“अर्थतन्त्र सुधारका लागि सरकार तयार नभए उद्योगी व्यवसायी सडकमा”

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देही नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताउनु भयो।

उहाँले उद्योग व्यवसायमा सङ्कटकालको स्थिति रहेको बताउँदै साना ठुला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनु भयो। ‘करको दायरा मात्रै होइन दर पनि वृद्धि भएको छ, बैङ्क व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ।’ उहाँले भन्नुभयो–‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन।’  बुटवल उद्योग वाणिज्य सङ्घको आयोजना गरिएको कोसेली घर तथा मोटिभेसन कार्यक्रममा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको कारण उद्योगी व्यवसायी मारमा परेको बताउनु भयो। उहाँले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भइसकेको र कतिपय पलायन हुने स्थितिमा रहेको भन्दै यसमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले महिला उद्यमीको उद्यमशीलता विकास तथा उत्पादित बस्तुको बजारको पहुँच बढाउनको लागि कोसेली घर सञ्चालन गरिएको पनि अध्यक्ष कसजूले जानकारी गराउनु भयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महासङ्घकी सदस्य तथा महिला समितिकी सभापति कमला श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व कार्यकारिणी सदस्य रञ्जित आचार्यले व्यावसायिक प्रवर्द्धन सम्बन्धी मोटिभेशनल प्रवचन दिनुभएको थियो।

कोसेली घर सञ्चालनको लागि स्थान तथा त्यसको व्यवस्थापन बुटवल उद्योग वाणिज्य सङ्घले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनु भएको छ। त्यस्तै कोसेली घरमा विद्युत् तथा पानीको व्यवस्थापन सङ्घले नै मिलाएको कोसेली घरका संयोजक तथा बुटवल उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्य जमुना पौडेलले जानकारी गराउनु भयो।

 महिला उद्यमीहरूले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरू सुपथ मूल्यमा बिक्री वितरण गर्ने गरी कोसेली घर सञ्चालनमा ल्याइएको हो। यसै अवसरमा  बुटवल उद्योग वाणिज्य सङ्घले रुपन्देहीमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै सङ्घमा कार्यरत कर्मचारी तथा परामर्शदाताहरूलाई सम्मान गरेको छ। सङ्घको सभा हलमा आयोजना गरिएको कोसेली घर उद्घाटन तथा मोटिभेसन कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत गरिएको हो भने सङ्घमा कार्यरत कर्मचारी तथा परामर्शदातालाई सम्मान गरिएको हो। सङ्घमा हाल ११ जना कर्मचारी छन् भने विषयगत रूपमा १० जना परामर्शदाता रहेको महासचिव विमलराज भट्टराईले बताउनु भयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link