो। ‘महानगरको १९ वटै वडाभित्रको चोकहरूबाट नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ,’ कार्कीले भन्नुभयो, ‘हरेक १०/१० मिनेटको अन्तरमा नगर बस चोकहरूमा आउनेछ।’

त्यसैको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सम्भाव्यता रुटहरूको परीक्षण पनि पूरा गरेको छ। अहिले चार वटा रुटहरू तय गरिएको छ। आवश्यकता अनुसार यी रुटहरू थपघट हुने उहाँले जानकारी दिनुभयो।

नगर बस सञ्चालनमा ल्याएपछि सिटी रिक्साको पनि व्यवस्थापन गरिने उहाँले बताउनुभयो।नगर बस सञ्चालन भएपछि महानगरभित्र चल्ने सिटी सफारीलाई पनि दर्ताको प्रक्रियामा लगिने भएको छ। अहिले महानगरभित्र दर्ता भएका १ हजार १ सय वटा सिटी सफारी छन् तर यहाँ चार हजार भन्दा बढी सिटी सफारी सञ्चालनमा रहेका छन् अन्य सफारीलाई दर्ता प्रक्रियामा लगेर व्यवस्थित रूपमा सञ्चालनमा लैजाने संयन्त्र विकास गरिँदै आएको महानगरले जनाएको छ।

विराटनगर महानगरपालिकाले २०५६÷५७ सालमा केही रुटबाट नगर बस सञ्चालनको अभ्यास गरेको थियो। त्यति बेला महानगरको इन्धन सहयोगमा केही समय नगर बस सञ्चालन गरेको निजी क्षेत्रले बसमा यात्रा गर्ने यात्रु अभाव झेल्नु परेपछि सेवा बन्द गरेको थियो।

आवरण तस्बिर: नगर बस सञ्चालन गर्ने योजनासहित रुट परीक्षणमा सहभागी हुँदै महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की सहितको टिम।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link