टिकटकमा भाइरल हुने रहरले बढाएको हो त अश्लितता?

सुनिल मणि दाहाल

सामाजिक सञ्जालमा कोही कतै भाइरल भए भने तिनको नक्कल गर्दै आफू पनि त्यस्तै भाइरल बन्न अनेकौं हरकत गर्नेहरू टिकटकमा धेरै भेटिन्छन्। भारतीय लुङ्गी डान्सका बारेमा त सुनिएको थियो तर यतिबेला पेटीकोट डान्स यतिबेला टिकटकेहरूबीच खुबै चर्चामा रहेछ।

के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी।
के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै”

हालसालै सार्वजनिक भएको यो गीतको एउटा दृष्यमा युवतीले पेटीकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको रहेछ। विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीतको सिर्जना गरिएको भन्ने सुनियो।

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो। यसपालि पनि अछुतो रहेन। तीजको अवसरमा बनाइएको ‘पापाकी परी’ नामक उल्लेखित गीतलाई टिकटकेहरुले ‘पेटीकोट डान्स’ को नाम दिएर भाइरल बनाइ दिएछन्। ढुङ्गेधारामा पेटीकोट लगाएका युवतीहरूले नाचगान गरेको अभिनय भएका कारण यस गीतलाई “पेटीकोट डान्स ” को नाम दिएका रहेछन्।

गीतका केही शब्द र दृश्यलाई लिएर चर्को विरोध भएपछि गीतको भिडियो सम्पादन गरेर सुधारिएको भिडियो अपलोड गरिएको रहेछ। तर त्यसअघिकै भिडियोलाई डाउनलोड गरी टिकटक लगायत युट्युबमा छ्यापछ्याप्ती पारिएकाले टिकटकेहरूलाई भिडियो बनाउन र जिस्किन रोकेको छैन। यतिबेला टिकटकेहरू बीच “पेटीकोट डान्स ” मा भिडियो बनाई भाइरल हुने प्रतिस्पर्धा चलेको रहेछ।

पोलिथिनको कालो पाइपबाट पानी ल्याएर धारा बनाई नुहाउँदै पेटीकोट डान्समा एक जोडीले टिकटक बनाएको रे अनि खुबै भायरल पनि भयो रे …। अर्कीले भने खोलामा पेटीकोट डान्सको टिकटक बनाउँदै गर्दा बाढी आएर बगायो रे, उता घरमा रुवाबासी छ रे …… !

केटीका लागि पेटीकोट डान्सको गीत भायरल भयो, अब केटाका लागि ‘कन्दनी डान्स’ को गीत बनाउनु पर्दछ”, एक टिकटके पुरुष मच्चिदै भन्दै थिए। अब शिवरात्रिमा दिन पुरुषले पेन्ट/ सुरुवालको बदला कन्दनी लगाई मुखमा खरानी दलेको कन्दनी गीतको डान्स बजारमा आएमा आश्चर्य नमाने भयो।

हुन त यस गीतको भिडियोमा त्यस्तो अश्लीलता देखिदैन तर टिकटकेको हेर्ने नजरिया, बुझ्ने दिमाग र यिनीहरूले बनाएका भद्दा भिडियोहरूले यस गीतलाई जबरजस्ती ‘अश्लील’ बनाइ दिएको छ।

अफिस पुगेकाहरू अफिसबाटै टिकटक, व्यथा लागेका महिलाका टिकटक, अस्पतालका नर्सहरू सेतो कपडामै टिकटक, आइसीयुमै पुगेका बिरामीले सम्म पनि टिकटक बनाएर अनौठा भिडियो हाल्ने गरेको देखिन्छ।

बाटा, पुल र घरका छतमा युवायुवतीहरू नाँचेका दृश्य देख्दा पनि आजकाल चकित परिन्छ। लाज, घिन, सरम केही नभए पछि उता घाटमा लाश जलिरहँदा ठिक अगाडि टिकटकेको अशोभनीय चटक देखिन्छ। मानौ  उनीहरूको मुख्य काम नै टिकटक चलाउने र त्यसै मार्फत आफ्नो पहिचान बनाउने हो। उनीहरूमा कुनै मानवीय संवेदना, विवेक र चेतना छैन।

यी त टिकटकेको सामान्य प्रतिनिधिमूलक चर्तिकलाहरू भए। यी बाहेक छाडा र फोहोरी वार्तालाप तथा भिडियोको बाढी नै देख्न सकिन्छ। जतिखेर पनि टिकटकमै ध्यान दिने युवायुवतीको सिर्जनशीलता मर्दै गएको छ। पढ्ने उमेरका युवा युवतीलाई समेत यसले प्रभावमा पारेको छ। टिकटकमा भाइरल हुने र भ्यूज बढाउने नाममा अश्लिल हर्कतहरू अत्याधिक बढ्दै गएका छन्।

टिकटकमा व्यस्त हुँदा साना बच्चाहरूको हेरचाह र दुर्घटना समेत बढेका समाचार बाहिर आइरहेका छन्। टिकटक बनाउने क्रममा ५ दिनअघि विवाह गरेकी र दुल्हन फर्काउन माइत आएकी एक नवविवाहिता नदीमा खस्दा बेपत्ता भएकी थिइन्। यस्तै अप्रिय अरु पनि कैयन घटना टिकटक बनाउने क्रममै भइसकेको छ।

यतिबेला टिकटक पनि युवायुवती बिचमा करिव डेटिङ साइट जस्तै भएको छ। यसमा सिधै म्यासेज समेत गर्न मिल्छ। टिकटक मार्फत नचिनेकाहरू बीच साथी बन्ने, माया प्रीति लगाउने, जिस्किने, गिज्जिने, फोटा साटासाट गर्ने आदि पनि बढिरहेको छ। टिकटकको अनावश्यक प्रयोगले विवाहित जोडीमा खटपट हुदै सम्बन्धविच्छेदका घटना भएका उदाहरण पनि छन्। टिकटकमा आउने टिप्पणी र यसको लतले मनोविज्ञानमा समेत असर पर्न गै धेरै टिकटकेहरू एञ्जाइटी र डिप्रेसनका रोगी बनेका छन्।

उत्पादन र सिर्जनशील कर्ममा भन्दा बढी भाइरल हुने र भ्यूज बढाउने नाममा युवायुवतीहरू टिकटकमा झुम्मिने, रातदिन लाइभमा बस्ने, विभिन्न व्यक्तिका ट्रोल ल्याउने, जिस्क्याउने, गिज्जिने जस्ता हर्कत पनि यसका गलत प्रभाव हुन्। त्यसैले टिकटक होस् वा अन्य कुनै पनि सामाजिक संजालको प्लेटफर्म होस्, तिनको प्रयोग र पार्न सक्ने नकरात्मक प्रभाव, सही र उचित प्रयोगबारे विशेषत: युवायुवतीका अभिभावक सचेत हुन जरुरी छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुनिलमणि दाहाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link