एक महिनामा ७९ हजार बढी सवारी चालक कारबाहीमा 

तीव्र गतिको लेजर गनमा सबैभन्दा बढी कारबाही

रूपेश आचार्य

ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाउने ७९ हजार २७० चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहतका कार्यालयले ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरेको हो ।

सवारीसाधन तीब्र गतिमा गुडाउने, लेन क्रस गरी सवारी चलाउने, मापसे गरी सवारीसाधन चलाउने, रेड लाइटको अवज्ञा गर्ने, स्पष्ट नम्बर प्लेट नदेखिने, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने तथा अन्य विभिन्न शीर्षकमा गरी उक्त कारबाही गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले दैनिकरूपमा प्रकाशित गर्दै आएको कारबाही विवरणको अध्ययन गर्दा गत भदौ १ गते देखि भदौ ३१ गते सम्मको एक महिनाको तथ्याङ्कले उक्त कारबाही परिणाम देखाएको हो ।

ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार एक महिनामा सबै भन्दा बढी कारबाही तीब्र गतिमा सवारी गुडाउनेहरूको छ । गत भदौ महिनाको एक महिनामा तीब्र गतिको लेजर गनमा ११ हजार ७७९ वटा सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।

त्यस्तै एक महिनाको अवधिमा दोस्रो धेरै कारबाहीमा सडक लेनको पालन नगरी सवारी गुडाउने सवारी चालक परेका छन् । तथ्याङ्क अनुसार पाँच हजार १२४ वटा सवारी साधनहरू कारबाहीमा परेका हुन् ।

यसैगरी गत भदौको एक महिनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई हजार ८७२ वटा सवारी चालक कारबाहीको दायरा भित्र परेका हुन् । रेड लाइटको अवज्ञा गरी सवारी साधन चलाउने दुई हजार ५६३ वटा सवारी साधनका चालकहरू पनि कारबाहीमा परेका छन् ।

सवारी साधन चलाउँदा स्पष्टरूपमा सवारी साधनको नम्बर प्लेट नदेखिने, परिर्वतन गरी नम्बर प्लेट राख्ने तथा अङ्क नै नबुझिने गरी सवारी साधन चलाउने पाँच सय ५० सवारी साधनका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उपत्यकाको विभिन्न स्थानमा हर्न निषेधित घोषणा गरेपनि प्रेसर लगायतका हर्न बजाएर ध्वनि प्रदुषण गराउने तीन सय ४८ सवारीसाधनहरू कारबाहीमा परेका छन् ।

त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयले भारबहन क्षमता भन्दा बढी तौलका सामाग्री र यात्रु बोक्ने, पुराना सवारीसाधन गुडाउने, जथाभावी पार्किङ गर्ने लगायतका विभिन्न शीर्षकमा पनि कारबाही गर्दै आएको छ । यस्ता विविध शीर्षकहरूमा गरेका कारबाहीलाई ट्राफिक प्रहरी कार्यालयले अन्य शीर्षकमा राखेर कारबाहीको तथ्याङ्क दिदैँ आएको छ । यसरी भदौको एक महिनामा अन्य शीर्षकमा ५६ हजार ३४ सवारी साधनका चालकहरू कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्याङ्कले देखाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक महिनाको बार अनुसारको कारबाही तथ्याङ्क हेर्दा सबैभन्दा बढी शनिवारको दिन कारबाही भएको देखिन्छ  । जसमा १३ हजार २७६ सवारी चालक कारबाहीमा परेका छन् ।

त्यस्तै सोमबार १२ हजार ७४, बुधवार ११ हजार ९३९, शुक्रबार ११ हजार ५३५, आइतबार ११ हजार ४६२, मंगलबार ९ हजार ९५९ र सबैभन्दा कम बिहीवार ९ हजार २५ रहेको तथ्याङ्कले जनाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link