नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आगामी वर्षको जुन–जुलाईमा चीनमा आयोजना हुने एसियन कप फुटबलमा नेपाल छनौट हुन नसक्ने बताएका छन्।एसियन कप छनौटको तयारीका बारेमा जानकारी दिन एन्फाद्वारा गत शुक्रवार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टिमका प्रशिक्षकले नै यस्तो धारणा राखेपछि अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा समेत अल्मुताइरी छाएका छन्।आफ्नै टोलीको बारेमा नकारात्मक कुरा गर्ने भन्दै धेरैले उनको आलोचना गरेका छन् भने कतिले ‘वास्तविकताको धरातलमा उभिएर व्यक्त विचार’ भन्दै समर्थन पनि गरेका छन्।
तर अल्मुताइरीले हचुवाको भरमा यस्तो कुरा गरेका भने पक्कै होइनन्।आफ्नो भनाइलाई पुष्टी गर्नका लागि केही तर्कहरू समेत प्रस्तुत गरेका छन् उनले। पत्रकार सम्मेलनमा उनले ५० वर्षभन्दा लामो अवधिमा पनि नेपालमा ‘ग्रासरुट फुटबल’को विकास नै हुन नसक्नु सबैभन्दा ठूलो दुर्भाग्य भएको बताएका थिए।उनले एन्फाले युवा खेलाडी उत्पादन गर्न पर्याप्त कार्यक्रम सञ्चालन गर्न नसकेका, भएका कार्यक्रमहरूको पनि कार्यान्वयन फितलो हुने गरेको, यू–१६ र यू–१९ जस्तो उमेर समूहको टोली नै नभएका कारण एसियाको सबैभन्दा ठूलो प्रतियोगितामा हामीले ठूलो सपना देख्न नमिल्ने धारणा व्यक्त गरेका थिए।
प्रशिक्षक अल्मुताइरीको यो भनाइलाई लिएर जस्तासुकै टिकाटिप्पणी भएता पनि यो प्रकरणले हाम्रा सामू एउटा गम्भीर प्रश्न भने अवश्य खडा गरिदिएको छ।’के नेपाल साँच्चै एसियन कपमा छनौट हुन सक्दैन त ?’ यस लेखमार्फत हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ।
‘ग्रासरुट फुटबल’ को अवस्था
अब्दुल्लाह अल्मुताइरीले भनेजस्तो नेपालमा ‘ग्रासरुट फुटबल’ को विकास हुँदै नभएको होइन, तर जति भएका छन् ती पर्याप्त नभएको भने सत्य हो।अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा संस्थागत हिसाबले युवा खेलाडी उत्पादन गर्ने कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा) ले मात्रै सञ्चालन गर्दै आएको छ।अहिलेको राष्ट्रिय टोलीमा एन्फाले फिफाको आर्थिक र प्राविधिक सहयोगमा काठमाडौं, धरान र बुटवलमा सञ्चालन गरेको तीनवटा फुटबल एकेडेमीबाट उत्पादित खेलाडीहरूकै वर्चश्व रहेको छ।
प्रशिक्षक अल्मुताइरीका अनुसार नेपालमा कम्तीमा पनि यस्ता २० फुटबल एकेडेमीको आवश्यकता छ जहाँबाट छानिएका उत्कुष्ट १५०–२०० जना खेलाडीमध्येबाट समेत सवोत्कृष्टहरूलाई छानेर राष्ट्रिय टोलीको निर्माण गर्न सकियोस्।१०–१२ वर्षको उमेर समूहदेखि सँगै खेल्दै आएका खेलाडीहरूले मात्र भविष्यमा राम्रो नतिजा ल्याउन सक्ने उनको धारणा थियो।
अहिले नेपालका ए डिभिजनका क्लबहरूले पनि युवा खेलाडी उत्पादन गर्ने एकेडेमी वा त्यस्तै खाले विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन।हालै एएफसीले आफू आवद्ध क्लवहरूले लाइसेन्स लिनैपर्ने नियम ल्याएपछि केही ए डिभिजनका क्लबहरूले लाइसेन्स लिइसकेको र केही लिने प्रक्रियामा रहेको बुझिएको छ।
आधारभूत स्तरबाट खेलाडी उत्पादन गर्ने हो भने एन्फा वा एन्फा आवद्ध जिल्ला फुटबल संघहरू मात्र होइन, विद्यालयस्तर र स्थानीयस्तरलाई लक्षित कार्यक्रम सञ्चालनमा ल्याइनुपर्छ।पर्याप्त खेलमैदान, खेल सामग्री र नियमित प्रशिक्षण अनि स्थानीयस्तरमा समेत पर्याप्त प्रतियोगिताहरू सञ्चालनमा ल्याइनु सबैभन्दा महत्वपूर्ण छ।त्यसो हुन सक्यो भनेमात्र भविष्यमा स्तरीय खेलाडी उत्पादन गर्न सकिनेछ जसले एसियालीस्तरमा प्रतिश्पर्धा गर्न सकोस्।
अव्यवस्थाको शिकार
हाम्रो देशमा व्याप्त अव्यवस्था, भ्रष्टाचार र अराजनीतिको शिकार समग्र खेलक्षेत्र हुनुपरेको छ।यहाँ देशको खेलक्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को प्रमुखमा व्यक्तिको योग्यता होइन उसको राजनीतिक पृष्ठभूमि हेरेर नियुक्ति गरिने नराम्रो परिपाटी स्थापित भइसकेको छ।त्यसरी आएको व्यक्तिले उसका आसेपासे र कार्यकर्ताहरूलाई नै विभिन्न खेलकूद संघहरूमा नियुक्त गर्ने गरेको पाइन्छ।नेपाली खेलजगतमा यो क्षेत्रको ज्ञान नै नभएका चुल्ठे–मुन्द्रे र झोले कार्यकर्ता हावी भएका कारण नेपालले फुटबलमा मात्र होइन अन्य कुनै खेलमा पनि अपेक्षित सफलता हात पार्न नसकेको कुरा तीतो यथार्थ हो।
नेपाली फुटबलको विकासको अर्को ठूलो बाधक भ्रष्टाचार पनि हो।नेपालमा भ्रष्टाचार लगभग संस्थागत भइसकेको अवस्थामा फुटबल वा अन्य कुनै खेलका लागि गरिएको लगानीको ठूलो हिस्सा दुरुपयोग हुने गरेको अवस्था छ।खेल र खेलाडीको वृत्तिविकास भन्दा बढी पदाधिकारीहरूको सेवा–सुविधा, भ्रमण र गोष्ठी–सेमिनारहरूमा खेलकुदको पैसा खर्च भइरहेको देखिँदै आएको कुरा हो।
खेलाडीहरूको तलब–पारिश्रमिक र सेवा–सुविधाको कुरा गर्ने हो भने पनि दक्षिण एशियामा समेत नेपाल अन्तिमतिरै पर्छ।यो कुराले पनि नेपाली खेलाडीहरूको वृत्तिविकास र स्त्तरोन्नतिमा बाधा पारिरहेको छ।
व्यावसायिकताको अभाव
वास्तवमा भन्नुपर्दा नेपाली फुटबलमा व्यावसायिकताको अभाव टड्कारो देखिएको छ।एन्फाले १४–१५ टोली सम्मिलित राष्ट्रिय लिगको आयोजना गर्ने गरेको छ तर १०० भन्दा बढी खेलहरू दुई वा तीन मैदानमा सञ्चालन हुने गर्छन्।केही चरणका खेल सकिदाँसम्म ती मैदानको हालत खराव भइसकेको हुन्छ तर त्यस्तै मैदानमा खेलहरूलाई नियमित गराइन्छ।त्यस्ता खराब मैदानमा खेलेर खेलाडीको स्तर त कहिल्यै सुध्रिन सक्दैन, त्यहाँ उनीहरूले चोट बोक्ने सम्भावना धेरै हुन्छ।यो गम्भीर विषय भए पनि यसप्रति खासै चासो दिएको पाइँदैन।
अर्को रोचक प्रसङ्ग नेपालमा सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगिताहरूसँग सम्बन्धित छ।देशभर साना र ठूला गरी झण्डै दुई दर्जन गोल्डकप फुटबल प्रतियोगिताहरू आयोजना हुने गर्दछन्।प्रायः घरेलू लिगको समापन पछि र जाडोको समय पारेर त्यस्ता प्रतियोगिताहरू हुने गरेको पाइन्छन्।त्यस्ताखाले हरेक प्रतियोगितामा भाग लिन ठूला क्लब र तिनका खेलाडीहरूले तँछाड–मछाड गरेको, राता–रात यात्रा गरेर एक ठाउँबाट अर्को ठाउँ अनि एउटा शहरबाट अर्को शहर दौडिरहेको दृश्य देखिनु सामान्य कुरा हो।
त्यस्ता प्रतियोगिताको पछि लाग्नु यहाँका क्लब र खेलाडीहरूको रहर नभएर वाध्यता भएको कुरा भने धेरैलाई थाहा नहुन सक्छ।ट्रफी जितियो भने पुरस्कार राशी हात पारिने र नजिते पनि खेलाडीहरूले खेलेवापत केही पैसा कमाउने लोभमा उनीहरू सकेसम्म त्यस्ता प्रतियोगिता छुटाउन चाहँदैनन् ।
त्यस्ताखाले धेरै प्रतियोगिता गुणस्तरहीन मैदानमै सञ्चालन हुने र ए डिभिजन क्लबले धेरैजसो आफूभन्दा एकदमै कमजोर प्रतिद्वन्द्वीसँग प्रतिश्पर्धा गर्नुपर्ने हुनाले प्रमुख खेलाडीहरूको स्तरबृद्धिमा त्यस्ता प्रतियोगिताले कुनै भूमिका खेलेका हुँदैनन्, उल्टो ठूला खेलाडीहरूलाई यस्ता गोल्डकपहरूले बेफाइदा पुर्याइरहेको देखिन्छ।
नेपाली फुटबलको विकासमा सबैभन्दा ठूलो समस्याका रूपमा पूर्वाधारको अभाव रहेको देखिन्छ।देशमा अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न मिल्ने मैदान भनेको काठमाडौंको दशरथ रंगशाला मात्रै हो।२०७२ को महाभुकम्पपछि त्यसको पुननिर्माण पनि भएको छ।तर अहिले पनि देशको एकमात्र रंगशालामा खेल गतिविधिभन्दा बढी राजनीतिक कार्यक्रमदेखि कन्सर्टसम्म र निजी कार्यक्रमदेखि स्कुलको ‘प्यारेन्ट्स डे’का लागि भाडामा लगाइने गरिन्छ।यो भन्दा ठूलो अव्यावसायिकताको नमूना अरू के होला ?
नेपाली फुटबलको स्तर
नेपाली फुटबलको स्तरको कुरा गर्ने हो भने पनि हामी एसियाको कुरा छाडौँ, दक्षिण एसियामा पनि नम्बर एकमा पर्दैनौँ।अहिले नेपाल फिफा वरियताक्रमको १६८औँ स्थानमा छ।नेपालभन्दा अगाडि माल्दिभ्स १५६औँ स्थानमा छ भने भारत १०६ औँ स्थानमा छ।नेपालले अहिलेसम्म साफ फुटबल च्याम्पियनशीपको उपाधि समेत जित्न सकेको छैन ।
नेपालले विश्वकप र एसियन कपको छनोटमा नियमित रूपमा भाग लिने गरे पनि छनोटका प्रारम्भिक चरण पार गर्न पनि नेपाल असफल रहँदै आएको छ।यस्तो अवस्थामा एसियन कप छनोटमा समेत हामी अन्य टोलीभन्दा कमजोर देखिन्छौँ।एसियन छनोटअन्तर्गत नेपालका प्रतिद्वन्द्वीहरू मध्ये विश्ववरियताक्रममा जोर्डन ९१औँ, कुवेत १४६औँ र इन्डोनेसिया १५१ औँ स्थानमा छन्।यी आँकडाहरूलाई हेर्दा पनि नेपालले एसियन कपको छनोट चरण पार गर्न ज्यादै कठिन देखिन्छ।
अन्त्यमा
आगामी वर्ष चीनमा हुने एसियन कपका लागि १३ राष्ट्र छनोट भइसकेका छन् भने ११ टोलीको छनौट हुन बाँकी छ।जुन महिनामा आयोजना हुने छनोटको तेस्रो तथा अन्तिम चरणले ती ११ टोलीको निर्णय गर्नेछ।२४ राष्ट्रलाई ६ समूहमा विभाजन गरेर खेलाइने अन्तिम चरणको छनोट प्रतियोगितामा यसपटक नेपाल कठिन समूहमा परेको छ, यसलाई भने नेपालको दुर्भाग्य मान्नुपर्छ।
प्रत्येक समूहका विजेता र ६ उपविजेतामध्ये उत्कृष्ट ५ गरी ११ टोली छनोट हुने प्रतियोगितामा नेपाले समूह विजेता वा उपविजेता भएर छनोट हुने सम्भावना ज्यादै कम छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आशुतोष अधिकारी का अन्य पोस्टहरु:
- धमाधम बनिरहेको छ विश्वकपमा स्कोर र ब्याटिङ रेकर्ड
- लो स्कोरको म्याचमा अस्ट्रेलियालाई जित्यो भारतले
- दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान
- नेदरल्याण्डस् विरुद्धको जीतमा पाकिस्तानको औसत प्रदर्शन
- विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
- आजबाट क्रिकेटको महाकुम्भ सुरु, को हुन् जितका बलिया दाबेदार?
- नेपाली क्रिकेटको एसियाड यात्रा टुंगियो
- भारतविरुद्धको नेपालको बहादुरीपूर्ण ब्याटिङ
- परम्परागत कमजोरी: ब्याटिङले फेरि डुबायो
- एउटा महान् गोलरक्षकको बिदाइ