व्यावहारिक, दवावरहित र निःशुल्क अमेरिकी शिक्षा

सुनिल मणि दाहाल

अमेरिकामा उमेर पुगेका प्रत्येक बालबालिकाहरूलाई तिनका अभिभावकले नजिकैको सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्यता कानूनले नै गरेको छ । यस्ता सामुदायिक विद्यालयहरूमा निःशुल्क बस सेवा, निःशुल्क वा अभिभावकको आर्थिक अवस्था अनुसार तोकिएको नाम मात्रको शुल्कमा दिवा खानाको व्यवस्था समेत गरिएको हुन्छ ।
नेपालसँग तुलना गर्ने हो भने अमेरिकी शिक्षा पद्धति एकदमै भिन्न छ । अमेरिकामा विद्यालय तहदेखि नै व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिन्छ । त्यहाँका सामुदायिक स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरूले आफ्ना पुस्तकहरू घर ल्याउँदैनन्, स्कुल मै रहेको निजी “लकर“ मा राख्ने गर्दछन् । लकरमा आफ्नो पुस्तक र कापीहरू राखेर हलुका उनीहरू हुँदै घर फर्कन्छन् । आफूलाई आवश्यक परेका बेला स्कुलको लकर खोलेर पुस्तक झिक्छन् र पढ्न थाल्छन् ।
नेपालका माध्यमिक तहसम्म पनि विद्यार्थीहरू दिनभर पढेर गह्रुंगो ब्याग सहित थकित अवस्थामा साँझ घर फर्कन्छन्। घर पुगेर खाजा खाइनसक्दै ब्यागबाट किताब निकालेर गृहकार्य गर्न वा पढ्न शुरु गरिहाल्नुपर्ने तनाव उनीहरूलाई हुन्छ। पुस्तकको ठूलो भारी बोकेर स्कुल जानु पर्ने र फर्कँदा गृहकार्य पनि अत्याधिक दिइने भएकाले घरका अभिभावकहरूले समेत अन्य काम छोडेर छोराछोरीलाई पढाउनुपर्ने किसिमको शिक्षा प्रणाली नेपालमा स्थापित छ ।
अमेरिकाको शिक्षा प्रणालीमा ‘व्यावहारिक, दवावरहित र मनोरञ्जनात्मक माध्यमबाट शिक्षा प्रदान गर्ने’ भन्ने उल्लेख छ । अमेरिकासँग तुलना गर्दा नेपालको शिक्षा प्रणाली धेरै हदसम्म अव्यावहारिक र बोझिलो किसिमको मान्न सकिन्छ । अमेरिकामा आफू बसोवास गरेको क्षेत्र अन्तर्गत पर्ने सामुदायिक स्कूलले प्रदान गर्ने प्राथमिक देखि बाह्र कक्षा सम्मको(प्लस टु) शिक्षामा सम्पूर्ण खर्च सरकारले व्यहोर्दछ । सामुदायिक स्कूल प्रणालीमा कुनै जात वा धर्म विशेषसँग सम्वन्धित कुनै पनि विषयवस्तुहरू निषेध गरिएका छन् । त्यस्तै कुनै पनि जात र वर्णका आधारमा विद्यार्थीहरूलाई भर्नामा विभेद गरिनुलाई त्यहाँको कानूनले जघन्य अपराध मानेको छ । अर्थात् कुनै जात र धर्मलाई लिएर स्कुलले भर्ना गर्दिन भन्न पाउँदैन, यदि त्यसो भनेको खण्डमा ऊ कानूनको कठघरामा पर्नेछ ।
अमेरिकामा यहाँका विद्यालयहरुमा जस्तो स्कुल पुगेपछि सबेरै प्रार्थना गर्नुपर्ने नियम छैन । विशेष समारोहहरूमा विद्यार्थीहरूले सामूहिक रूपमा अमेरिकाको राष्ट्रिय गान गाउँदछन् । विभिन्न धार्मिक समुदायहरूले उठाएका विवादका कारण सरकारी स्कूलहरूमा धार्मिक शिक्षा कानूनतः निषेध छ । धार्मिक रूपले आफ्ना सन्तानलाई शिक्षा दिनुप¥यो भने स्वेच्छाले निजी खर्चमा महँगो शुल्क तिरेर धार्मिक स्कूलमा पढाउनेहरू पनि धेरै छन् ।
सामुदायिक स्कूलको भर्ना विधिः
