तनहुँमा स्थानीय निर्वाचन: शक्ति परीक्षणमा रामचन्द्र र गोविन्दराज

नारायण खड्का

स्थानीय निर्वाचन मिति नजिकिँदै जाँदा तनहुँका १० वटै पालिकालाई चुनावी गतिविधिले तताएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाहीमा परेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूह अहिले तनहुँ कांग्रेसका अगाडि चुनौती बनेर खडा भएको छ।

२०७६ साउन १० गते नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो। पटकपटक मन्त्री हुँदा विकास निर्माणमा जोशीले खेलेको भूमिकाका कारण उनको जनाधार गाउँ गाउँमा भएको पाइन्छ। जोशी पक्षका कार्यकर्तालाई सम्मानजनक भूमिका नदिँदा अहिले तनहुँ कांग्रेसलाई चुनौती थपिएको हो।

गोविन्दराज जोशी यतिबेला स्वतन्त्र समूह बनाएर आफ्नो शक्ति परीक्षणमा उत्रिनु भएको छ। कांग्रेसले एमालेबाहेक सत्तासीन दलसँग चुनावी गठबन्धन गरिरहँदा तनहुँमा भने जोशीले एमालेसँग गठबन्धन गर्नुभएको छ। उहाँका छोरा दीपकराज जोशी मात्र होइन, गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन कांग्रेसको भोट काट्ने रणनीति बनाएर अगाडि बढेको देखिन्छ। दमौलीमा चुनावी प्रचारमा सक्रिय ७० वर्षीय जोशी पार्टीले कारबाही गरे पनि आफूलाई सच्चा कांग्रेस भएको दाबी गर्दै आउनु भएको छ।

व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका उहाँका छोरा दीपकराज कैंची चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गरी चुनावी मैदानमा  हुनुहुन्छ। ‘कांग्रेसको भोट काट्नका लागि कैंची रोजेको हुँ,’ दीपक भन्नुहुन्छ, ‍‘ मैले जित्ने भनेकै कांग्रेसको भोटले हो।’ २०५३ सालमा अमेरिका गएर नेपाल फर्केका दीपक टेलिकम्युनिकेसन इन्जिनियर हुनुहुन्छ।

पार्टीबाट निष्कासित भएका गोविन्दराजको राष्ट्रिय राजनीतिमा प्रभाव घटे पनि गृहजिल्ला तनहुँमा भने राजनीतिक सामर्थ्य छ। ‘उहाँ पार्टीबाट निष्कासित भए पनि पार्टीभित्र र बाहिर हुने निर्वाचनमा निर्णायक हैसियत रहेको छ,’ २०५३ देखि करिब डेढ दशकसम्म पार्टीका जिल्ला सभापति रहेका रघु पौडेल भन्नुहुन्छ, ‘एक्लै लडेर कहीं पनि जितिन्न तर जितका लागि निर्णायक भोट भने उहाँसँग छ।’

जोशीले छोरा दीपकराजलाई व्यासको नगर प्रमुख र आफ्नो समूहका केशु गुरुङलाई बन्दिपुर गाउँपालिकाको उपाध्यक्षमा र भानु नगरपालिकाको उपमेयरमा केशबहादुर गुरुङलाई उम्मेदवार बनाउनु भएको छ। यसैगरी जोशी समूहबाट भानु नगरपालिका ११ र १३, व्यास नगरपालिका १, २, १२ र १४ तथा आँबुखैरेनी गाउँपालिकाको २ र ५ मा वडाध्यक्ष उठाइएको छ। जोशीको प्रभाव क्षेत्र मानिने यी ठाउँमा एमालेले जोशीका उम्मेदवारलाई सघाउने भएको छ। एमालेले व्यासको उपप्रमुखमा बसुन्धरा घर्ती र बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापालाई उठाएको छ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका वैकुण्ठ न्यौपाने १३ हजार ५६ मत ल्याएर व्यास नगरप्रमुखमा विजयी हुनुभएको थियो। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत पाउनु भएको थियो। यस पटक व्यासमा कांग्रेसले पुन: बैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाई एक्लै चुनावी मैदानमा उत्रिएको छ। तर जोशीको प्रभाव क्षेत्र भएको नगरमा एमालेको समर्थनमा जोशीकै छोरा दीपकराज उम्मेदवार बनेपछि प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ।

