नवीन काफ्ले: हिमालयदेखि अमेरिकाको ‘बिग एप्पल’ सम्म

सुनिल दाहाल

जोसिला र बहुमुखी प्रतिभाका धनी नवीन काफ्ले परिचितहरू बिच लोकप्रिय हुनुहुन्छ, तर न्यु योर्क सहरको अफिस अफ टेक्नोलोजी एन्ड इनोभेसन (NYC-OTI) ले सेप्टेम्बर २६ तारेखमा गरेको एउटा ट्विटका कारण संसारभरि फैलिएका नेपालीबिच चर्चित पनि हुन भएको छ।

नवीन सार्वजनिक निकायको कर्मचारी मात्र होइन, प्रविधि विशेषज्ञ, एक उत्सुक यात्री, जिम्मेवार अभिभावक र शाकाहारी व्यक्ति हुनुहुन्छ। विगत पन्ध्र वर्षदेखि न्यु योर्क सहरलाई आफ्नो घर बनाउनु भएका उहाँ नेपाली-अमेरिकी हुनुहुन्छ।

न्यु योर्क सहर एक प्रसिद्ध अमेरिकी महानगर हो जसका धेरै उपनामहरू छन्, जसमध्ये “बिग एप्पल” लोकप्रिय छ। “बिग एप्पल” को उपनाम स्थानीय र पर्यटकबिच व्यापक रूपमा प्रयोग गरिन्छ। न्यु योर्क भ्रमण गर्नका लागि उत्कृष्ट स्थानको रूपमा प्रचार गर्ने क्रममा सन् १९७० को विज्ञापन अभियानमा “बिग एप्पल” को उपनाम दिइएको बताइन्छ।

नवीन नेपालको एउटा दुर्गम गाउँमा जन्मिनु र हुर्कनु भयो। हुर्कँदै गर्दा, नवीनले नयाँ क्षितिजहरू खोज्ने र संसारमा सकारात्मक प्रभाव पार्ने क्यारियरको खोजी गर्ने सपना देख्नुभयो। उहाँले आफ्नो मातृभूमि छोडेर संयुक्त राज्य अमेरिका जाने निर्णय गर्नुभयो, जहाँ उहाँका माता पिता लगायत भाइ बहिनी समेत अलिक अगाडिदेखि बस्दै आएका थिए। माता पिता र आफ्नो चार जनाको सानो र खुसी परिवारको सामीप्यमा रहेर उहाँ कलेजमा भर्ना हुनुभयो र कम्प्युटर विज्ञानको अध्ययन गर्नुभयो।

स्नातक पछि, नवीन न्यु योर्क सिटी अफिस अफ टेक्नोलोजी एन्ड इनोभेसन (NYC-OTI) मा सामेल भए, जहाँ उहाँ २०१६ देखि काम गर्दै आउनुभएको छ। इन्टरप्राइज युनिफाइड कोलाबोरेसन इन्जिनियरिङका निर्देशकको रूपमा रहेर उहाँ ४६ सहरी एजेन्सीहरू भित्र १०० भन्दा बढी एकाइहरूलाई महत्त्वपूर्ण सेवाहरू प्रदान गर्ने टोलीको नेतृत्व गर्नुहुन्छ। उहाँको टोलीमाथि डिजिटल सञ्चार र एक्सचेन्ज अनलाइन, टिम, अन ड्राइभ र सेयरपोइन्ट अनलाइन जस्ता एप्लिकेशनहरूको सुरक्षा र दक्षता सुनिश्चित गर्न जिम्मेवारी छ। उहाँको टिमले सहरलाई इमेलको प्रयोग गर्दा निम्तिने खतराहरू जस्तै फिसिङ, व्यक्ति वा संस्थाको एकाउन्टको अनधिकृत पहुँच/प्रयोग, र मालवेयर आक्रमणहरूबाट जोगाउन मद्दत गर्दछ।

न्यु योर्क सिटी अफिस अफ टेक्नोलोजी एन्ड इनोभेसन (NYC-OTI) न्यु योर्क सहर सरकारको एक विभाग हो जसले सरकारी सञ्चालन र जनतालाई प्रदान गरिने सेवा प्रवाहमा विद्यमान प्रविधिहरूको प्रयोगको निरीक्षण गर्दछ।

नवीनलाई आफ्नो काम मन पर्छ र सार्वजनिक सेवामा काम गर्न पाउँदा उहाँ खुसी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ , “म एक स्वस्थ, अधिक उत्पादनशील कार्य वातावरणलाई कायम राख्न दैनिक प्रयास गर्छु, न्यु योर्क सिटी अफिस भित्र र अन्य सहरी एजेन्सीहरूसँगको सहकार्यमा संस्थागत चुनौतीहरूलाई सम्बोधन गर्न र सङ्गठनात्मक उद्देश्य प्राप्तिका लागि प्रयासरत रहन्छु।” उहाँ नयाँ सीपहरू सिक्न र प्राविधिक चुनौतीहरूको समाधान गर्न पनि रमाउनु हुन्छ।

आफ्नो फुर्सतको समयमा उहाँ परिवारलाई समय दिनुहुन्छ। उहाँलाई परिवारसँग विभिन्न ठाउँहरू घुम्न मन पर्छ। उहाँ भन्नुहुन्छ, “मैले अमेरिकाका २६ राज्यको भ्रमण गरी सकेको र यहाँको प्राकृतिक सौन्दर्य र विविधताको अवलोकन भ्रमणले धेरै जान्ने र बुझ्ने अवसर पाएको छु।”

नवीन शाकाहारी हुनुहुन्छ, तर खाना भने सबै प्रकारको पकाउने जोस छ। विभिन्न प्रकारका व्यञ्जनहरू र परिकारहरू पकाएर खुवाउन उहाँलाई रहर लाग्छ। आफू शाकाहारी भएता पनि उहाँ आफ्नो परिवारका लागि स्वादिष्ट परिकार पकाउन र ग्रिल गर्न मन पराउनु हुन्छ। उहाँ न्युजर्सीमा आफ्नो आमा, श्रीमती र दुई छोराछोरी सहित आफ्नो सुन्दर परिवारसँग बस्नुहुन्छ।

नवीन काफ्ले आफ्नो सपनालाई साकार पार्ने, सिक्ने, सिकाउने, कर्तव्यनिष्ठ र आफ्नो समुदायमा फरक पार्ने एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँ आफ्नो नेपाली संस्कार र संस्कृतिमा गर्व गर्नुहुन्छ र अमेरिकामा पाएका अवसरहरूका लागि कृतज्ञ हुनुहुन्छ। यसैले उहाँ आफूलाई हिमालयदेखि बिग एप्पलसम्म दुवैको नागरिक  मान्नुहुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुनिलमणि दाहाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link