स्कूलमा विद्यार्थी भर्ना गर्नुपर्दा सामान्यतया केही कागजी प्रक्रिया पूरा गर्नु पर्दछ । यो कागजी प्रक्रिया प्रत्येक राज्य अन्तर्गतको स्कूल जिल्ला बिच फरक हुन्छ । सामुदायिक स्कुलहरूलाई हेर्ने राज्यको सरकारी निकायले नीति नियमहरू जारी गर्दछ र त्यसैको अधीनमा रहेर स्कुलहरूले विद्यार्थी भर्ना देखि लिएर पठन पाठनको कार्य गर्दछ्न । स्कूलमा विद्यार्थी भर्ना गर्नुपर्दा सामान्यतया अधिकांश सामुदायिक स्कूलहरूका लागि विद्यार्थीको उमेरका आधारमा ग्रेड तोकेर भर्ना गरिन्छ । यसका लागि राज्यको स्कुल सम्बन्धी हेर्ने तोकिएको सरकारी निकायले विद्यार्थीको उमेर यकीन गरी कुन स्कुल जिल्ला भित्र बसोवास गरेको हो त्यहाँ भर्नाका लागि प्रकृया अगाडी बढाउँदछ र स्कुलले सोहि बमोजिम भर्ना गर्दछ ।
भर्नाका लागि आवश्यक कागजातहरूः
अमेरिकामा प्रत्येक राज्य अनुसार भर्नाका लागि तोकिएको कागजातहरू फरक हुन सक्छन तर सामान्यतया आवश्यक हुने कागजातहरूमाः
विद्यार्थीको जन्म प्रमाणपत्र: जन्म दर्ता प्रमाणपत्र , अस्पतालको जन्म प्रमाणपत्र वा आफ्नो बच्चाको जन्म मिति लेखिएको पासपोर्ट ।
बसोवास गरेको स्थानको प्रमाण: अपार्टमेन्ट भए सम्झौता पत्र, बैंक स्टेटमेन्ट, फोन वा बिजुली पानी तिरेको बिल आदिमा बसोवास गरेको ठेगाना देखिने कागजात ।
स्वास्थ्य रेकर्ड: तोकिएको खोपहरू वा अन्य स्वास्थ्य रेकर्ड । खोप नलगाएको भए लगाएर प्रमाण पेश गर्नुपर्ने हुन सक्छ।
भर्ना परीक्षा: अन्य मुलुकबाट अमेरिकामा बसाइँ–सराई गरेका विद्यार्थीहरूका लागि उमेर अनुसार भर्नाका क्रममा परीक्षा समेत लिईन्छ । विद्यार्थीको उमेर र परीक्षामार्फत भर्नाका लागि ग्रेड निर्धारण गरिन्छ र उसको योग्यता अनुसारको विषयहरू छनौट गर्न दिइन्छ । माध्यमिक स्कुलमा भर्ना गर्नुपर्ने भए अन्त पढेको कक्षाको प्रमाणपत्र र अमेरिकाको वर्तमान क्रेडिट प्रणालीलाई आधार मानी जिपीए क्रेडिटमा रूपान्तरण समेत गरिन्छ । जिपीए क्रेडिट प्रत्येक सेमेस्टरको परीक्षामा आफ्नो उपलब्धि अनुसार बढ्ने र घट्ने हुन्छ र राम्रो क्रेडिट प्राप्त गर्ने विद्यार्थीले पछि कलेजमा पढ्न जाँदा राम्रो कलेजमा भर्ना पाउँछन् भने अर्कातर्फ यसले स्कलरशीप प्राप्त गर्न समेत मद्दत पुग्दछ ।
विद्यार्थीहरूलाई प्रदान गरीने सरकारी सुबिधाहरू ः
निःशुल्क शिक्षा: अमेरिकामा सरकारले सामुदायिक स्कुलहरूमा प्राथमिक तहदेखि लिएर माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागी निःशुल्क शिक्षाको व्यवस्था गेरेको छ ।
निःशुल्क तथा विशेष शिक्षा: यदि बच्चा अशक्त वा सुस्त मनस्थितिको छ भने अमेरिकाका अधिकांश सामुदायिक स्कुलहरूले निःशुल्क तथा विशेष शिक्षाको व्यवस्थापन गर्दछन् । यस्ता बच्चाहरूका लागि अलग्गै शिक्षा प्रणाली लागु गरिन्छ र सोही अनुरूप बच्चाको विकासक्रममा सहयोग गरिन्छ ।
निःशुल्क यातायातको सुविधा: सामुदायिक स्कुलहरूमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क यातायातको व्यवस्था गरेको हुन्छ । यसका लागि आफू बसोबास गरेको स्थान र स्कूलको दुरि तोकिएको अनुसार हुनु पर्दछ, अन्यथा तोकिएको भन्दा नजिक बसोवास गर्नेले आफैँ बच्चालाई स्कुल पु¥याउने र ल्याउने गर्नु पर्दछ ।
निःशुल्क लन्च सुविधा: वार्षिक आम्दानी राज्यले तोकेभन्दा न्यून हुनेहरूका सन्तानहरूले स्कुलमा निःशुल्क खाना सुविधा पाउँछन् । यसका लागि वार्षिक रूपमा आफ्नो आम्दानीको विवरण स्कुललाई उपलब्ध गराउनु पर्दछ । तर, तोकिएको न्यून आम्दानीभन्दा थोरै बढी तर न्यून आम्दानीकै श्रेणीमा पर्नेहरूले भने सुविधाको मूल्य तिरेर खाना खान पाउने व्यवस्था पनि छ ।