कांग्रेसका पूर्व जिल्ला सचिवसमेत रहेका अधिवक्ता विश्व बाँस्तोला भ्रष्टाचारसम्बन्धी मुद्दा र पार्टीको कारबाहीका कारण राष्ट्रिय राजनीतिमा कमजोर भूमिका रहेपनि स्थानीयस्तरमा भने जोशीको ओज अझै नघटेको बताउनुहुन्छ। ‘उहाँले जिल्लामा लामो समयसम्म शिक्षण र वकालत गर्नुभयो, सत्तामा भएको बेला जनतालाई गुन पनि लगाउनुभयो होला,’ विश्व भन्नुहुन्छ ‘त्यसको प्रभावले अहिले पनि उहाँको पछि लाग्नेको कमी छैन।’

२०४८, २०५१, २०५६ र २०६४ को निर्वाचनमा दुवै जना पौडेल र जोशी निर्वाचन लडे पनि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने जोशीले टिकट पाउनु भएन। भ्रष्टाचारसम्बन्धी अदालतमा मुद्दा चलिरहेको भए पनि जोशी उम्मेदवार हुन पाउनुहुन्थ्यो। तर जोशीले प्रत्यक्षमा त टिकट दिइएन, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिससमेत पौडेलकै बलमा काटियो। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि टिकट नपाएपछि जोशी पौडेल उम्मेदवार बनेको तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बन्नुभयो। तर पौडेलको उजुरीमा निर्वाचन आयोगले जोशीलाई उम्मेदवार बन्न नपाउने निर्णय गर्‍यो। त्यसपछि आक्रोशित बनेका जोशीले एमालेलाई सहयोग गर्दा पौडेल संसदीय निर्वाचनमा पहिलो चोटी पराजित हुनुभयो। जोशी अनुशासनको कारबाहीमा पार्टीबाटै निष्कासन गरियो।

यही निर्वाचनबाट जोशी र एमालेबीच सम्बन्ध सुरुवात भएको मानिन्छ। यो सम्बन्धलाई आसन्न स्थानीय तह निर्वाचन हुँदै आगामी राजनीतिक यात्रामा थप बलियो बनाउँदै लग्ने एमाले र जोशीको तयारी छ। तनहुँमा कांग्रेस र एमालेबीच प्रमुख प्रतिस्पर्धा छ। क्षेत्र नं. १ मा राम्रो प्रभाव भएका जोशीको सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउनुहुन्छ। ‘उहाँ (जोशी) राम्रो जनाधार भएको नेता हुनुहुन्छ, भविष्यमा सँगै मिलेर अघि बढ्ने सम्भावनालाई नकार्न मिल्दैन,’ उहाँ भन्नुहुन्छ। जोशी निकट एक नेताले आगामी संसदीय निर्वाचनमा उहाँ एमालेको समर्थनमा तनहुँ–१ बाट निर्वाचन लड्ने तयारीमा रहेको बताएका छन्।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेलसहित प्रदीप पौडेल, शंकर भण्डारी, ध्रुव वाग्ले र गोविन्द भट्टराई केन्द्रीय सदस्य हुनुहुन्छ। जोशी अहिले चुनावी रणनीति निर्माणदेखि चुनाव प्रचार–प्रसार अभियानलाई तीव्र पार्दै गाउँघर डुल्न थाल्नु भएको छ। दमौली बजारस्थित निवास र नजिकै रहेको चुनाव प्रचार–प्रसारको सम्पर्क कार्यालयबाट आफ्नो शक्ति स्थापित गर्ने अभियानलाई अघि बढाइरहनु भएको छ। जोशी यही निर्वाचनबाट आफ्नो छोरा र पार्टीगत गुटको रूपमा रहेको शक्तिलाई स्वतन्त्र राजनीतिक शक्तिका रूपमा स्थापित गर्न चाहेको देखिन्छ।

यस्तै, पार्टीबाट निष्कासित भए पनि जोशीले पार्टीमा आफ्नो गुटलाई चलाइराखेको बुझिन्छ। पार्टीको १४औं महाधिवेशनमा जिल्ला सभापतिका लागि भएको निर्वाचनमा जोशी समूह निर्णायक हुँदा जितप्रकाश आलेले जित्नु भएको थियो। करिब १ हजार ८ सय क्षेत्रीय प्रतिनिधिमध्ये झन्डै १५० जना जोशी समूहमा खुलेका थिए। ‘आखिर जोशी समर्थकको यही मत निर्णायक भयो,’ पूर्वसभापति पौडेलले भन्नुहुन्छ।

पछिल्लो समय वरिष्ठ नेता पौडेल केन्द्रमा सभापति शेरबहादुर देउवासँग निकट भए पनि उहाँको समूहका नेताहरू जिल्लामा विभाजित छैनन्। उनीहरूले जिल्लाको सन्दर्भमा पौडेललाई नेता मान्दै आएका छन्। ‘पार्टीमा नरहे पनि केही नेता–कार्यकर्ताले जोशीलाई समूहको नेता मानिरहेका छन्, माथि जे भए पनि यहाँ त जोशी र पौडेलकै समूह छन्,’ कांग्रेसका पूर्वजिल्ला सचिव विश्व बाँस्तोलाले भन्नुहुन्छ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो। पाँच स्थानीय तहमा प्रमुख/उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एकएक स्थानीय तहमा प्रमुख/उपप्रमुखमा जित हासिल गरेको थियो। व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख/उपप्रमुख दुवै पदमा जितेको थियो। शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। ८५ मध्ये ५० वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्ला भारी भएको थियो।

एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख/उपप्रमुख दुवै जित्यो। देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो। ३० वडामा वडाध्यक्ष एमालेले जितेकामा तीन वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन्। माओवादी केन्द्रले बन्दिपुर गाउँपालिकाको प्रमुख/ उपप्रमुखसहित जिल्लाका पाँच वडाध्यक्ष जितेको थियो। आसन्न स्थानीय निर्वाचनमा सत्ता साझेदार पाँच दलले गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिने निर्णय गरेपनि त्यो तनहुँमा पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ। गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहेको कांग्रेसले त्यो पनि त्यति सहज बनेको छैन।

तनहुँमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा होमिन पटकपटक बैठक तथा छलफल गरेपनि त्यो पूर्णरुपमा सफल हुन  सकेन। अहिले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, भानु नगरपालिकामा मात्र आंशिक पदमा गठबन्धन भएको छ भने अन्य पालिकामा आ–आफ्नै हिसावले चुनावी मैदानमा उत्रिएका छन्।

अघिल्लो निर्वाचनको मतपरिणामलाई जोड्दा तनहुँका १० स्थानीय तहमा घिरिङबाहेक अरु सबै स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुले पाएको मत बढी हुन्छ। तर, अघिल्लो निर्वाचनको तुलनामा तनहुँमा ४९ हजार ८६९ मतदाता थपिएका छन्। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन्। २०७४ सालमा एक लाख ९४ हजार ४७१ मतदाता थिए।

  • नारायण तनहुँ दमौलीबाट प्रकाशित हुने भन्ज्याङ दैनिकका सम्पादक हुनुहुन्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
तनहुँमा स्थानीय निर्वाचन: शक्ति परीक्षणमा रामचन्द्र र गोविन्दराज
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link