यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य

सुनिल मणि दाहाल

बेलायतकी महारानी एलिजाबेथको निधनसँगै उनको जीवनसँग सम्बन्धित घटनाहरू टेलिभिजन, इन्टरनेटमा चर्चा भइरहेका छन् । यी मध्ये एउटा उनको ह्यान्डब्यागको रहस्यसँग सम्बन्धित चर्चा हो। रानीको ह्यान्डब्यागबाट कर्मचारी र सुरक्षा अधिकारीले खास संकेत पाउने गर्दथे । ती संकेतहरू के थिए र कसरी सुरक्षा अधिकारीलेहरूले रानीको ह्यान्डब्यागबाट जानकारी पाउथे, यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य।

‘ह्यान्डब्याग’ र गोप्य सन्देश 
रानीले आफ्नो ७० वर्षको लामो शासनकालमा विश्वका विशिष्ट व्यक्तिहरूसँग भेटघाट र अन्तरक्रियामा बिताइन्। यसक्रममा उनले एउटा नयाँ तरिका सोचिन। उनलाई कसैलाई भेट्नुअघि र भेटका दौरान आफ्नो ह्यान्डब्याग’ को सञ्चालनबाट दरबारका कर्मचारी लगायत सुरक्षा अधिकारीहरूलाई जानकारी दिने उपाय अपनाउन मन लाग्यो । यसका साथै, रानीको ह्यान्डब्याग चलाउने (ह्यान्डल गर्ने ) तरिकाबाट दरबारका कर्मचारी लगायत सुरक्षा अधिकारीहरूले कस्तो सुरक्षा सावधानी अपनाउनुपर्ने भन्ने बुझे। रानीका गोप्य सन्देशहरू हेर्दा सामान्य लाग्दथे तर धेरै व्यवहारिक पनि मानिन्छन्।

महारानी एलिजाबेथले आफ्नो ‘ह्यान्डब्याग’ बाट विशेष सन्देश दिने गर्दथिन् । न्युजविकको द रोयल रिपोर्ट पोडकास्टको एक कार्यक्रममा बोल्ने शाही आलोचक क्रिस्टन मेङ्गरका अनुसार रानी सार्वजनिक हुँदा आफ्नो ह्यान्डब्यागलाई एक हातबाट अर्को हातमा सार्ने गर्थिन, त्यसको आसय/संकेत हुन्थ्यो छलफल सकियो । रानीको उक्त संकेत देखेर रानीले अब छलफल समाप्त गर्न चाहेको भन्ने कर्मचारीहरूले तुरुन्तै बुझ्थे ।

टेबुलमा ह्यान्डब्याग राख्दाको दोस्रो गोप्य संकेतले कर्मचारी सावधान हुन्थे। भनिन्छ कि यदि रानीले खाना खाँदा वा बैठकका क्रममा आफ्नो ह्यान्डब्याग टेबुलमा राखिन भने ५ मिनेट भित्र कार्यक्रम समाप्त गर्नु भन्ने बुझ्नु पर्थ्यो । त्यसैगरी रानीले आफ्नो ह्यान्डब्याग तल भुइँमा राखिन भने कर्मचारी सावधान हुन्थे र तुरुन्तै रानीलाई तत्काल त्यहाँबाट निकाल्ने व्यवस्था मिलाउन थाल्दथे ।

रानीको ‘ह्यान्डब्याग’ का सामाग्री
जानकारीका अनुसार रानीको ‘ह्यान्डब्याग’ मा चस्मा, लिपस्टिक, मेकअपका केही सामान लगायतका अत्यावश्यक सामानहरू हुन्थे । रानीको एउटा विचित्रको स्वभाव के थियो भने उनले आइतवार बाहेक कहिले पनि आफ्नो पर्समा नगद राख्दिन थिइन् । सञ्चार माध्यमका अनुसार आइतवारका दिन चर्च जाने उनको तालिका थियो र त्यहाँ चन्दा दिन ५ वा १० पाउण्डका नोट साथमा राख्ने गर्थिन्, यसबाहेक हप्ताको कुनै पनि दिन आफ्नो ‘ह्यान्डब्याग’ मा नगद राख्दिन थिइन् ।

छुन निषेध ह्यान्डब्याग

रानीलाई लामो झुण्ड्याउने (ह्यान्डल भएको ) कस्टम मेड ह्यान्डब्याग मन पर्थ्यो। त्यो किनभने रानीलाई भेट्दा वा हात मिलाउँदा लामो झुण्ड्याउन मिल्ने ह्यान्डब्याग कपडामा नअल्झिने भएकाले उनलाई मन पर्थ्यो । उनको ह्यान्डब्याग छुन निषेध गरिएको थियो। साथै उनलाई भेट्न आएकाहरूले रानीलाई देखेपछि कसैले अँगालो हाल्न नपाउने निर्देशन पनि दिइएको थियो र हात मिलाउन हात नउठाउँदासम्म कसैले छुन नहुने समेत निर्देशन दिइएको थियो।

एउटा घटना थियो जब अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामा २०११ मा पहिलो पटक महारानी एलिजाबेथलाई भेट्न बकिंघम प्यालेसमा पुगेकी थिइन्। उनले भेटमा रानीको वरिपरि हात समातेको, रानीको पिठ्युमा राखेको देखिएपछि मिशेलमाथि शाही परम्परा तोडेको आरोप पनि लागेको थियो । यो खबरले सञ्चार माध्यममा ठुलै चर्चा पाएको थियो तर रानीले अवस्थालाई महसुस गर्दै अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाको पिठ्युमा हात राखी धाप मारेकी थिइन्।

‘हामी दुबै थाकेका कारण आपसमा कुरा गर्दै थियौ’, मिशेल ओबामाले उक्त घटनाका बारेमा स्पष्ट गरेकी थिइन् । न्यानो माया र स्नेहले आफ्नो हात रानीको पिठ्युमा राख्न प्रेरित गरेको उनले बताएकी थिइन्। त्यसै समय रानीले समेत मिशेलको पिठ्युमा हात राखी धाप मारेकी थिइन्। वास्तवमा, विश्वका दुवै लोकप्रिय महिलाहरूले आपसमा स्नेह र सम्मान प्रकट गरेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुनिलमणि दाहाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link