स्टेसनरी सुविधा: न्यून आय भएका र स्टेसनरी समेत किन्न नसक्नेहरूका लागि स्कूलनै निःशुल्क स्टेसनरी उपलब्ध गराउँदछ ।
लाईब्रेरी सुविधा: विद्यार्थीहरूलाइ अध्ययनका लागि स्कुलमै व्यवस्थित लाइब्रेरीको व्यवस्था गरिएको हुन्छ । स्कुलले दिएको होमवर्क होस् वा आफ्नो फुर्सतको समय होस्, विद्यार्थीहरू लाइब्रेरीमा पुस्तक पढेर समय बिताउँदछन् । अमेरिकाको शिक्षा प्रणालीमा शुरू देखि नै बच्चाहरूलाइ पुस्तक पढ्ने बानी बसाउन पाठ्यपुस्तक बाहिरका चेतनामुलक र ज्ञानवर्धक पुस्तकहरू समेत पढ्न प्रोत्साहित गरिन्छ ।
उमेर अनुसारको शिक्षा र ग्रेड प्रणाली: अमेरिकामा राज्य अनुसार स्कुल भर्ना गर्दा बच्चाको उमेर अनुसारको भर्ना विधि लागू गरिन्छ । सामान्यतः पाँच वर्ष पुगेका बच्चाहरूलाई प्राथमिक स्कुलमा भर्ना गरिन्छ । भर्जिनियाको फेयरफ्याक्स काउन्टीको स्कुल प्रणाली अनुसार सेप्टेम्वर ३० मा अथवा त्यसभन्दा अघि पाँच वर्ष उमेर पुगेको बालबालिकाहरु किन्डेरगार्टेनमा भर्नाका लागि योग्य ठहरिन्छन् ।
प्राथमिक स्कूल (के–६): बच्चाहरू सामान्यतया पाँच वर्षको उमेरमा प्राथमिक स्कूलमा भर्ना गरिन्छन् । शुरूको एक वर्ष किन्डरगार्टन  अध्ययन गरेपछि ६ वर्षको उमेरमा पहिलो ग्रेड चढ्दछन । राज्यको नियम अनुसार प्राथमिक स्कुलले ग्रेड ५ वा ६ सम्मको शिक्षा प्रदान गर्दछ । बच्चाहरूको उमेर दश–एघार वर्ष पुग्दासम्म प्राथमिक तहको अध्ययन पूरा हुन्छ । प्राथमिक स्कूलमा बच्चाहरूलाई एकल कक्षामा शिक्षक मार्फत थुप्रै विषयहरू सिकाईन्छ ।
निम्नमाध्यमिक स्कूल (ग्रेड ७–८): निम्न माध्यमिक स्कूललाई जुनियर हाईस्कुल पनि भनिन्छ । निम्न माध्यमिक तहमा विद्यार्थीलाई ग्रेड ७ देखि ८ सम्म पठन–पाठन गराइन्छ । यस तहमा अध्ययन गर्ने विद्यार्थीहरूको उमेर दशदेखि चौध वर्षको आसपास हुन्छ । निम्न माध्यमिक स्कूलका विद्यार्थीहरू एउटै कक्षामा सीमित हुँदैनन् । आफ्नो विषय अनुसार एउटा कक्षाबाट अर्को कक्षामा स्विच गर्दछन् । उनीहरूका लागि विषय अनुसारका फरक–फरक शिक्षक हुन्छन् ।
माध्यमिक स्कूल(ग्रेड ९–१२): माध्यमिक स्कुलमा ग्रेड ९ देखि ग्रेड १२ सम्म पढाइन्छ । विद्यार्थीहरुको औसत उमेर १४ देखि १८ वर्षका बीच रहने गरेको पाइन्छ । माध्यमिक स्कुलमा विषयहरूका आधारमा कक्षाहरू निर्धारण गरिन्छन् । एकजना विद्यार्थीका लागि एक दिनमा धेरै शिक्षकहरू हुन सक्छन् । विद्यार्थीहरूले आ–आफ्नो रुचि अनुसार विशिष्ट कक्षाहरू (एड्भान्स क्लास) लिन सक्छन् । त्यस्तै, विद्यार्थीहरूले आफूलाई काम लाग्ने वा पछि कलेजमा काम लाग्ने विषयहरू रोज्न सक्छन् । माध्यमिक स्कुलमा क्लब, अतिरिक्त क्रियाकलाप, खेल, शैक्षिक अध्ययन आदिको व्यवस्था गरिएको हुन्छ भने अन्य गतिविधिहरूलाई समेत त्यसभित्र सामेल गरिन्छ । श्रोतः आइएनएस –स्वतन्त्र समाचार

सुनिलमणि दाहाल

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुनिलमणि दाहाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap